किन तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज ?

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी एकीकरण भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट गरिएको सत्तारुढ नेकपाको २४ जिल्ला कमिटी सहइन्चार्जविहीन बनेको छ । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु नतोकिएको हो ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं, दाङ, धनुषा र सिराहमा ९/९ जना सहञ्चार्च तोक्दा ती जिल्लाहरु खाली राखिएको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बन्धित जिल्लामा केन्द्रीय सदस्य नभएका र अर्को जिल्लाबाट लैजान अप्ठ्यारो परेकोले खाली राखिएको बताए। उनले ती जिल्लाहरुमा सहइन्चार्ज तोकिने वा खाली नै रहनेबारे पछि निर्णय हुने कान्तिपुरलाई बताए।
सहइन्चार्ज नतोकिएका जिल्लाहरुमा ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम छन्। त्यसै गुल्मी, प्युठान, कालीकोट, हुम्ला, डोल्पा र दार्चुलाले पनि सहइन्चार्ज पाएका छैनन्।

यसैगरी काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकामा इन्चार्जमात्रै तोकिएका छन्।

प्रकाशित : श्रावण ५, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

पक्राउ परेकी पत्रकार सहित चारै जना छुटे

कान्तिपुर संवाददाता

खोटाङ — लोकसेवा आयोगको परीक्षामा प्रश्नपत्र च्यातिएको प्रकरणमा पक्राउ परेकी स्थानीय पत्रकार सविना परियार लगायत चारै जना आइतबार छुटेका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको स्थानीय तह पाचौँ तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रविन खम्बु, एलबी मगर लगायत चारै जना छुटेका हुन् । 

शनिबार बिहान पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रविन खम्बु र सहसचिव एलबी मगर, दलित विकास मञ्च खोटाङका अध्यक्ष मिलन चाहार र स्थानीय रुपाकोट साप्ताहिककी सविना परियार छुटेका हुन् ।

पक्राउ पर्नेमध्ये रविन खम्बु र एलबी मगरले आफूहरुमाथि यातना दिइएको राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गुनासो गरेका थिए । उनीहरुले आफूहरुलाई पक्राउपछि प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायको निर्देशनमा यातना दिइएको बताएका छन् ।

आफूहरुमाथि यातना भएको गुनासोपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङको टोली आइतबार बिहान प्रहरी हिरासतमा रहेकाहरुलाई भेट्न गएको थियो । पक्राउ परेका चारै जनालाई आइन्दा गल्ती नगर्ने गरी कागज गराएर छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्