कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक पक्राउ

सुवास विडारी

मकवानपुर — प्रहरी र गाँजा तस्करबीच शनिबार मध्यरातमा मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया राप्तीखोलामा गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहका अनुसार राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै गाँजा ओसारपसार गर्ने गिरोह र प्रहरीबीच गोली हानाहान भएको हो ।

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक पक्राउ

विशेष सूचनाको आधारमा उक्त स्थान पुगेको प्रहरीमाथि गोली प्रहार भएसँगै प्रहरीले जवाफी फायर गरेको थियो । घटनामा संलग्न मुख्य नाइके राक्सिराङ–१, ढुंगेनका ४३ वर्षीय कुमार स्याङ्तान भन्ने राजु स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्तानलाई खोँचमा घेरा हालेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एक थान, फायर भएको खोका एक थान, लाइभ राउण्ड एक थान, लागूऔषध गाँजा दुई पोकामा गरी ३१ केजी चारसय ग्राम समेत नियन्त्रणमा लिएको छ ।


‘गाँजा आोसारपसारमा संलग्न अन्य फायरिङ भएसँगै भाग्न सफल भएँ । तर, हामीले मकवानपुरको पश्चिमी क्षेत्रमा लागूऔषध कारोबार, आपराधिक क्रियाकलापहरुमा संलग्नलाई पत्राउ गर्न सफल भयौँ ।’, प्रहरी उपरीक्षक सिंहले भने । उनका अनुसार पक्राउ परेको स्याङ्तान पूर्वपश्चिम राजमार्गमा विभिन्न समयमा सवारी र यात्रु लुट्ने कार्यमा समेत संलग्न रहेका थिए ।


प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले २०७१ साल पुस १६ गते स्याङ्तानलाई एकसय केजी गाँजासहित कीर्तिपुर नगरपालिका–१६ बाट पक्राउ गरी कारबाही समेत गरेको पाइएको छ । प्रहरी उपरीक्षक सिंहले भने, ‘हामीले उनलाई धेरै समयदेखि खोजी गरिरहेका थियौँ । उनीमाथि हामीले तीनवटा मुद्दा दर्ता गराएका छौँ । अन्य विषयमा समेत अनुसन्धान अगाडि बढिरहेको छ ।’


स्याङ्तानलाई हातहतियार खरखजाना, ज्यान सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐनअन्तर्गत पटके कायम गरी थप सजायको माग गरी मुद्दा दर्ता गराइएको छ । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी, राक्सिारङ र कैलाश गाउँपालिका लागूऔषध उत्पादन र कारोबार हुने मुख्य थलो हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७५/०७६ मा लागूऔषधसहित जिल्लाभरबाट २ सय ५ जनालाई पक्राउ गरेको छ । जसमध्ये ३० जना भारतीय छन् । प्रहरीले एकवर्षको अवधिमा ३ हजार १ सय ८८ केजी गाँजा समेत नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : श्रावण ५, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?