कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसुंगा मेलामा दर्शनार्थीको भीड 

वीरेन्द्र केसी

गुल्मी — धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगामा शुरु भएको मेलामा भीड लागेको छ । रेसुंगा क्षेत्रमा साउन महिनाभर मेला लाग्छ । चार धामबाट संकलित पानी रेसुंगाको पोखरीमा मिसाइएकाले साउने औंशीमा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गरेमा पुण्‍यप्राप्त हुने जनविश्वास भएकाले भक्तजनको भीड लागेको हो ।

रेसुंगा मेलामा दर्शनार्थीको भीड 

मेलामा आउने भक्तजनलाई सहजताको लागि जिल्ला प्रशासन कार्यालयले यातायातमा २० प्रतिशत भाडा छुट गराएको छ । असाहय अशक्त र सन्तमहन्तलाई रेसुंगामा निःशुल्क जान पाउनेछन् । श्रद्धालु भक्तजनको सुविधाको लागि गुल्मी यातायात र पश्चिमाञ्चल बस व्यवसायी संघबाट दुईवटा गाडी आउजाउ गरिरहेका छन् । जिपमा ८० र बसमा ६० रुपैयाँमा रेसुंगासम्म जान सकिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।


स्नान गर्ने र यज्ञशालामा दर्शन गर्नेको संख्या विगतका वर्षमा भन्दा यसपालि धेरै नै भएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । रेसुंगामा बस्न चाहनेका लागि निःशुल्क रुपमा बस्ने र खाने व्यवस्था गरिएको उनले बताए । स्नान गर्ने र मन्दिरमा दर्शनका गर्न आउनेमा धेरै महिला छन् । मनले चिताएको मनाकांक्षा पुरा हुने भएकाले रेसुंगामा गुल्मी सहित अर्घाखाँची, पाल्पा, प्युठान, बाग्लुङ, स्याङजा बुटवल लगायतका जिल्लाबाट भत्तजन आउने गरेको उनले बताए ।


विगतमा साउन १ गतेबाट मेला शुरु भएपनि यसवर्ष चन्द्र ग्रहणको प्रभावले २ गते शुक्रबारबाट सुरु भएको छ । एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पुजा गरिन्छ । धार्मिक स्थल रेसुंगामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिव ३० मिनेटको गाडी यात्रापछि पुग्न सकिन्छ ।


रेसुंगाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महार्षिहरुले तपस्या गरेको हुनाले यस ठाउाको नाम रेसुंगा रहन गएको हो ।


समुद्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुंगा धार्मिक, ऐतिहासिक पर्यटकीय तपोभूमीसहित जैविक विविधताले भरिपूर्ण रेसुंगा क्षेत्रबाट धौलागिरी, मनास्लु हिमश्रृंखला देख्न सकिन्छ । पूर्वाधार विकाससँगै प्रचारप्रसारले तुलनात्मक रुपमा विगतका वर्षमा भन्दा यस वर्ष धेरै भत्तजन भएको समितिले जनाएको छ । रेसुंगा क्षेत्रमा आधुनिक पोखरी, यज्ञशाला, अतिथि गृह, पुरातात्त्विक महत्वका जीर्णेद्वारा र व्यवस्थित पदयात्रा छ ।


गुल्मीको रेसुंगामा लागेको साउने मेलामा आएका भक्तजनको भीड । तस्बिर ः वीरेन्द्र केसी/कान्तिपुर



प्रकाशित : श्रावण ५, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?