भ्रमण वर्षको चटारो

सिवी अधिकारी

काठमाडौँ — ‘‘समय छोटो छ । गर्नु धेरै छन् । साथीहरु रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकि समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला’’ नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक छ ।

‘‘भ्रमण वर्ष सफल हुन्छ कि हुँदैन भनेर हैन कि भनेर नसोचौं बरु जसरी पनि सफल हुन्छ भनेर सबै मन बजन कर्मले लागौँ । कसरी सुधार्ने हामी सबै लागौँ यसैमा देशलाई फाइदा हुन्छ । भ्रमण वर्ष सामूहिक कार्य हो यो कुनै व्यक्ति वा सरकारको मात्र काम हैन । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गरौं’’, संयोजक वैद्यको आग्रह थियो ।
हुन पनि समय छोटो छ । अबको पाँच महीनामा भ्रमण वर्ष सुरु हुँदैछ । यद्यपि, भ्रमण वर्षको पूर्व सुरुआत गत २०७५ चैत २९ गते पोखराबाट गरिएको थियो । भ्रमण वर्षको औपचारिक सुरुआत आगामी डिसेम्बर महिनाको अन्तिममा गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संयोजक वैद्यको पनि गुनासो छ– समय र बजेट कम तर, पनि अभियानलाई सफलता बनाउनुनै पर्ने बाध्यता छ । “बजेट छ १० करोड । गर्नुछ एक अर्बको काम । हामीजस्ता व्यक्ति स्वयंसेवी रुपमा आइराछौँ यो खुसीको कुरा हो तर मेरो गुनासो छ सुरज वैद्यले फोन उठाउँदैन, तर म भन्छु आफ्नो व्यापार सारा छोडेर लागेको छु अभियानलाई सार्थक बनाउन, मिडियाकर्मीको सहयोगले नै यो अभियानलाई सफलतातिर पुर्‍याउँछ”, उनले भने ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुरुप आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममै भ्रमण वर्षलाई प्राथमिकता दिइयो । सरकारले नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त गर्‍यो । भ्रमण वर्ष सचिवालय स्थापना गरी प्रवर्द्धनात्मक गतिविधि सुरु भइसकेको छ । पछिल्लो समय अभियानका कार्यक्रम संयोजकको विषयमा सञ्चारमाध्यममा अनेक प्रचार भइरहेको छ । यसै सन्दर्भमा कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको आगामी गतिविधिबारे सुनाए ।
उनले भने, “म पर्यटन व्यवसायी हैन, तर पर्यटनको भावना बुझ्छु । मलाई हतोत्सायी बनाउनै हैन प्रोत्साहन चाहिएको छ । भ्रमण वर्ष सफल हुन्छ, अहिले अत्तिहाल्नुपर्ने अवस्था छैन ।” मलेसियाले पनि सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ । उसले सन् २०१७ बाटै तयारी थालेको थियो । समय घट्केपछि नेपालीले धेरै काम गरेको उदाहरण रहेकाले अभियान सफल हुने वैद्यको विश्वास छ । संयोजक वैद्यका अनुसार भ्रमण वर्षको शुरुआत यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा नेपाल, भारत र चीनका महिलालाई सगरमाथा आरोहणमा पठाएर सफलता पनि पाइयो । जसले एउटा दरिलो सन्देश दिएको छ । अहिले संसारकै बढी पर्यटनमा प्रगति गरेका यिनै दुई मुलुक हुन् तिनैलाई केन्द्रित गरेर प्रवद्र्धनात्मक गतिविधि बढाइएको छ ।

पाँच प्राथमिकता
भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चरल’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकता दिएका संयोजक वैद्यले बताए । काठमाडौँ, पोखरा, चितवन र अन्नपूर्ण संरक्षण क्षेत्रमै केन्द्रित पर्यटनलाई विस्तार गरी नयाँ गन्तव्यको प्रवद्र्धनलाई पनि जोड दिइएको छ । पर्यटनमा विदेशी लगानी भित्र्याउन पर्यटन लगानी सम्मेलन आयोजना गर्ने योजना छ । त्यस्तै, पर्यटकीय पूर्वाधार र सेवा गुणस्तर अभिवृद्धिजस्ता कामलाई पनि अघि बढाइएको छ । भ्रमण वर्षको हरेक मुलुकमा सद्भावना दूत बनाउने काम शुरु भइसकेको संयोजक वैद्यले बताए ।
भ्रमण वर्षको सन्दर्भमा ‘नेपाल टुरिज्म एक्सिलेन्स अवार्ड’ आयोजना गरिनेछ । आगामी नोभेम्बर महीनामा भारतको नयाँदिल्लीमा नेपाल महोत्सव र चीनको साङ्घाईमा पनि नेपाल प्रदर्शनी आयोजना गर्ने योजना छ । रात्रिकालीन काठमाडौँ, जनकपुरमा ‘वल्र्ड अफ ओमन’ र कर्णालीमा संसारकै लामो र्‍याफ्टिङ गरिनुका साथै हिमालदेखि तराईसम्मका विविध जाति तथा समुदायको संस्कृति झल्कने कार्यक्रम आयोजना गरिने संयोजक वैद्यको भनाइ छ । त्यस्तै, ‘माउण्टेन बाइकिङ’, ‘होमस्टे’, ‘टेम्पल्स डे’ जस्ता कार्यक्रम गरिनेछ ।

भ्रमण वर्ष २०११ को अनुभव
अघिल्ला भ्रमण वर्ष मनाएकै कारण पर्यटनले सफलता हात पा¥यो । सन् २०१८ मा झण्डै १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो । नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यको अनुभवमा देशको खासखास परिस्थितिमा यस्ता भ्रमण वर्ष मनाइने गरिएको छ । उनका अनुसार पहिलो भ्रमण वर्ष मनाउनुको तात्पर्य सरकारलगायत सबै निकायले पर्यटनलाई गाली गर्न थाले, सामाजिक सद्भाव बिगार्ने भन्ने नकारात्मक धारणा बन्यो । व्यवसायीको आग्रहमा पहिलो भ्रमण वर्ष मनाइयो जुन सफलता पायो । अर्कोतर्फ नेपालको ‘ब्राण्डिङ’ गर्न मद्दत पुग्यो । सन् १९९८ मा टाइम्स म्यागेजिनले नेपालबारे एउटा लेख ‘गुटबाई साङ्ग्रिला’ भनेर प्रकाशित गर्‍यो । यसले विश्वभर नेपाल प्रचार भयो ।

सन् २०११ को नेपाल भ्रमण वर्ष मनाइरहँदा जतिखेर मुलुकभित्र अनेक त्रास, द्वन्द्व र सङ्कटको अस्था थियो । सोही अवस्थामा पनि पर्यटन वर्षका लागि एउटा नारा बनाइयो ‘पर्यटनका लागि सँगसँगै’ सडकमा सङ्घर्षरत राजनीतिक दललाई एकै थलोमा उभ्याएर पर्यटन प्रवद्र्धनका लागि प्रतिबद्धता जनाए । व्यवसायी शाक्यले त्यतिबेलाको भ्रमण वर्ष अभियानले पर्यटनको दृष्टिकोणमा परिवर्तन ल्याएको बताउँछन् ।
भ्रमण वर्ष २०२० का संयोजक वैद्यको सन्दर्भमा व्यवसायी शाक्यले भ्रमण वर्षका लागि उपयुक्त व्यक्ति भएको उल्लेख गरे । उनले भने, “भ्रमण वर्षका लागि सुरजजी नै उपयुक्त व्यक्ति हो, अब सबै मिलेर भ्रमण वर्षलाई सफल बनाउन लागौँ ।”

प्रकाशित : श्रावण ४, २०७६ १६:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अलमलमा राजपा

सिवी अधिकारी

काठमाडौँ — ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेसकेन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपाटी विगतकै रोग हो ।

मधेसका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेसकेन्द्रित दल कमजोर बन्न पुगेको हो कि भन्ने अनुमान लगाउन थालिएको छ।

मुलुकको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव पार्ने मधेसकेन्द्रित दल आफ्नै मुद्दामा एकताबद्ध हुन नसक्दा अलमल र पार्टीभित्रै दरार उत्पन्न भएको देखिन्छ। यद्यपि, नेताकै भनाइमा पार्टीमा बाहिर आएजस्तो सत्यता छैन। तर, पछिल्ला दिनमा दलगत र पार्टीभित्रकै नेताबीचको खटपट र अलमलले उनीहरुबीचको विवादलाई सतहमा ल्याएको छ। सञ्चारमाध्यममा पार्टीगत र सरकारसँगको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी (राजपा) र सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपालबीच अहिले खटपट चलिरहेको छ। यता सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र सरकारसँगको सम्बन्धलाई व्यवहारमा परिणत गर्न समाजवादी फोरममा पनि खटपट भइरहेको बताइन्छ। यता, सरकारलाई समर्थन गरेको राजपाले न त आफ्ना मुद्दालाई अघि बढाउन सक्यो न त सत्तायात्रामै सामेल हुनपुग्यो। यसरी राजपाभित्र अलमल र बेइमेल बढेको देखिन्छ। पार्टीभित्रकै विवादलाई किनारा लगाउन नसक्दा राजपा कमजोर बनेको छ। यसको असर सरकारसँगको सम्बन्ध र पार्टीले अख्तियार गरेको मुद्दामा समेत कमजोर हुने देखिन्छ। राजपाभित्र किन अलमल र खटपट भन्ने रासससँगको जिज्ञासामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा कुनै अलमल र बेइमेलमा नभइ बरु पर्ख र हेरको रणनीतिमा रहेको बताए।
“हामी पर्ख र हेरको अवस्थामा छौँ, सरकारलाई निरन्तर रुपमा घचघच्याईरहेका छौँ, मुद्दा सम्बोधन गर्नुस् नत्र विरोधको बाटोमा जानुपर्ने बाध्यता हुन्छ। तर, पर्खाइको पनि सीमा हुन्छ। धैर्यताको बाँध कुनै पनि बेला टुट्नसक्छ, त्यो अवस्था आउन नदिन सरकार बेलैमा सजक हुनुपर्छ,”–उनले भने।

तपाईहरु सरकारमा जान आतुर हुनुहुन्छ नि भन्ने जिज्ञासामा राजपाका नेता महतोले सरकारमा जान आफ्नो पार्टीलाई पटक–पटक सरकारी पक्षबाट आग्रह गरिएकै हो भने। उनले आशा र विश्वासका साथ दुई तिहाइको शक्तिशाली सरकारलाई समर्थन गरेकाले अझै पनि मुद्दा सम्बोधन हुने आशामै रहेको उल्लेख गरे। उनले भने, “हाम्रा सवाललाई सरकारले ध्यान दिनुपर्छ, निर्वाचित सांसद रेशम चौधरीले न्याय पाउनुपर्छ, आन्दोलनका क्रममा परेका बन्दीको रिहाइ र मुद्दा फिर्ता तथा संविधान संशोधनको विषय र आम जनताले उठाएको सवालमा सरकार गम्भीर हुनुपर्छ।”

नेता महतोले आम जनता र पार्टीले उठाएका सवाललाई सरकारले बेलैमा सम्बोधन नगरे समर्थन फिर्ता लिएर सङ्घर्षमा जानुपर्ने बाध्यात्मक अवस्था आउनसक्ने खतरा औंल्याए।

सरकारलाई समर्थन जारी रहन्छ

राजपाले आफ्ना मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा जाने या नजाने विषयको टुङ्गो लाग्ने बताएको छ। नेता महतोले पार्टी आफ्नो मुद्दाको अडानमै रहेको भन्दै माग सम्बोधन भएपछि सरकारमा सभागिताको कुरा आउने बताए। उनले सरकारमा सहभागी नभए पनि आफ्ना माग सम्बोधन भएमा सरकारलाई समर्थन भने जारी रहने प्रष्ट पारे। “सरकारमा जाने अहिले त्यस्तो सोच, चिन्तन बनिसकेको छैन, मुद्दामा सरकारले तदारुपता देखाए सत्तायात्रा गौण विषय हो”, नेता महतोले भने।

राजपाका संयोजक महेन्द्र राय यादवले आफ्नो मुद्दा सम्वोद्धनका लागि सरकारसँग आग्रह गरिरहेको र छिट्टै नै प्रधानमन्त्रीसँग पार्टीका अध्यक्ष मण्डलसँग भेट गरेर आफ्नो कुरा राखिने बताए।

पार्टीको महाधिवेशनको सङ्घारमा रहेको राजपाले पार्टीका गतिविधिका साथै सरकारसँगको विषयलाई पनिसँगै अघि बढाउने नीति लिएको छ। वैशाखको पहिलो साता पार्टीको महाधिवेशनको तयारीमा जुटेको राजपा अहिले पार्टीकै काममा बढी व्यस्त देखिन्छ। सरकारसँग उठाएको मुद्दा र पार्टीको महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने नीति राजपाको रहेको संयोजक यादवले बताउनुभयो।

नेतृत्व महाधिवेशनले तय गर्छ

पार्टी नेतृत्वबारे विभिन्न अडकलबाजी भइरहे पनि महाधिवेशनले नै राजपा नेतृत्वको टुङ्गो लगाउने नेता महतोको भनाइ छ। “पार्टीभित्र त्यस्तो केही विवाद छैन, बाहिर त्यतिकै हल्ला आइरहेको छ। यो चक्रिय प्रणाली आउँदाखेरी विवाद देखाइदियो। जुन प्रणाली वैधानिकताको सूत्र नै अध्यक्षमण्डल थियो। त्यसलाई हामीले केही दिन टारेका थियौँ, कसैले अनावश्यक कुराले उचालेका कारण विवाद जस्तो देखियो। आफ्ना मुद्दामा संवेदनशील छौँ,”नेता महतोले भने।

अधिकार प्राप्तिका लागि मधेशी, थारु, दलित, आदिवासी जनजातीले भिन्न भिन्न रुपमा आन्दोलन गरेपनि ती आन्दोलन र उठेका सवालले पूर्णता पाउन नसकेको उनको निष्कर्ष थियो। उनले मुलुकलाई निकास दिन बहुल राष्ट्रिय राजनीतिलाई आत्मसाथ गरी राज्यले समान अवसर र सहभागिताको व्यवहार गर्नुपर्ने धारणा राखे। उल्लेखित मुद्दामा एकताबद्ध सङ्घर्ष भएमा मात्र राज्यलाई एकमुस्ट समाधान खोज्न सजिलो हुने उल्लेख गर्दै नेता महतोले यदि त्यसो नभए विगतको जस्तो एकअर्काको विरुद्धमा प्रयोग गर्ने र लडाउने अवस्था सिर्जना हुने चेतावनी दिए।

मधेशी मुद्दामा फोरमसहित मधेशी शक्तिको कठोर सङ्घर्षकाबीच अघि बढेको अवस्थामा सबै कुरा छोडेर सत्तामा गएको राजपाको आरोप छ। “हिजो मुद्दामा सँगसँगै लडेका थियौँ। अहिले दुई तिहाइको शक्तिशाली सरकारसँग बाहिरबाटै माग सम्बोधन गर्न सकिने थियो। तर, सबै कुरा छोडेर तीन बुँदे सहमति गरी फोरम सरकारमा सहभागी भयो, यसले जनतालाई निराश बनाएको छ,”उनको भनाइ छ।

विषयवस्तु जे जति आए पनि मुद्दामा मधेसकेन्द्रित दलबीच विभाजन नरहेको पनि नेता महतोको स्पष्टोक्ति थियो। फोरमका नेतासँग निरन्तर छलफल भइरहेको र अन्य राजनीतिक शक्तिसँग पनि छलफल चलिरहेको उनले बताए।

प्रकाशित : माघ २६, २०७५ १६:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT