सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकको गुइठेमा पहिरोले यातायात अवरुद्ध छ । सदरमुकामदेखि २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–१ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएको हो ।

बेनी–घाँसासम्मको ३८ किलोमिटर सडक खण्डकको चमेरे, वैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुइठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा बारम्वार पहिरोले सास्ती दिने गरेको छ।

‘राति गुइठे भीरमा सुख्खा पहिरो झरेकोले सडक बन्द छ, यातायात अवरुद्ध भएको छ’ सडक विभागका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले भने, ‘डोजर ल्याएर पहिरो पन्छ्याउने तयारी भएको छ। थप पहिरो झरेन भने शनिबार दिउँसोसम्म सडक खुलाउने तयारीमा छौं।’

बेनी–जोमसोम सडकमा पहिरोले यातायात अवरुद्ध मात्र पारेको छैन, सवारी सञ्चालनमा रहेको क्षेत्रमा समेत माथिबाट बारम्बार ढुङ्गा झर्न नरोकिएकोले जोखिमपूर्ण पनि बनेका छन्। सडकको बेगखोला, तिप्ल्याङ्ग, महभीर, भीरकाटे, तातोपानी, दाना, घाँसा क्षेत्रका भीरबाट ढुङ्गा झर्ने हुँदा पैदल हिड्न समेत समस्या छ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चेपुवामा साना

हरिहरसिंह राठौर

धादिङ — काठमाडौंबाट छुट्ने र भित्रिने सवारी साधनका कारण पृथ्वी राजमार्ग बिहानैदेखि व्यस्त हुन्छ । त्यही बेला राजमार्गमा विद्यालय र कार्यालय जानेको लर्को लाग्छ । विद्यार्थीको हुल सडकछेउबाटै हिँड्छ, सवारीसाधन भएकाहरू ठूला गाडीबाट छलिँदै गुड्छन् ।

राजमार्ग आसपासका बजारक्षेत्रमा मोटरसाइकलमा अटेसम्म खाँदेर विद्यार्थी ओसारेका दृश्य सामान्य बनिसकेको छ । ४–५
जना बालबालिका मोटरसाइकलको अगाडि–पछाडि राखेर हुइँकिँदा पनि ट्राफिक प्रहरीले देखेनदेख्यै गर्ने गरेको छ ।

लामो दूरीका चालकको अनिद्रा, चालकको लापरबाही, मोडमा उछिन्ने प्रतिस्पर्धा, तीव्र गति, मादक पदार्थ सेवन, पैदल यात्रु, जथाभावी छाडिएका चौपाया र जथाभावी गुड्ने साना सवारीसाधनका कारण दुर्घटना हुने गरेको गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हेमराज घिमिरे बताउँछन् ।

धादिङ खण्डमा मात्रै एक वर्षमा १ सय ३८ दुर्घटना भएका छन् । जसमा ९३ जनाले ज्यान गुमाए । गत साउनदेखि असार मसान्तसम्म भएका दुर्घटनामध्ये ८९ वटामा साना सवारी परेका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि हेलमेट नलगाई बस्ने महिला र बालबालिकाकै संख्या अधिक छ ।

पछिल्ला ४ वर्ष यो राजमार्गमा दुर्घटनामा मृत्यु हुने ४ सय ८१ जनामध्ये ३ सय ५४ जना मोटरसाइकलसहित साना सवारीसाधनका यात्रु छन् । ‘मृत्यु हुनेमा मोटरसाइकल र माइक्रो बसका यात्रु धेरै छन्,’ घिमिरेले भने, ‘तीमध्ये पनि पछाडि बसेका महिला र इन्धन भर्ने ट्यांकीमा राखिएका बालबालिकाको संख्या बढी छ ।’ विद्यालय समयमा नजिकै त हो भन्दै अभिभावकले मोटरसाइकलमा ५ जनासम्म बोकेको देखेपछि ओह्रालेर सम्झाउने गरेको उनले बताए ।

‘प्रहरीचौकी अलि टाढा भएका बजारमा यस्तो समस्या देखिएको छ’, उनले भने, ‘गस्तीमा गएको बेला मोटरसाइकलमा बालबालिका राखेर जोखिमयुक्त तबरले यात्रा गर्नेको कागजात नियन्त्रणमा लिने गरेका छौं । मौखिक सचेत पनि गराउँछौं ।’ बिहान ९ देखि १० बजे र साँझ ४ बजेतिर राजमार्गकाविद्यालय आसपास यस प्रकारका जोखिमपूर्ण दृश्य देखिने उनले बताए । ‘हामी देखेपछि रोकेर एक पटक सम्झाउँछौं, फेरि उनै व्यक्ति देखिए नियमानुसार जरिवाना पनि गर्छौं ।’

पृथ्वी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनमा सहजता ल्याउन गजुरीमा जिल्ला ट्राफिक कार्यालय स्थापना गरिएको छ । यो कार्यालयअन्तर्गत ३३ जनाको दरबन्दी छ । चितवनको सिमाना मौवा खोलादेखि काठमाडौंको सिमाना पिपलामोडसम्मको राजमार्ग क्षेत्र र जिल्ला सदरमुकामलगायत सडकको यातायात व्यवस्थापन यिनै ३३ जनाले गर्दै आएका छन् । ‘दरबन्दी थोरै भएकाले व्यवस्थापन गर्न मुस्किल पर्छ,’ घिमिरेले भने ।

दैनिक १२ हजारभन्दा बढी सवारीसाधन गुड्ने राजमार्गसँगै विद्यालय रहेकाले सुरक्षा चुनौती थपिएको उनले बताए । जोगीमारा, बेनीघाट, शीतलबजार, गजुरी, मलेखु, घाटबेसी, खानीखोला, सिम्ले, आदमघाट, धार्के, महादेवबेसी, गल्छीलगायत मुख्य बजार क्षेत्रमा जेब्रा क्रसिङ भए पनि ८६ किमि राजमार्ग क्षेत्रमा टाँसिएका बस्ती र विद्यालयका कारण सुरक्षा चुनौती बढेको उनको बुझाइ छ ।

राजमार्गमा गुड्ने अधिकांश गाडी थोत्रा छन् । लामो दूरीमा दुई जना चालक राख्नुपर्नेमा एउटै चालकले चलाउने, दिगो मर्मत गर्नॅपर्ने सडक एक महिनाका लागि हुने गरी टालटुल गर्ने र अर्को पटक पुनः मर्मतको नाममा खर्च गरिरहने प्रवृत्तिले दुर्घटना बढेको स्थानीयवासी बताउँछन् ।

२०२४ सालमा देशभरि २ हजार सवारी भएका बेला बनाइएको सडकमा हजारौं सवारीसाधन थपिँदा पनि गुणस्तर उस्तै छ । १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढीका मालवाहक गाडी गुडाइएको र दुर्घटनाबाट जोगाउन सडक किनारामा राख्नुपर्ने सुरक्षा उपाय नगर्दा दुर्घटना बढेको सडक दुर्घटनामा घाइते भएकाहरूबारे अध्ययन गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्रका निर्देशक डा. सुनीलकुमार जोशी बताउँछन् ।

पोखरा–नौबिसे सडक २०३४ सालमा चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । ‘उतिबेला राजमार्गमा गुड्ने सीमित सवारीसाधनको अवस्था र अहिलेको अवस्था दाँज्न मिल्दैन,’ गजुरी निवासी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त अधिकारीले भने, ‘उतिबेला एक मिनेटमा मुस्किलले ३० वटा गाडी गुड्थे, अहिले प्रतिसेकेन्ड ३ वटा गुड्छन् तर सडकको अवस्था जस्ताको तस्तै छ ।’

गजुरीस्थित सडक डिभिजनको फिल्ड कार्यालयका इन्जिनियर हरि ठकुरी भने सवारीको चापलाई ध्यानमा राखेर पछिल्लो समय सडकको चौडाइ र घुम्ती फराकिलो पारिएको तथा पिचको गुणस्तर बढाइएको बताउँछन् । ‘सडकको गुणस्तर बढाउँदै आएका छौं,’ उनले भने । उनका अनुसार साधारण ट्रकमा १८ टन र ठूला ट्रकमा २१ टनसम्म मात्रै ढुवानी गर्न पाउने सडकको क्षमता हो ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×