२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘सरकारले वार्ता चाहेन’

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वार्ता गर्न सरकारले चासो नदिएको आरोप लगाएको छ । सरकार वार्ताको वातावरण बनाउनभन्दा आफ्ना कार्यकर्ता पक्राउ अभियानमा लागेको र नेता–कार्यकर्तालाई प्रलोभनमा पार्न थालेको उसको भनाइ छ । 

‘सरकारले वार्ता चाहेन’

डेढ साताअघि चन्द समूहको स्थायी कमिटी बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो । नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सर्वसाधारणको सुझावका आधारमा वार्ता गर्ने निर्णय लिएको सार्वजनिक गरेको थियो ।


चन्द समूहका अनुसार वार्ताको निर्णयलगत्तै गत सोमबार चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गर्‍यो । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र पार्टी कार्यकर्ता सन्तोष विकलाई पक्राउ गरिएको हो । मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगले बुधबार वार्ताको औचित्य नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् । सरकार वार्ताको वातावरण बन्द गरेर उल्टै दमनको नीतिमा उत्रेको चन्द समूहको आरोप छ ।


‘इमानदारीसाथ वार्तामा आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णय गरेका हौं,’ समूहका एक स्थायी कमिटी सदस्यले कान्तिपुरसँग भने, ‘उल्टै सत्तापक्षका नेताहरू व्यक्तिगत रूपमा हाम्रा नेतासँग डिल गर्न थाले, प्रलोभनका पुलिन्दा देखाउन थाले, सरकारको नियतमाथि शंका पैदा भयो, सरकार पक्षप्रति गम्भीर आशंका उब्जिएको छ ।’


एक वर्षअघि आफूहरू वार्ताबाट भागेको आरोप लगाएपछि यस पटक संवाद गर्ने निष्कर्षमा पुगेको उनले बताए । ‘सरकारको नियत के रहेछ भन्ने छर्लङ्ग भयो, यसअघि पत्र पठाए पनि चन्द समूह भाग्यो भन्ने हल्ला फिँजाएको थियो,’ ती सदस्यले भने, ‘यस पटक खोइ त पत्र पठाएको, औपचारिक रूपमा नआउने, गोप्य रूपमा हाम्रा साथीहरूलाई भेट्नचाहिँ तँछाडमछाड गर्ने, कस्तो रणनीति हो ?’


सरकार वार्ताको मनस्थितिमा भए तनहुँबाट पुनः कार्यकर्ता पक्राउ गर्नुनपर्ने उनको तर्क छ । ‘सरकार सुराकी गरेर उल्टै हाम्रा सेल्टर पत्ता लगाउन थालेपछि वार्ता गर्नुको औचित्य नभएको भन्दै विज्ञप्ति निकालेका हौं,’ ती सदस्यले भने, ‘अब अलि कडा कार्यक्रम सार्वजनिक गर्छौं ।’ तर उनले कार्यक्रमबारे खोल्न चाहेनन् ।


सरकारले आन्दोलन ठेगान लगाउन नसकेपछि वार्ताको भ्रम फैलाएर थप दमनको तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘जनप्रतिनिधि नै ठेक्कापट्टामा सामेल हुने, आफ्नै टिपर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधि नै सुराकीको भूमिका खेलिरहेका छन्, जनविरोधी कार्य गरे/गराएमा जनताले नियन्त्रणमा लिई कारबाही चलाउने कुरा गरिनेछ ।’ सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकार पक्ष र चन्द समूहले वार्ता बस्नुबाहेक अर्को विकल्प नभएको बताए ।


‘बन्दुक बोकेर निकास निस्कँदैन, चन्दजीहरूले पनि वार्तामा आउनुपर्छ, त्यसको विकल्प छैन,’ उनले भने, ‘वार्ताबाट भाग्नु हुँदैन, इमानदार रूपमा वार्तामा आउनुपर्छ ।’ नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सरकारले दमन गरेर वार्ता ल्याउने प्रयास गलत भएको बताए । ‘वार्तामा ल्याउनुपर्छ, दमन र हत्या गर्नु हुन्न, त्यसो गर्दा मुलुकमा अर्को समस्या उत्पन्न हुन्छ,’ उनले भने, ‘वार्ताबाटै निकास निकाल्नुपर्छ, त्यसका लागि दुवै पक्ष इमानदार हुनुपर्छ, दमनले समाधान निस्कँदैन ।’


तर चन्द समूहको राजनीतिक दिशा स्पष्ट नभएको उनले आरोप लगाए । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले चन्द समूहले हतियार नबिसाएसम्म वार्ता टोली गठन नगरिने बताए । ‘माग के हो स्पष्ट हुनुपर्छ, वार्ता गर्ने भए पत्र किन चाहियो ?’ उनले भने, पत्र प्राविधिक विषय हो, वार्ताको विषय पत्रमा अड्किँदैन ।’

प्रकाशित : श्रावण ४, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?