१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो

धनगढी — बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे ।

धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो

उनीहरू थिए, नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रामबहादुर सिंह र लक्ष्मण सेराला । उनीहरूलाई चुरोट दिएर होटलका सञ्चालक केशव पाण्डे भित्र के छिरेका थिए, बाहिर विस्फोटको आवाज आयो(ड्याम्म । ‘उनीहरू चुरोट खाँदै थिए । म भित्र थिएँ । बाहिर अचानक ड्याम्म आवाज आयो,’ विस्फोटमा घाइते भई उपचाररत पाण्डेले भने, ‘विस्फोटबाट मेरा टाउकामा चोट लाग्यो र नजिकैको मायामेट्रो अस्पतालमा उपचार गराउन गएँ ।’ चिकित्सकले टाउकामा रगत जमेको जानकारी दिएपछि उनी नेपालगन्ज गएका छन् ।


घटनामा सिंहको ढाड र खुट्टामा गम्भीर चोट लागेको थियो । बिहीबार राति नै अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको छ । सेरालाको खुट्टा, पाखुरा र छातीमा गम्भीर चोट लागेकाले शुक्रबार साँझ शल्यक्रिया गरिएको छ । अर्धचेत अवस्था रहेका उनी केही बोल्न सक्ने अवस्थामा छैनन् ।


घटनाका बेला होटलमा नास्ता खान बसेका भारतको लखिमपुर जिल्लाका ग्रिल मिस्त्री मोबिन खान र कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव पनि पनि घाइते भएका थिए । माया मेट्रोमै उनीहरूको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख धीरेन्द्र साउदले जानकारी दिए ।


घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, मृतक सिंहको च्यातिएको झोलाबाट एक थान टेस्टर र डायरी फेला पारेको छ । घटनापछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको कैलालीका एसपी सुदीप गिरीले बताए । ‘घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले भने, ‘उनीहरूलाई आफन्तले भेटघाट गरिरहेका छन्, शनिबारसम्ममा डिस्चार्ज हुन सक्छन् ।’


सेराला बोल्न थालेपछि घटनाबारे थप जानकारी प्राप्त हुने उनको भनाइ छ । ‘यतिबेला लोकसेवा आयोगको परीक्षा भइरहेको छ, केन्द्र आसपासमा बम पडकाएर परीक्षा बिथोल्ने योजना पनि हुन सक्छ,’ उनले भने, ‘आदिवासी जनजातिहरूले लोकसेवाले लिन लागेको परीक्षाको विरोध गरिरहेका छन् । उनीहरूको सहानुभूति पाउन सक्ने योजनाअन्तर्गत बम बोकेर हिँडेको प्रारम्भिक छानबिनले देखाएको हो ।’


विस्फोटको जिम्मा चन्द समूहले लियो

चन्द समूहका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले विस्फोटको जिम्मा आफ्नो पार्टीले लिएको बताएका छन् । बिहीबारको बम विस्फोटमा परी आफ्नो पार्टीका सदस्य रामबहादुर सिंहको मृत्यु भएको उनले स्विकारेका छन् । उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किँदा सिंहको मृत्यु भएको उल्लेख छ ।


मृतक सिंह केही महिनाअघि चन्द समूहले काठमाडौंमा गरेको खुला आमसभामा सहभागी भएपछि पार्टीमा आबद्ध भएका हुन् । उपचाररत उनी राम्ररी बोल्न सक्ने भएपछि घटनाबारे थप जानकारी लिइने प्रहरीको भनाइ छ ।


घटनामा श्रीमान् परेको थाहा पाएर अस्पताल आएकी विमलाले सेराला डेढ महिनाअघि मात्र भारतबाट आएको दाबी गरेकी छन् । शुक्रबार साँझ लक्ष्मणको शल्यक्रिया गरिएको छ । उनीहरू श्रीमान्श्रीमती नै माओवादीका पूर्वलडाकु हुन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?