नेकपामा जिम्मेवारी बाँडफाँट : संगठनमा वामदेव, विदेश विभागमा नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् ।

विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् ।

केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए । छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए । गौतमले भने सक्रिय भूमिका दिन आग्रह गरेका थिए । यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् ।

विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । पूर्वमाओवादी पक्षले भने पोखरेलको नामलाई रुचाएको छैन । उसले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।


प्रकाशित : श्रावण ३, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

मन्दिरलाई बजेट, क्याम्पसलाई उपेक्षा

राजबहादुर शाही

(मुगु) — छायानाथ–रारा नगरपालिकाले रारा बहुमुखी क्याम्पसका लागि गत र चालु आवमा १ रुपैयाँ पनि विनियोजन गरेन । तर, गत आवमा छायानाथ ठाकुरीज्यूको मन्दिरमा ३८ लाखसहित अन्य मठ–मन्दिर र लिंगो निर्माणमा करिब ५० लाख रुपैयाँ खर्च गरेको छ ।

सोरु गाउँपालिका ६, मा दुई आवमा एक दर्जन देवीदेवताका मन्दिर बने। ती मन्दिरका लागि डेढदेखि ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

यी दुई उदाहरण मात्र हुन्, जिल्लाका ४ वटै स्थानीय तहले शैक्षिक संस्थाको पूर्वाधार विकासमा बेवास्ता गर्दै साना मन्दिर निर्माणका लाखौं रुपैयाँ खर्च गरेका छन्। यस वर्षसमेत मन्दिर निर्माणमा प्राथमिकता दिइएको छ।

छायानाथ–रारामा चालु आवमा मन्दिर निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक अभाव भोग्दै आएका क्याम्पस र शैक्षिक संस्थालाई अपेक्षा गरी स्थानीय सरकारले सामान्य मठ मन्दिरमा रकम विनियोजन गरेका हुन्। गत वर्ष एउटा मठ मन्दिर निर्माणमा डेढदेखि ३ लाखसम्म खर्च गरिएको सोरु गाउँपालिका ६ का वडाध्यक्ष मनप्रसाद भट्टले बताए। उनको वडामा एक दर्जन मन्दिरको निर्माण सकिएको छ। स्थानीय तहले बढी महत्वका मठ मन्दिर होइन, पूजापाठ नै नहुने मइयू, भाडुलगायत धार्मिक संस्थाका नाममा रकम विनियोजन गरेका हुन्। नगरपालिकासहित सोरु र खत्याड गाउँपालिकामा दुई आवमा ३ दर्जन बढी मठमन्दिर निर्माण भएका छन्। मुगमकार्मारोङ गाउँपालिकामा गुम्बा निर्माणमा गत आवमा २५ लाख रुपैयाँ खर्च भएको छ।

रारा बहुमुखी क्याम्पस नजिकैका कार्कीबाडा, ढुम, भामबाडा, तलितुमलगायत बस्तीमा स्थानीय तह गठनपछि मात्रै १८ मन्दिर बनेका बनेको स्थानीयको भनाइ छ। जिल्लाको सबैभन्दा पुरानो र सबै स्थानीय तहका विद्यार्थीले अध्ययन गर्ने रारा बहुमुखी क्याम्पसले भने लामो समयदेखि आर्थिक संकट खेप्दै आइरहेको छ। क्याम्पस अधिकांश आधारभूत पूर्वाधारविहीन छ। ‘हामीले पटकपटक क्याम्पसको विकासका लागि बजेट माग्यौं, तर बेवास्ता भयो,’ रारा बहुमुखी क्याम्पसका शिक्षा सहायक हीरा बोहोराले भने, ‘देवीदेवताका मन्दिरलाई बर्सेनि लाखौं बजेट विनियोजन भइरहेको छ।’ उनले पूर्वाधार अभावले क्याम्पसको पठनपाठन गुणस्तरीय नभएको बताए।

गत वर्ष विभिन्न मन्दिरमा लाग्ने मेला र पूजापाठको वृत्तचित्र निर्माणमा सबै स्थानीय तहले ३ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याएका थिए। जिल्लामा गत वर्ष स्थानीय तहले १ अर्ब ५० करोड रुपैयाँ खर्चिएका थिए। २०६४ मा स्थापना भएको क्याम्पस भर्खरै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक बनेको छ। तर पूर्वाधार अभावले पठनपाठन र प्रशासनिक काममा समस्या भइरहेको प्राध्यापक तथा कर्मचारीको गुनासो छ।

क्याम्पसप्रति स्थानीय सरकारको दृष्टिकोण सकारात्मक बन्न नसकेको छायानाथ–रारा नगरपालिका ५ का वडाध्यक्ष एवं पूर्व क्याम्पस प्रमुख डम्बर रावलले बताए। जिल्लाभरका विद्यार्थीले अध्ययन गर्ने भएकाले सबै स्थानीय तहले रारा क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ। क्याम्पसमा यस वर्ष डेढ सय विद्यार्थी अध्ययनरत छन्। यहाँ शौचालय एउटा मात्रै छ। शौच गर्न पालो कुर्नुपर्ने विद्यार्थीको बाध्यता छ। कक्षाकोठा पनि सीमित छन्। पालैपालो शिक्षा तथा मानविकी शास्त्रको पढाइ भइरहेको क्याम्पस प्रमुख सुशीलकुमार भाम बताउँछन्। उनका अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट बजेट निकासा हुन ढिलाइ भएकाले आर्थिक समस्या छ।

क्याम्पसको आन्तरिक स्रोत नहुँदा कर्मचारीले ४ महिनादेखि तलब नपाएको उनले बताए। क्याम्पसमा पुस्तकालयसमेत छैन। ‘भवन जीर्ण बन्दै छन्, मर्मत गर्ने रकम छैन,’ उनले भने, ‘घेरबार नहुँदा पशुचौपाया पस्ने गरेका छन्।’

खत्याड गाउँपालिकाले पनि रातापानीमा रहेको क्याम्पसका लागि पर्याप्त रकम विनियोजन गर्न सकेको छैन। चालु आवको सबै बजेट वडामै भागबन्डा गरिएकाले क्याम्पसको विकासका लागि समस्या भएको नगर उपप्रमुख सुन्तला रोकाया बताउँछिन्।

प्रकाशित : श्रावण ३, २०७६ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्