मनसुनको सक्रियता सामान्य हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय रहेको बताउँदै उनले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिइन् । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १५ .० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६०.०, सिमरामा ७.०, नेपालगञ्जमा ५४.० र जुम्लामा ०.३ मिलिमिटर वर्षा मापन गरिएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।


शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ ।


त्यस्तै उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

१७ हजार राष्ट्रसेवकलाई ५ हजार जरिवाना हुने

१७ हजारले बुझाएनन् सम्पत्ति विवरण
कान्तिपुर संवाददाता

काठमाडौँ — राज्य कोषबाट तलबभत्ता बुझ्ने १७ हजारभन्दा बढी राष्ट्रसेवकले आर्थिक वर्ष २०७५/७६ मा आ-आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ हजार १ सय २७ जना सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाएनन् ।


२०७५/७६ मा राज्यकोषबाट तलबभत्ता बुझ्नेमध्ये ५ लाख ४ सय ७८ जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउनेमा बढी शिक्षक रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ११ हजार १ सय ५७ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती कर्मचारीमध्ये एक हजार ९ सय ३९ जनाले सम्पत्ति विवरण बुझाएनन् ।

भ्रष्टाचार निवारण ऐनअनुसार राज्यकोषबाट तलबभत्ता बुझ्ने गरी सार्वजनिक पदमा नियुक्ति पाएको व्यक्तिले छ महिनाभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने प्रावधान छ । त्यसपछि हरेक नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गरी बुझाउनु पर्ने व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकहरूलाई कारबाही स्वरूप ५ हजार रुपैयाँका दरले जरिवाना गर्नेछ । भ्रष्टाचार निवारण ऐनमा नै सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार जरिवाना हुने व्यवस्था छ ।
अख्तियारले विवरण नबुझाउने राष्ट्रसेवकको सम्पत्तिमाथि आशंका गरी अकुत सम्पत्ति आर्जनमा छानबिनसमेत गर्न सक्ने कानुनी व्यवस्था छ ।

केन्द्रले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्तिको अद्यावधिक विवरण बुझाउन सर्कुलर जारी गरिएको केन्द्रले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार संघ मातहत रहेका राष्ट्रसेवकको सम्पत्ति विवरण सतर्कता केन्द्रमा राखिने छ भने प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पत्ति विवरण सम्बन्धित प्रदेश मुख्यमन्त्रीको कार्यालयमा राखिने छ । अख्तियारले कुनै राष्ट्रसेवकको सम्पत्तिमाथि आशंका लागेमा केन्द्र या प्रदेश मुख्यमन्त्री मातहत रहेको विवरण मगाएर छानविन गर्न सक्नेछ ।

प्रकाशित : श्रावण ३, २०७६ १५:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×