१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बालबालिकामा कुपोषण बढ्दै

निर्मला खडायत

धनगढी — कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन् । 

बालबालिकामा कुपोषण बढ्दै

‘कुपोषण के हो भन्ने जानकारी भए पनि छोरा बिरामी हुँदा ३/४ महिना गाउँकै वैद्यलाई देखाएँ,’ रोगले झन्झन् च्याप्दै गएपछि बल्ल अस्पताल ल्याएको बताउँदै कञ्चनपुर उल्टाखामकी मञ्जु जोशीले भनिन्, ‘माछामासु, हरियो तरकारी र गेडागुडीको झोल खाए बच्चा बिरामी हुन्छ भन्ने परिवारको मान्यता भएकाले ती आहारमा रोक लगाइयो ।’ हाल उनी सेती अञ्चल अस्पतालको पोषण पुनःस्थापन गृहमा छोराको उपचार गराइरहेकी छन् ।

पोषणगृहमै एकवर्षे बालकको उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका ७ की शान्ति विकको समस्या पनि उस्तै छ । ‘घरको सबै काम मेरै टाउको हुन्छ । छोरालाई समयसमयमा खाना खुवाउन फुर्सद नभएपछि एकै पटक धेरै खाना खुवाइदिन्थे,’ विकले भनिन्, ‘बच्चालाई बढीमा ३ पटक मात्र खाना खुवाउँथे ।’ पुनःस्थापना गृहमा आउँदा बालकको अवस्था नाजुक रहेको भए पनि अहिले विस्तारै अवस्थामा सुधार भइरहेको उनले बताइन् ।

शान्ति र मञ्जु जस्ता गृहणीले पोषणसम्बन्धी ज्ञान भए पनि अनेक कारणले व्यवहारमा परिवर्तन ल्याउन नसकेको बताउँछन् । आवश्यक सन्तुलित आहार नपाएर बिरामी परेका बच्चालाई वैद्यको भरपर्ने चलनले झन् समस्या हुने गरेको छ । नानीहरूको आहार तथा स्याहारमा उचित ख्याल नगर्दा कुपोषण हुने गरेको सेती अञ्चल अस्पताल पोषणगृहकी प्रबन्धक गीता विष्टले बताइन् ।

महिला बढीजसो घरको काममा व्यस्त हुने र घरका अन्य सदस्यले बालबालिकाको खानपानमा ध्यान नदिँदा समस्या भएको उनले बताइन् । ‘सहरबजारमै वैद्य र धामीझाँक्रीको भरपर्ने परम्परा हटेको छैन,’ विष्टले भनिन् ‘यस्ता परम्पराले समस्या बढ्छ ।’

आर्थिक वर्ष ०७५/७६ मा १ सय ४७ कुपोषित बालबालिका अस्पताल आएका थिए । तीमध्ये ७५ बालक र ७२ बालिका थिए । स्वास्थ्यकर्मीका अनुसार ५ वर्षमुनिका बालबालिकालाई दिनमा ४ देखि ६ पटक खाना खुवाउनुपर्ने हुन्छ । तर २/३ पटक पनि खान नपाउने बच्चा कुपोषित हुने गरेको विष्टको भनाइ छ । ‘आफ्ना नानीलाई समयसमयमा खाना खुवाउन झन्झट मान्ने परिवारमा समस्या बढी देखिन्छ,’ उनले भनिन्, ‘अहिले त पोषिलो खानेकुरा खुवाउनेभन्दा पनि बच्चा रोयो भने बजारमा पाइने चाउचाउ, भुजा लगायतका कुरा दिने अभिभावक धेरै छन् ।’

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा ३ वटा रङ हुने गरेका छन् । जसअन्तर्गत पहेंलोले मध्यम, हरियोले सामान्य र रातो रङले कडा कुपोषण जनाउने गर्छ । कुपोषित बालबालिकमा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ । यसरी कुपोषण हुनेमा अधिकांश बालक रहेका छन् ।

सुदूरपश्चिममा चलिआएको रुढिवादी परम्पराका कारण कुपोषित हुनेमा छोराको संख्या बढी देखिएको पोषणगृहकी विष्टले बताइन् । ‘छोरा भएका बेला आमाले खानेकुरामा ख्याल गर्नुपर्छ भन्ने मान्यता छ । माछा, मासु, हरियो सागपात, गेडागुडीको झोल खाए छोरा बिरामी हुन्छ भन्ने गलत मान्यताले बालक बढी संख्यामा कुपोषित हुने गरेका हुन् ।’ कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनले बताइन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?