सीमा विवादले २ गाउँपालिकाबीच द्वन्द्व

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाको शिवालय र सुर्खेतको सिम्ता गाउँपालिकाबीच सीमा विवाद भएको छ । दुवै गाउँपालिकाले सिमानामा रहेको छेडाचौरलाई आआफ्नो दाबी गरेपछि द्वन्द्व चर्केको हो । 

शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीको समूहले असार २७ गते सिम्ताले छेडाचौर बजारमा राखेको स्वागत बोर्ड फालिदिएको थियो । सिम्ताका अध्यक्ष कवीन्द्रकुमार केसीले २६ गते उक्त बोर्ड राखेका थिए । अध्यक्ष शाहीको टोलीले सिम्ताको बोर्ड हटाई शिवालयको राखेलगत्तै सिम्ताको टोली पुनः छेडाचौर आई हटाइदिएको थियो । छेडाचौर शिवालयको वडा नं. १ र सिम्ताको वडा नं. १ बीचमा पर्छ ।

दुई पक्षबीच विवाद बढेपछि सीमाक्षेत्रमा राखिएका बोर्ड फालाफाल गरिएको स्थानीय खडग बीसीले बताए । नक्सा र भोगचलनको हिसाबले छेडाबजार शिवालयको सिमानामा पर्ने उनको भनाइ छ । सर्वोच्च अदालतले छेडाचौर बजार जाजरकोटको शिवालय गाउँपालिकाको क्षेत्रमा पर्ने भनी फैसला गरिसकेकाले विवाद गर्नु जरुरी नभएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले बताए ।

सर्वोच्चले छेडाचौर पश्चिम खोलादेखि सुर्खेत भूभाग र पूर्व छेडाचौर बजार जाजरकोटमा पर्ने भनी अन्तिम फैसला गरिसकेको उनको भनाइ छ । पहिले नै समाधान भएको विषय स्थानीय सरकार गठन पछि पुनः बल्झिएको उनले जनाए । ‘छेडाचौर बजारको जग्गा सिम्ता गाउँपालिकाका स्थानीयका नाममा दर्ता भयो भन्दैमा सिमाना सुर्खेतमा पर्दैन,’ उनले भने, ‘छेडाबजार नापी नक्सामा जाजरकोटको सीमा क्षेत्रमा पर्ने प्रस्ट देखिन्छ ।’

तर छेडाचौर बजार सिम्ता गाउँपालिका क्षेत्रमा पर्ने प्रशासकीय अधिकृत जनक हमालले जनाए । छेडाबजारमा रहेका जग्गाको लालपुर्जा सुर्खेत मालपोत कार्यालयबाट जारी भएकाले पनि सिम्ता गाउँपालिकाको सीमाभित्र पर्ने पुष्टि भएको उनको भनाइ छ ।

सिमाना विवाद सम्बन्धमा दुवै पक्षबीच बैठक बसेर छलफलबाट समाधान खोजिने उनले जानकारी दिए । ‘हचुवामा बोर्ड फालेर विवाद गर्नुपर्ने कारण नै छैन,’ उनले भने, ‘विवादको सुरुवात शिवालयले गरेको हो, दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’ उनले २/४ मिटर जमिनका लागि द्वन्द्व गर्न नहुने तर्क गरे ।

छेडाचौर बजारमा एकले अर्काको बोर्ड हटाउन थालेपछि दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । सिम्ता र शिवालयबीच पटकपटक मुहान, जंगल, सिमानालगायत विषयमा विवाद हुने गरेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बालबालिकामा कुपोषण बढ्दै

निर्मला खडायत

धनगढी — कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन् । 


‘कुपोषण के हो भन्ने जानकारी भए पनि छोरा बिरामी हुँदा ३/४ महिना गाउँकै वैद्यलाई देखाएँ,’ रोगले झन्झन् च्याप्दै गएपछि बल्ल अस्पताल ल्याएको बताउँदै कञ्चनपुर उल्टाखामकी मञ्जु जोशीले भनिन्, ‘माछामासु, हरियो तरकारी र गेडागुडीको झोल खाए बच्चा बिरामी हुन्छ भन्ने परिवारको मान्यता भएकाले ती आहारमा रोक लगाइयो ।’ हाल उनी सेती अञ्चल अस्पतालको पोषण पुनःस्थापन गृहमा छोराको उपचार गराइरहेकी छन् ।

पोषणगृहमै एकवर्षे बालकको उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका ७ की शान्ति विकको समस्या पनि उस्तै छ । ‘घरको सबै काम मेरै टाउको हुन्छ । छोरालाई समयसमयमा खाना खुवाउन फुर्सद नभएपछि एकै पटक धेरै खाना खुवाइदिन्थे,’ विकले भनिन्, ‘बच्चालाई बढीमा ३ पटक मात्र खाना खुवाउँथे ।’ पुनःस्थापना गृहमा आउँदा बालकको अवस्था नाजुक रहेको भए पनि अहिले विस्तारै अवस्थामा सुधार भइरहेको उनले बताइन् ।

शान्ति र मञ्जु जस्ता गृहणीले पोषणसम्बन्धी ज्ञान भए पनि अनेक कारणले व्यवहारमा परिवर्तन ल्याउन नसकेको बताउँछन् । आवश्यक सन्तुलित आहार नपाएर बिरामी परेका बच्चालाई वैद्यको भरपर्ने चलनले झन् समस्या हुने गरेको छ । नानीहरूको आहार तथास्याहारमा उचित ख्याल नगर्दा कुपोषण हुने गरेको सेती अञ्चल अस्पताल पोषणगृहकी प्रबन्धकगीता विष्टले बताइन् ।

महिला बढीजसो घरको काममा व्यस्त हुने र घरका अन्य सदस्यले बालबालिकाको खानपानमा ध्यान नदिँदा समस्या भएको उनले बताइन् । ‘सहरबजारमै वैद्य र धामीझाँक्रीको भरपर्ने परम्परा हटेको छैन,’ विष्टले भनिन् ‘यस्ता परम्पराले समस्या बढ्छ ।’

आर्थिक वर्ष ०७५/७६ मा १ सय ४७ कुपोषित बालबालिका अस्पताल आएका थिए । तीमध्ये ७५ बालक र ७२ बालिका थिए । स्वास्थ्यकर्मीका अनुसार ५ वर्षमुनिका बालबालिकालाई दिनमा ४ देखि ६ पटक खाना खुवाउनुपर्ने हुन्छ । तर २/३ पटक पनि खान नपाउने बच्चा कुपोषित हुने गरेको विष्टको भनाइ छ । ‘आफ्ना नानीलाई समयसमयमा खाना खुवाउन झन्झट मान्ने परिवारमा समस्या बढी देखिन्छ,’ उनले भनिन्, ‘अहिले त पोषिलो खानेकुरा खुवाउनेभन्दा पनि बच्चा रोयो भने बजारमा पाइने चाउचाउ, भुजा लगायतका कुरा दिने अभिभावक धेरै छन् ।’

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा ३ वटा रङ हुने गरेका छन् । जसअन्तर्गत पहेंलोले मध्यम, हरियोले सामान्य र रातो रङले कडा कुपोषण जनाउने गर्छ । कुपोषित बालबालिकमा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ । यसरी कुपोषण हुनेमा अधिकांश बालकरहेका छन् ।

सुदूरपश्चिममा चलिआएको रुढिवादी परम्पराका कारण कुपोषित हुनेमा छोराको संख्या बढी देखिएको पोषणगृहकी विष्टले बताइन् । ‘छोरा भएका बेला आमाले खानेकुरामा ख्याल गर्नुपर्छ भन्ने मान्यता छ । माछा, मासु, हरियो सागपात, गेडागुडीको झोल खाए छोरा बिरामी हुन्छ भन्ने गलत मान्यताले बालक बढी संख्यामा कुपोषित हुने गरेका हुन् ।’ कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनले बताइन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×