१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शरीरमा गोली, मनमा पीडा

विनु तिम्सिना

विराटनगर — तेह्रथुमकी कल्पना घिमिरे (सञ्जु) माओवादी सशस्त्र युद्धकी घाइते योद्धा हुन् । उनी अहिले पनि शरीरभरि गोली र छर्रा लिएर बाँचिरहेकी छन् । सशस्त्र युद्धका समयमा तत्कालीन शाही सेनाले गोली बर्साएर मृत घोषणा गरी छाडिएकी कल्पना अझै ती गोली र छर्रा शरीरमा बोकेर हिँडिरहेकी छन् ।

‘पार्टीले सुम्पिएको जिम्मेवारीलाई बहन गर्दै अगाडि बढ्ने क्रममा हामी तेह्रथुमको श्रीजुङ पुगेका थियौं’, विगत सम्झँदै उनले भनिन्, ‘बेलुकाको समय, कम्पनी हेडक्वाटरबाट हामीलाई बाहिरी गतिविधि बुझ्न निर्देशन दिइयो । जेठको समय पहाडी क्षेत्र बाक्लो कुहिरोले ढपक्कै ढाकेको थियो । अकस्मात् शाही सेना मेरो अगाडि आइरहेको देखें, यत्तिकैमा ‘साथीहरूले दुस्मन’ मात्र के भन्न भ्याएथे, बन्दुकको आवाजसँगै म पनि ढलें ।’


‘शरीरभरि गोली बर्साइएको रहेछ,’ उनले भनिन्, ‘सेनाले त मृत घोषणा गरी त्यत्तिकै छाडेर गएको थियो तर म बाँचें ।’ आन्तरिक उपचारपछि विराटनगर, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिलिगुडीलगायत थुप्रै ठाउँमा उनको उपचार भयो । तर आर्थिक अभावमा अझै पनि ६ वटा गोली शरीरमै छन् ।


‘हातमुख जोर्न नै धौधौ छ । अपरेसन खर्च कसरी पो जुटाउने ?’ उनले गुनासो गरिन्, ‘तत्कालीन समयमा पार्टीको सहयोगमा उपचार त भयो तर अहिले पनि ६ वटा गोली मेरो शरीरमै छन् ।’


टाउको र दुवै हातमा भएको गोलीले झन्झन् समस्या थपिरहेको उनले बताइन् । सरकारले सामान्य जीवन निर्वाह भत्ताको व्यवस्था गरे पनि उपचारमा भने ध्यान नदिएको उनको गुनासो छ । भेलामै आएका सुनसरीका श्यामकुमार बस्नेत पनि सशस्त्र युद्धका घाइते योद्धा हुन् । तत्कालीन राज्यसत्ताको विरुद्ध लड्दा उनले आफ्नो दाहिने खुट्टा गुमाएका छन् ।


पार्टी संगठनमा आबद्ध भएको केही समयपछि सेक्सन कमान्डर र सेनाको प्लाटुनसम्म भएका उनको पार्टी अहिले सत्तामा छ । तर उनलाई भने आफ्नी श्रीमतीको अपरेसन गर्दा लागेको ५० हजार ऋण कसरी तिरौं भन्ने पीर छ । त्यतिमात्रै कहाँ हो र कृत्रिम खुट्टा धेरै पुरानो भइसके पनि त्यो फेर्न सकेका छैनन् ।


‘त्यो बेला जोस थियो । युद्धमा लागियो । खुट्टा गुमाइयो तर पनि कुनै गुनासो छैन,’ उनले भने, ‘अहिले यही खुट्टा नहुँदा काम गरेर खान समस्या भएको छ ।’


आफ्नो ३ कट्ठा र अरू आफन्तको ६ कट्ठामा खेती गरेर उनीहरूले जीविकोपार्जन गर्दै आएका छन् । उनकी श्रीमती अम्बिकालाई पथरिया भएपछि अपरेसन गर्नुपर्‍यो । त्यही ऋण अझै तिर्न नसकेको उनी बताउँछन् ।


संखुवासभाका कुलबहादुर कार्की (आनन्द) पनि युद्धकै दौरान घाइते भए । पाँचथरको गोपेटार, सिन्धुलीको भिमान, भोजपुरलगायत धेरै लडाइँमा सहभागी भएका कार्की सिन्धुलीको भिमानमा भएको भिडन्तमा भने घाइते हुन पुगे ।


‘तत्कालीन शाही सेनाका तर्फबाट फ्याँकिएको ३६ ग्रिनेट मेरै अघिल्तिर पड्केका थिए,’ उनले विगत सम्झिए, ‘थर्टी सिक्स ग्रिनेडका छर्रा अनुहार र टाउकोमा जताततै गाडिए अनि आँखा तत्कालै बन्द भए ।’


ज्यानको बाजी लगाएर सशस्त्र युद्धमा होमिएका कार्कीलाई त्यो बेला लिइएको लक्ष्यअनुसार देश नबनेको देख्दा धेरै पीडा महसुस हुन्छ । ‘त्यो बेला त ज्यान दिनुपरे पनि दिइन्छ भनेर हिँडिएको थियो, त्यसैको उपलब्धि हो अहिलेको गणतन्त्र,’ उनले भने, ‘तर पार्टी र नेताहरूले युद्धमा रगत बगाउनेलाई सम्मान दिन सकेनन् ।’


गणतन्त्र स्थापनाको मूल लक्ष्य लिएर तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सशस्त्र युद्ध गर्‍यो । युद्धमा हजारौंको मृत्यु भयो, हजारौं घाइते भए, सयौं अहिले पनि बेपत्ताको सूचीमा छन् । सशस्त्र युद्धको नेतृत्व गर्ने पार्टीले नै अहिले दुई तिहाइ मतका साथ सरकार सञ्चालन गरिरहेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?