कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेट्रोलियम पाइप लाइन परीक्षण : पटनाबाट डिजेल पठाइयो

पटनाबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको छ । शुक्रबार राति अमलेखगन्ज आएपछि बिहानै परीक्षण गरिनेछ ।

पर्सा / काठमाडौं — मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनको अन्तिम परीक्षणको काम सुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपलाइनमा पानी र डिजेल पठाइएको छ ।

पेट्रोलियम पाइप लाइन परीक्षण : पटनाबाट डिजेल पठाइयो

‘पटनाबाट बिहान १० बजे पानी र डिजेल पम्पिङ गरिएको छ । उक्त डिजेल शुक्रबार राति अमलेखगन्ज आइपुग्छ,’ निगमका अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने, ‘उक्त डिजेल शुक्रबार बिहान परीक्षण गर्छौं ।’


यादवका अनुसार पटनाबाट पानी सँगसँगै डिजेल पठाइएको हो । साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको छ । ‘चुहावट परीक्षणका लागि पानी अगाडि पठाएका छौं । त्यसलगत्तै डिजेल पठाइएको छ,’ उनले भने, ‘यो परीक्षण हो । यसमा सफल भएपछि उद्घाटनका लागि तयार हुन्छौं ।’


निगमका अनुसार पटनाबाट बुधबार बेलुका ६ बजे नै पठाउने तयारी भएको थियो । तर, भन्सार प्रक्रिया मिलाउँदा ढिलाइ भएको निगमले जनाएको छ । भन्सार प्रक्रिया मिलेपछि बिहीबार १० बजे नै पठाइएको हो । यादवका अनुसार पटनाबाट अमलेखगन्जसम्म आइपुग्न १४ देखि १८ घण्टा लाग्छ । अमलेखगन्जमा राति पुगे पनि डिजेल परीक्षण भने बिहान ६ बजेदेखि हुने उनले बताए ।


पेट्रोलियम पाइपलाइन परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार यसलाई ‘प्रि–टेस्ट’ भनिएको छ । ‘प्रि–टेस्टको क्रममा साताअघि पनि पाइप लाइनमा पानी छाडिएको थियो । अहिले पुनः पानी छाडिएको छ,’ उनले भने, ‘पटकपटकको परीक्षण सफल भएमा मात्रै पूर्ण रूपमा डिजेल आउने हो ।’ पानीपश्चात् पिग छाडिनेछ । यसमा तरलसँगै रबरका टुक्रा, इलेक्ट्रिक, म्याग्नेटिक, स्पन्ज आदिको मात्रासमेत हुनेछ । यी तत्त्वले पनि पाइपलाई भित्रैबाट सफा गर्ने काम गर्छन् । कन्ट्रोल हाउससँग पाइप लाइन कनेक्सन निर्माणको काम पनि भइरहेको छ ।


पानी र पिगबाट पाइपलाइन सफा गरिएपछि अन्तिममा डिजेल छोडिन्छ । डिजेल आउने भएपछि स्विच र भल्भहरू तयार पारेर राखिनेछ । यादवका अनुसार शुक्रबार अमलेखगन्ज पुगेपछि डिजेलमा मिसावट भए/नभएको परीक्षण गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि उद्घाटनका लागि तयारी अवस्थामा राखिने यादवले बताए ।


निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइप लाइन तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा भएको छ । परीक्षणस्वरूप बिहीबार डिजेल पनि पठाएका छौं,’ कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘डिजेल परीक्षणपश्चात् पूर्ण रूपमा तयार हुन्छौं ।’ उनका अनुसार सम्भव भएसम्म पाइपलाइन उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइनेछ । त्यसका लागि निगमले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए ।


‘पाइप लाइनको अवस्था र उद्घाटनका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छौं । सोहीअनुसार परराष्ट्रबाट पनि तयारी भइरहेको छ,’ पौडेलले भने, ‘साउन १५ पछि उद्घाटन गर्न तयार छौं । सम्भवतः साउनभित्रै उद्घाटन हुन्छ ।’ दशकदेखि चर्चामा रहेको पेट्रोलियम पाइप लाइन २०७२ भदौ ७ मा भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधान र नेपालका तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाबीच निर्माण गर्ने सम्झौता भएको थियो ।


त्यसलगतै तराईमा क्षेत्रमा भएको राजनीतिक आन्दोलन र भारतको नाकाबन्दीले पाइप लाइन निर्माण प्रभावित भएको थियो । निगमका अनुसार २०७४ पुसमा आईओसीले महोत्तरी डिपोबाट सुरु गरेको थियो । त्यसपश्चात नेपालतर्फ पनि निर्माण सुरु गर्न आईओसी र निगमका टोलीबीच तीव्र छलफल भएको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पुनः समयमै निर्माण सम्पन्न गर्ने सहमतिस्वरूप मिलेरै शिलान्यास गरेका थिए । त्यसपश्चात् पाइप लाइन निर्माण प्रक्रियाले गति लिएको हो । निगमका अनुसार पाइप लाइनबाट आउने तेल भण्डारण गर्न अमलेखगन्जस्थित आयल निगम डिपोमा स्टोरेज ट्यांक निर्माण गरिँदै छ ।


कुल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्यांक निर्माण भइरहेको छ । ४ ट्यांकमध्ये ४ हजार १ सय किलो लिटर क्षमताका २ वटा ट्यांक निर्माण भइसकेका छन् । ३ हजार ९ सय किलोलिटर क्षमतामा २ वटा ट्यांकमध्ये एउटा तयार भइसकेको छ । अर्को पनि निर्माणको अन्तिम चरणमा रहेकाले दुई–तीन दिनभित्रै तयार भइसक्छ ।


पाइपलाइनअन्तर्गत सिमरादेखि अमलेखगन्जसम्म पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएपछि परियोजनाको कामले तीव्रता लिएको हो । निकुञ्ज क्षेत्रमा पाइपलाइनको बाटोमा परेका रुख मन्त्रिपरिषद्को निर्णयपछि टिम्बर कर्पोरेसन अफ नेपालले काटेको थियो । परियोजनाको ९ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ ।


यो परियोजनाअन्तर्गत २०७४ फागुन २५ देखि पाइप लाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइप लाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको छ । हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदै छ । ६ लेन सडकमुनि परियोजनाको पाइप पुरिएको छ । पाइप जमिनमुनि अढाइ मिटर भित्र गाडिएको छ ।


इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चांलित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ र परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु रहेको छ ।


पाइप लाइन सञ्चालनमा आएपछि हाल नेपालले इन्धन ढुवानीमा खर्च गर्दै आएको वार्षिक २ अर्ब रुपैयाँ जोगिने र वीरगन्जस्थित सीमामा लाग्ने सवारी साधनको जाम पनि ह्वात्तै घट्ने आशा गरिएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?