२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विस्थापित भन्छन्– 'राहत होइन, सुरक्षित बास’

ठूलो बाढी आएर बाँध भत्किए दुर्गाभगवती, बडहर्वाको बस्ती बगाउने खतरा छ । स्थानीय जाग्राम बस्न बाध्य छन् । उनीहरुले सुरक्षित स्थानमा बसोबास व्यवस्था मिलाइदिन सरकारसाग आग्रह गरेका छन् ।
शिव पुरी

रौतहट — प्रमुख जिल्ला अधिकारी किरण थापा प्रहरी र सेनाका अधिकारीसँग राहत लिएर वाग्मती नदीको बाँधमा त्रिपाल टाँगेर बसेका विस्थापित भेट्न पुगेका थिए । विस्थापित सबैले उनीहरूसँग एउटै माग गरे, ‘हामीलाई राहत चाहिएको छैन । वाग्मतीको डुबानबाट छुटकारा दिलाउनुस् । बस्ती सुरक्षित स्थानमा सार्न पहल गरिदिनुस् ।’ 

विस्थापित भन्छन्– 'राहत होइन, सुरक्षित बास’

दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका उनीहरूले २०७४ सालको बाढीले विस्थापित गर्दा पनि यस्तै माग गरेका थिए । पछिल्लो बाढीपछि उनीहरू फाटेको त्रिपालमा बसेका छन् । ‘राहत पाउँछौं, २/४ दिनमा पीडा बिर्सिएर पुरानै बस्तीमा फर्कन्छौं,’ कमल हजारीले भने, ‘तर हामीलाई बर्सेनि हुने यस्तो समस्याबाट मुक्ति दिन सुरक्षित बासको व्यवस्था गर्नुपर्छ ।’


२०४८ सालमा बडहर्वा गाउँ पहिलोपटक वाग्मतीको बाढीले डुबानमा परेको थियो । त्यसपछि बाँधको आडैमा झन्डै ४ सय घरपरिवार आएर बसेका थिए । ठूलो बाढी आएर बाँध भत्कियो भने बस्ती बगाउने खतरा त्यसै बेलादेखि थियो । त्यसैले वर्षाका बेला बस्तीका मानिसहरू जाग्राम बस्छन् । बाँध तल बसेका कसैको पनि निजी जमिन छैन । वाग्मतीले केहीको खेती बगर बनाएको छ । हिउँदमा त्यहीं खेती गर्छन् । धानबाहेक थोरै उब्जनी गर्छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि झाझ, लालबकैया र वाग्मतीको पानी गाउँ पसेपछि बस्ती डुबानमा पर्नुका साथै केही घर बगेका थिए ।


प्रजिअ थापा दीर्घकालीन योजना बनाएर अघि नबढे यस क्षेत्रमा ठूलो समस्या आउन सक्ने बताउँछन् । ‘यो बस्ती कुनै पनि बेला बाढीले बगाउन सक्छ,’ उनले भने । अहिले अधिकांश विस्थापित कष्टसँग बसिरहेका छन् । आकाशमा कालो बादल लाग्नासाथ चिन्ता बढ्ने गरेको दुखा महराले सुनाए । ‘५ दिन भयो राम्ररी सुत्न र खान पाएका छैनौं,’ उनले भने । गाउँका अधिकांशको खेत वाग्मतीले बगाइसकेको छ । धेरैजसो सुकुम्बासी जस्तै भएका छन् ।


वाग्मतीले डुबान, कटान र घर बगाएपछि उनीहरू बाँधको तलको ठाउँमा आएर बसेका हुन् । गाउँपालिकाका अध्यक्ष अरुण साहले पनि राहतभन्दा सुरक्षित बासस्थानमा जोड दिनुपर्ने बताए । ‘बर्सेनि डुबानमा पर्नेहरूका लागि सुरक्षित स्थानमा बसोबास मिलाउन संघीय सरकारले ठोस कदम चाल्नुपर्छ,’ उनले भने ।


लगातारको वर्षापछि आएको बाढी र डुबानले रौतहटका १८ स्थानीय तह प्रभावित भएका थिए । डुबान र बाढीका कारण १७ हजार ९ सय ९३ परिवार विस्थापित भएको जिल्ला प्रहरीले जनाएको छ । बाढीबाट १० जनाको मृत्यु भएको छ । २ हजार ६ सय ६ घर पूर्ण रूपले क्षति भएको छ । ६ हजार १ सय ६ घरमा आंशिक क्षति पुगेको छ ।


कटान हेरेर फर्किए

बाढीबाट प्रभावित क्षेत्रको स्थलगत हेर्न आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बिहीबार कटान क्षेत्र हेरेर फर्किएका छन् । गृहमन्त्रीसहितको टोली हेलिकप्टरबाट निरीक्षण गरी फर्किएको भोलिपल्ट उनी रौतहट आएका हुन् । उनी राजदेवी नगरपालिका ९ मा वाग्मतीले कटान गरिरहेको क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किए । उनले बडहर्वा र पिप्राभलोहियाका विस्थापित परिवारलाई भेटेनन् ।


मुख्यमन्त्री राउतले गौरमा डुबानबाट मृत्यु भएका स्थानीय शिवमंगल पटेलको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट एक लाख सहयोग गरेका थिए । त्यसपछि उनी औरैयास्थित बाँध पुगेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?