कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चन्द कार्यकर्ताले बोकेको बम विस्फोट, घाइते ५ मध्ये २ गम्भीर

धनगढी — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीको सहिद गेटस्थित नीलम होटलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

चन्द कार्यकर्ताले बोकेको बम विस्फोट, घाइते ५ मध्ये २ गम्भीर

घटनामा होटल सञ्चालक केशवराज पाण्डे, रामबहादुर सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेराली घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । घाइतेमध्ये सिंह र सेरालीको अवस्था गम्भीर छ ।


होटलमा चिया पिउने क्रममा सिंहले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको थियो । घटनामा उनको ढाड डढेको छ । सिंह र सेराली दुवै जना बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरू दुवै चन्द समूहका सैन्य कार्यकर्ता रहेको प्रहरीको दाबी छ । ‘घटनामा चन्द समूहका कार्यकर्ताको संलग्नता देखियो,’ सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले भने ।


यादव कैलालीस्थित कुखुरा व्यवसायी र खान ग्रिल मिस्त्री हुन् । बझाङ घर भई कञ्चनपुरको बेलडाँडी बस्ने सिंह चन्द समूहका जिल्ला कमिटी सदस्य र माओवादीका पूर्वलडाकु हुन् । सेराली पनि पूर्वलडाकु भएको लम्सालले बताए । घाइतेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल पनि भेटिएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । ‘विस्फोट गराइएको वस्तु स्टिलको टिफिन कन्टेनर हो,’ उनले भने, ‘यो धेरै घातक हुन्छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


‘विस्फोटक पदार्थसहितको भाँडो पड्किएको देखिन्छ । घटनास्थलबाट हामीले तारलगायत वस्तु बरामद गरेका छौं,’ लम्सालले भने । घटनापछि जिल्लास्थित होटल छानबिन र सिमानामा कडाइ गरिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?