बाढी प्रभावित क्षेत्रमा संसदीय समितिको अनुगमन

खोला–नदी आसपासका क्षेत्र अतिक्रमण गरी निर्मित संरचनाका कारण बस्तीमा बाढी पसेको टोलीको निष्कर्ष छ ।

काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले बाढीपहिरो प्रभावित क्षेत्रको संसदीय अनुगमन थालेको छ । बिहीबार र शुक्रबार राजधानीको अनुगमन गरेर समितिका दुई टोली शनिबार तराई क्षेत्र जाँदै छन् ।  

समितिले बिहीबार भक्तपुरको चाँगुनारायण, भागुपोखरी, राधेराधे, बाराही, हनुमन्ते, हनुमानघाटलगायत स्थानको अनुगमन गरेको थियो । त्यस क्रममा खोला–नदी आसपासका क्षेत्र अतिक्रमण गरी निर्मित सार्वजनिक तथा निजी संरचनाका कारण बस्तीमा बाढी पसेको टोलीले प्रारम्भिक निष्कर्ष छ । अनियन्त्रित रूपमा बालुवा झिक्दा पनि समस्या बढेको उसको भनाइ छ ।


‘२०२१ सालमा गरिएको नापीअनुसार खोला र नदी क्षेत्रको भाग छाडिनुपर्नेमा अतिक्रमण भएको देखिएको छ,’ समिति सभापति शशि श्रेष्ठले भनिन्, ‘वर्षैपिच्छे आउने बाढीमा राहत बाँडेर टालटुल गर्ने नीतिले समस्या समाधान नहुने उनले बताइन् । ‘समितिले यसको कारण खोजेर निराकरणका लागि सरकारलाई प्रतिवेदन पेस गर्नेछ,’ उनले भनिन् । समिति टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र पीडितहरूसँग अन्तर्क्रिया पनि गरिरहेको छ ।


हनुमन्ते र खासाङखुसुङ खोलाका पुल जोगाउन बनाइएका कंक्रिट संरचनाले बढी क्षति पुर्‍याएका छन् । त्यस्तै चाँगुनारायण आसपासमा बालुवा झिकेका कारण पहिरो गएको छ । हनुमानखोला र आसपासका क्षेत्रमा करिब ४ सय रोपनी धान खेतीमा बाढीले क्षति पुर्‍याएको समितिको अनुमान छ ।


समिति सदस्यहरू बिहीबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा बनेको विधेयकको छोटो छलफल गरी अवलोकन भ्रमणमा निस्किएका थिए । सिंहदरबारबाट संसदको बस लिएर अधिकांश सांसद अवलोकनमा गएका हुन् । स्थानीयले सांसदलाई आफूहरू बर्सेनि डुबानमा परेको गुनासो गरेका थिए । समितिले शुक्रबार काठमाडौंको कलंकी, कुलेश्वरलगायत विभिन्न भागमा अवलोकन गर्ने समिति सभापति श्रेष्ठले जानकारी दिइन् ।


‘हामी राजधानीमा पहिला अवलोकन गर्छौं । त्यसपछि दुई टोली बनाएर ४ गते तराईमा जाँदै छौं,’ श्रेष्ठले भनिन् । समितिकी उपसचिव बबिता मिश्रले अवलोकनमा जाँदा सरोकारवाला निकाय सबैलाई समावेश गराउने बताइन् । काठमाडौंका विभिन्न भागमा रहेका नदी अतिक्रमण गरेर संरचना बनाएको पाइएपछि भूमिसुधार कार्यालयका प्रतिनिधिलाई समेत सहभागी गराएर अनुगमन गरिने सभापति श्रेष्ठको भनाइ छ । असार २६ गतेदेखिको बाढीपहिरोले ३१ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले बताएको छ ।

प्रकाशित : श्रावण २, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?