विस्थापित भन्छन्- ‘राहत होइन, सुरक्षित बास’

ठूलो बाढी आएर बाँध भत्कियो भने दुर्गाभगवती, बडहर्वाको बस्ती बगाउने खतरा छ । बस्तीका मानिस रातभर जाग्राम बाध्य छन् । उनीहरू सुरक्षित स्थानमा बसोबास व्यवस्थाका लागि सरकारको सहयोग चाहेका छन् ।
शिव पुरी

(रौतहट) — प्रमुख जिल्ला अधिकारी किरण थापा प्रहरी र सेनाका अधिकारीसँग राहत लिएर वाग्मती नदीको बाँधमा त्रिपाल टाँगेर बसेका बाढी र डुबानका विस्थापितहरू भेट्न पुगेका थिए । विस्थापित सबैले उनीहरूसँग एउटै माग गरे, ‘हामीलाई राहत चाहिएको छैन । वाग्मतीको डुबानबाट छुटकारा दिलाउनुस् । बस्ती सुरक्षित स्थानमा सार्न पहल गरिदिनुस् ।’ 

रौतहटको दुर्गाभगवती गाउँपालिकाका विस्थापित चिन्तित मुद्रामा । उनीहरूले राहतभन्दा सुरक्षित बासस्थानको व्यवस्थाको माग गरेका छन् । तस्बिर : शिव पुरी/कान्तिपुर

दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका उनीहरूले २०७४ सालको बाढीले विस्थापित गर्दा पनि यस्तै माग गरेका थिए । पछिल्लो बाढीपछि उनीहरू फाटेको त्रिपालमा बसेका छन् । ‘राहत पाउँछौं, २/४ दिनमा पीडा बिर्सिएर पुरानै बस्तीमा फर्कन्छौं,’ पीडित कमल हजारीले भने, ‘तर हामीलाई बर्सेनि हुने यस्तो समस्याबाट मुक्ति दिन सुरक्षित बासको व्यवस्था गर्नुपर्छ ।’

२०४८ सालमा बडहर्वा गाउँ पहिलोपटक वाग्मतीको बाढीले डुबानमा परेको थियो । त्यसपछि बाँधको आडैमा झन्डै ४ सय घरपरिवार आएर बसेका थिए । ठूलो बाढी आएर बाँध भत्कियो भने बस्ती बगाउने खतरा त्यसै बेलादेखि थियो । त्यसैले वर्षाका बेला बस्तीका मानिसहरू रातभर जाग्राम बस्छन् । बाँध तल बसेका कसैको पनि निजी जमिन छैन । उनीहरू ऐलानी जग्गामा घर बनाएर बसेका हुन् । वाग्मतीले केहीको खेती बगर बनाएको छ । हिउँदमा त्यहीं खेती गर्छन् । धानबाहेक थोरै उब्जनी गर्छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि झाझ, लालबकैया र वाग्मतीको पानी गाउँ पसेपछि बस्ती डुबानमा पर्नुका साथै केही घर बगेका थिए । उनीहरूले रातारात माथि बाँधमा आएर ज्यान जोगाएका थिए ।

प्रजिअ थापा दीर्घकालीन योजना बनाएर अघि नबढे यस क्षेत्रमा ठूलो समस्या आउन सक्ने बताउँछन् । ‘यो बस्ती कुनै पनि बेला बाढीले बगाउन सक्छ,’ उनले भने ।

अहिले अधिकांश विस्थापित कष्टसँग बसिरहेका छन् । आकाशमा कालो बादल लाग्नासाथ चिन्ता बढ्ने गरेको दुखा महराले सुनाए । ‘५ दिन भयो राम्ररी सुत्न र खान पाएका छैनौं,’ उनले भने । उनले पनि खानको भन्दा बासको चिन्ता बढेको सुनाए ।

गाउँका अधिकांशको खेत वाग्मतीले बगाइसकेको छ । अहिले धेरैजसो सुकुम्बासी जस्तै भएका छन् । वाग्मतीले डुबान, कटान र घर बगाएपछि उनीहरू बाँधको तलको ठाउँमा आएर बसेका हुन् । गाउँपालिकाका अध्यक्ष अरुण साहले पनि राहतभन्दा सुरक्षित बासस्थानमा जोड दिनुपर्ने बताए । ‘बर्सेनि डुबानमा पर्नेहरूका लागि सुरक्षित स्थानमा बसोबास मिलाउन संघीय सरकारले ठोस कदम चाल्नुपर्छ,’ उनले भने ।

लगातारको वर्षापछि आएको बाढी र डुबानले रौतहटका १८ स्थानीय तह प्रभावित भएका थिए । डुबान र बाढीका कारण १७ हजार ९ सय ९३ परिवार विस्थापित भएको जिल्ला प्रहरीले जनाएको छ । बाढीबाट १० जनाको मृत्यु भएको छ । २ हजार ६ सय ६ घर पूर्ण रूपले क्षति भएको छ । ६ हजार १ सय ६ घरमा आंशिक क्षति पुगेको छ ।

कटान हेरेर फर्किए
बाढीबाट प्रभावित क्षेत्रको स्थलगत हेर्न आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बिहीबार कटान क्षेत्र हेरेर फर्किएका छन् । गृहमन्त्रीसहितको टोली हेलिकप्टरबाट निरीक्षण गरी फर्किएको भोलिपल्ट उनी रौतहट आएका हुन् । उनी राजदेवी नगरपालिका ९ मा वाग्मतीले कटान गरिरहेको क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किए । उनले बडहर्वा र पिप्राभलोहियाका विस्थापित परिवारलाई भेटेनन् ।

मुख्यमन्त्री राउतले गौरमा डुबानबाट मृत्यु भएका स्थानीय शिवमंगल पटेलको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट एक लाख सहयोग गरेका थिए । त्यसपछि उनी औरैयास्थित बाँध पुगेका थिए ।

प्रकाशित : श्रावण २, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्

सुरू भयो बोलबम, साउनभर पिण्डेश्वरको ढोका खोलिने

प्रदीप मेन्याङ्बो

सुनसरी — साउन सुरु हुनासाथ धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजनको भीड लाग्न थालेको छ । पशुपतिनाथको मन्दिरभन्दा प्राचीन मानिएको पिण्डेश्वर मन्दिर परिसरलाई प्राचीन हरिद्वार शिवालयका प्रतीकका रूपमा मानिँदै आए छ ।

पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका स्थानीय भक्तजन । तस्बिर ः प्रदीप/कान्तिपुर

हिन्दु धर्मशास्त्रका अनुसार साउन शिवजीको मन पर्ने महिना हो । यसैबेला बोलबम भक्तजन गेरु वस्त्र धारण गरी गलामा रुद्राक्षको माला पहिरेर खालीखुट्टा शिव मन्दिरमा जल चढाउने गर्छन् । पिण्डेश्वर शिवालयमा बिहानैदेखि हिन्दु नरनारी हातमा जलघडा बोकेर बेलपत्र, धतुरोको फूल र दाना, गाईको दूध, मह, घिउ आदि चढाउनेको घुइँचो लाग्ने गरेको छ ।

धरानमा चारदशक अघि अनुसन्धानकर्मी पथिक कवि लक्ष्मीप्रसाद आचार्यले स्कन्ध पुराण र रुद्राक्षरण्य महात्म्यमा पिण्डेश्वरको बारेमा व्यापक चर्चा भएको पत्ता लगाएपछि पिण्डेश्वरको शिवलिङ भारतमा रहेका शिवलिङहरूभन्दा जेठो रहेको बताएर प्रत्येक साउनमा जल चढाउने चलन सुरु गरेका थिए ।

ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको उक्त पौराणिक स्थलमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जल चढाएर औपचारिक रूपमा बोलबमको शुभारम्भ गरे । उनले बोलबमको मन्दिरसँगै रहेको सिद्धिविनायक गणेशको प्रतिमा र पिण्डेश्वर बाबाधामको शिवलिङ्गमा जल चढाएर विधिवत रूपमा बोलबम सुरु गरेका थिए ।

त्यस अवसरमा प्रदेश सभामुख भण्डारीले मन्दिर परिसरमा रुद्राक्षको ५ वटा बिरुवा रोपेका थिए । कांग्रेसका प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, आन्नद आचार्य र बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले पनि वृक्षरोपण गरेर सभामुख भण्डारीलाई साथ दिएका थिए ।

हिन्दु धार्मिक आस्थाअनुसार बराहक्षेत्रस्थित सप्तकोसी र कोकाह नदीको संगमस्थलमा स्नान गरेर त्यहाँको जल पिण्डेश्वर मन्दिरको शिवलिङमा चढाए चिताएको पुग्ने धार्मिक विश्वास छ । साउन महिना लागेपछि सबै देवी, देवता गुप्तबासमा बस्ने भएकाले मठ मन्दिरमा ठूलो पुजापाठ हुन्न । तर शिवजीको प्रिय महिना साउन भएकाले शिवजीको पूजा आराधना निर्वाध चल्ने हिन्दुधर्मका विद्वानहरूको भनाई छ ।

विगत वर्षसम्म पिण्डेश्वरमा साउनको सोमबारमात्र शिवलिङ्गमा चलजढाउने गरिएको थियो । तर, साताको एउटा सोमबार मात्र मन्दिरको ढोका खुला गर्दा एकसाथ आएका हजारौं बोलबम भक्तजनको व्यवस्थापन गर्न गाह्रो हुने, घण्टौं लाममा पालो पर्खिनु पर्ने भएकाले गत वर्षदेखि साउनका सबैबार खुला गरिएको पिण्डेश्वर बाबाधाम सञ्चालन समितिका अध्यक्ष विकास बनेपालीले बताए ।

प्रकाशित : श्रावण २, २०७६ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्