विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

अनिश रेग्मी

काठमाडौँ — लाेकसेवा आयाेगले स्थानीय तहका लागि खाेलेकाे विज्ञापन खारेजीकाे माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हाे ।

प्रकाशित : श्रावण २, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

कान्तिपुर संवाददाता

बर्दिवास — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । 

महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन ।

'अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्', सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, 'यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।' अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफूले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ ।

पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आफूसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गरे ।

सभापति देउवाको निरीक्षण टोलीमा काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुङ्गाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सम्मिलित छन् । सभापति देउवाको आज बाढी र डुबानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस महोत्तरीका सभापति रायले जानकारी दिए ।

प्रकाशित : श्रावण २, २०७६ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×