कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लापरबाहीले बढी क्षति

विनु तिम्सिना

विराटनगर — लगातारको वर्षाले खोलाखोल्सी र पैनीमा पानीपानी थिए । झापा दमककी ६ वर्षीया एलिजा न्यौपाने घर नजिकै भालु खोलाको कल्भर्टमा जमेको पानीमा खेलिरहेकी थिइन् । पानीमा खसेकी उनको डुबेर मृत्यु भयो ।

वर्षाले बढेको लोहन्द्रा खोलामा पौडी खेल्न पसेका मोरङको जहदाका १६ वर्षीय आदर्श पोद्धारलाई भेलले बगायो ।

उर्लेको खोलालाई बेवास्ता गर्दै माछा मार्न गएका सुनसरीका सागर थापालाई पनि खोलाले बगायो ।


आफ्नो कुकुर बचाउन खोलाभित्र छिरेका उदयपुरका ३५ वर्षीय मनकुमार तामाङ न आफू बाँचे न त उनको कुकुर नै । बूढी खोलामा बाढीसँगै बगेर आएको दाउरा झिक्न पसेका सुनसरीका खालिद मियाँलाई तत्काल स्थानीय र प्रहरीले उद्धार गरेपछि बाँचे । दाउराका लागि उनको ज्यान जोखिममा परेको थियो । उनी अहिले विराटनगरमा उपचाररत छन् ।


अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश १ का विभिन्न जिल्लामा २६ जनाको मृत्यु भएको छ । मारिएकामध्ये अधिकांश सावधानी नअपनाउँदा घटना भएको पाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीपहिरोमा परेर भोजपुरमा ५, ओखलढुंगा र उदयपुरमा ४/४, खोटाङ, झापा र मोरङमा ३/३, इलाम, सुनसरी, संखुवासभा र पाँचथरमा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ जना बालबालिका र ६ जना महिला छन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी खोलाले बगाएका कारण मृत्यु भएको छ । १४ को खोलाले बगाएर र १२ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।


वर्षाले खोलामा बहाव बढेको, पोखरीमा पानीको सतह बढेको अवस्थामा पौडी खेल्ने, माछा मार्ने, जबर्जस्ती खोला तर्ने र बगेर आएका दाउरा समाउन जाने लगायतका आफ्नै असावधानीका मृत्युको घटना भएको पाइएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए ।


‘खोलामा बाढी आएका बेला दाउरा बटुल्ने, पौडी खेल्न जाने र भेल तर्ने गर्नु दुस्साहस हो,’ उनले भने, ‘मृत्यु भएका घटनाहरू केलाउँदा धेरैमा असावधानी नै प्रमुख कारण देखिएको छ ।’ खोलाले बगाएका सुनसरीका १० वर्षीय अर्पण राई अझै बेपत्ता नै छन् । ‘माछा मार्न भनेर गएका उनको अझै खोजी भइरहेको छ,’ ज्ञवालीले भने, ‘बाढी आएका बेला खोलाको माछा खानु स्वस्थकर पनि मानिँदैन । चेतनाको अभावले पनि यस्ता घटना भइरहेको देखिएको छ ।’


बाढीपहिरोका विभिन्न घटनामा २० जना घाइते भएका छन् । खोलाले बगाएर झापा, मोरङ, सुनसरी र इलाममा गरी अझै ९ जना बेपत्ता नै छन् । मोरङका विभिन्न ठाउँमा बाढीमा परी बेपत्ता ५० वर्षीया शोभा सोरेन, १६ वर्षीय आदर्श पोद्धार, १८ वर्षीय सचिन मुर्मु र ११ वर्षीया सिर्जना तामाङ अझै फेला परेका छैनन् ।


यस्तै सुनसरीका १० वर्षीय अर्पण राई र झापाका ४५ वर्षीय सुफल हास्दा सतारलाई पनि खोलाले बगाएको छ । इलामकी १५ वर्षीया सुनिता साउदेन, १५ वर्षीया निशा सुनुवार र आकृति लिम्बू पनि खोलाले बगाएर बेपत्ताको सूचीमा छन् । उनीहरूमध्ये अधिकांश माछा मार्न र पौडी खेल्न गएका कारण खोलाले बगाएको देखिन्छ भने केही खोला तर्दा बगेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।


भोजपुरको आमचोक गाउँपालिका–२ थामडाँडामा पोखरीमा पौडी खेल्न गएका दुई जनाको मंगलबार डुबेर मृत्यु भयो । आमचोक–१ का २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको दुहबी–२ बस्ने सलिब मियाँका ४ वर्षीय छोरा जुगेरको गत सोमबार पोखरीमा डुबेर मृत्यु भयो ।


साँझको समयमा विवाहमा जान भनी हिँडेका जुगेर घर नजिकै रहेको पोखरीमा डुबेर सिकिस्त भएका थिए । उपचारका लागि सामुदायिक अस्पताल दुहबी हुँदै विराटनगर ल्याइएका उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?