कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सालीसँग हिमचिम, श्रीमतीको हत्या

दीपक परियार

पोखरा — हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्‍यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।

सालीसँग हिमचिम, श्रीमतीको हत्या

प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो– सालीसँगको हिमचिम ।

रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी घरमै बस्थिन् । श्रीमान्लाई हरेक बिहान पसलमै खाना पुर्‍याउँथिन् ।


उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन । असार १ मा उनी रामबजारबाट हराइन् । भोलिपल्टै रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताए । डेढ लाख रुपैयाँसमेत श्रीमतीको साथमा भएको उनले जानकारी दिए ।


श्रीमती खोजिदिन प्रहरीलाई पटक–पटक आग्रह गरिरहे । सञ्चारमाध्यममा सूचना बजाउन लगाए । युट्युबमा अन्तर्वार्ता दिए । रोइकराइ गरे । असार ११ मा लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन प्रहरीमा निवेदन दिइन् । लक्ष्मीको माइती पक्ष, श्रीमान् र प्रहरी मिलेर खोज्नुसम्म खोजे ।


कुनै सुइँको नलागेपछि प्रहरी अनुसन्धान रमेशतिरै सोझियो । केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिए । त्यतिबेला लक्ष्मीले बहिनीलाई झपारेकी थिइन् ।


लक्ष्मीको हत्या योजना त्यतिबेलैदेखि बनेको कास्की प्रहरीले बताएको छ । बुधबार घटना विवरण र अभियुक्त सार्वजनिक गर्दै प्रहरीले एक वर्षदेखि रमेशले श्रीमती हत्याको तानाबाना बुनेको जानकारी दियो । ‘लक्ष्मीले आफ्नो बदनाम गरेको अनुले ठानिन्,’ कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने, ‘अनुले दिदीलाई साइड लगाइदिनुस् भनेर रमेशलाई भनेपछि हत्याको योजना बनेको देखिन्छ ।’ गोरखाको गण्डकी–७, घ्याल्चोककी १९ वर्षीया अनु र रमेशबीच अन्तरंग सम्बन्ध रहेको र रमेशले पटकपटक पैसा पठाएको अनुसन्धानक्रममा खुलेको थियो ।


भारतीय 'कन्ट्र्याक्ट किलर’ प्रयोग

प्रहरीका अनुसार रमेशले भोजपुर नगरपालिका–५, बैंकरोड घर भई पोखराको महेन्द्रपुलमा मोबाइल पसल चलाउने सञ्जय शर्मालाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ बताए । अर्का साथी सर्लाही ईश्वरपुर–३, तीनघरिया घर भई पोखरा पृथ्वीचोकमा मोबाइल पसल गर्ने चित्तरञ्जन साहसँग पनि सल्लाह गरे ।


साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने उपाय सुझाए । उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर हत्यारालाई नेपाल झिकाए । जेठ ३० मा ३ भारतीय ‘कन्ट्र्याक्ट किलर’ पोखराको पृथ्वीचोकस्थित कोसी होटलमा बसे । होटलले उनीहरूको विवरण राखेन । त्यहाँ बस्ने व्यवस्था सञ्जय र चित्तरञ्जनले मिलाए ।


जेठ ३१ मा रमेशले सञ्जयलाई एक लाख रुपैयाँ दिए । उक्त दिन हत्या गर्ने ठाउँ रोज्न पोखरा–२२ पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, सञ्जय, चित्तरञ्जन र ३ भारतीय पुगे । सिद्धार्थ राजमार्गछेउको उक्त जंगलमा हत्या गर्ने योजना बनाएर फर्किए ।


असार १ को बिहान रमेश र सञ्जयले लेकसाइडबाट ग११प ८००३ नम्बरको स्कुटर भाडामा लिए । रमेश स्कुटर लिएर पसल पुगे । सञ्जयले नयाँबजारबाट ग१च २३६३ नम्बरको कार भाडामा लिए । चित्तरञ्जन र ३ भारतीयलाई गाडीमा राखेर कर्कलेतिर हुइँकिए ।

रमेशले पसलमा गएर श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जंगलतिर जाने भन्दै फकाए ।


कर्कले पुगेर केहीबेर दुवैले जडीबुटी पनि खोजे । खोज्दाखोज्दै रमेशले आफूलाई पिसाब लागेको बताए । लक्ष्मीलाई अलि तलतिर गएर जडीबुटी खोज्न भने, आफू मास्तिर लागे । योजनाबमोजिम पहिले नै जंगलमा पुगेका भारतीयले लक्ष्मीको मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटी हत्या गरे ।


लासलाई जंगलमै छोडेर रमेश राजमार्गमा निस्किए । सञ्जयलाई ५ लाख रुपैयाँ दिए । बाँकी ४ लाख केही दिनपछि दिने वाचा गरे । हत्या गर्ने ३ भारतीय त्यही दिन भारततर्फ लागे । बाँकी रकम चित्तरञ्जनमार्फत पठाउने सहमति भयो । हत्याको केही समयपछि रमेशले आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराए ।


केरकारपछि खुल्यो पहिचान

प्रहरीको केरकारपछि रमेशले आफ्नै योजनामा श्रीमतीको हत्या गरेको स्विकार्नुका साथै संलग्नका बारेमा खुलाएका हुन् । उनैले हत्या गरेको ठाउँ देखाए । घटनास्थलमा प्रहरी पुग्दा लक्ष्मीको हाडखोर मात्रै थियो । उनका लुगा र कपालको क्लिपका आधारमा माइतीले शव पहिचान गरेका थिए ।


हत्याको मुख्य योजनाकार रमेश, गाडी, स्कुटर र हत्या गर्ने व्यक्तिको व्यवस्था गर्ने सञ्जय शर्मा, चित्तरञ्जनकुमार साह र अनु परियार पक्राउ परेका छन् । ३ भारतीय भने फरार छन् । प्रहरी उपरीक्षक दानबहादुर कार्कीले खोजतलास जारी रहेको बताए । लक्ष्मीका आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरे ।

प्रकाशित : श्रावण २, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?