कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

रासस

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ ।

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र सहयोगी संस्थासँग आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन समितिमार्फत मानवीय ढङ्गबाट राहत वितरण गर्न गराउन, बेपत्ता भई अज्ञात भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आयोगले जोड दिएको छ ।


आयोगले विपत्पश्चात् पीडितको अवस्था, उद्धार, राहत वितरण, बसोबासका सम्बन्धमा प्रभावित जिल्लामा अनुगमन गर्नाका साथै विभिन्न माध्यमबाट सूचना सङ्कलन गरिरहेको जनाएको छ । डुबानमा विस्थापित भएकाका लागि तत्काल पुनःस्थापना गर्न, खाद्यान्न तथा कपडालगायतको व्यवस्था गर्न, राहत तथा पुनःस्थापनाका क्रममा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर कार्य गर्ने आयोगले आग्रह गरेको छ ।


गत हप्ताको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ८३ को मृत्यु, ३५ बेपत्ता र ४१ घाइते हुनाका साथै हजारौँ परिवार विस्थापित भएकामा आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।



प्रकाशित : श्रावण १, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?