किन सरुवा भए विमानस्थल अध्यागमनका अधिकृत ?

जनकराज सापकाेटा

काठमाडौँ — अध्यागमन विभाग डिल्लीबजार कार्यालयले विमानस्थल अध्यागमनका एक अधिकृतलाई रातारात सरुवा गरिदिएको छ । मंगलबार डिल्लीबजार कार्यालयले विमानस्थलमा काम गरिरहेका कमल आचार्यलाई जिल्ला प्रशासन कार्यालय सिरहा सरुवा गरिदिएको हो ।

गत सोमबार कतारबाट काठमाडौं ओर्लिएका सुरेश गुरुङलाई विमानस्थलस्थित अध्यागमन विभागका अधिकृत आचार्यले आगमन छाप हान्दिएका थिए । उक्त छाप हानिसकेपछि मात्रै विमानस्थलबाट बाहिरन पाइन्छ ।

कतारबाट फर्केका गुरुङ तिनै व्यक्ति हुन्-जो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले खोजी गरिरहेको थियो । उनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले गत जेठ १७ गते डिफ्युजनको नोटिस जारी गरेको थियो । इन्टरपोलले नोटिस जारी गरेको व्यक्तिलाई विमानस्थलमै समाउनुपर्नेमा आगमन छाप लगाएर बाहिरन सघाउ पुर्‍याएको भन्दै आचार्यलाई कारबाहीस्वरुप सिरहा सरुवा गरिएको हो ।

विभागमा महानिर्देशक ईश्वरी पौडेलले भने, 'समाउनु पर्ने व्यक्तिलाई बाहिरिन किन छाप हानियो अनुसन्धान जारी छ ।' गुरुङ विमानस्थलबाट बाहिरिएर गोंगबुमा बसेको सुराकीको आधारमा हिजो मंगलबार मित्रनगरबाट प्रहरी परिसरको विशेष ब्युरोको टोलीले पक्राउ गरेको थियो ।


गुरुङमाथि कतारमा बसेर एक युवतीलाई सामाजिक सञ्जाल फेसबुक र इमोमा अश्लिल तस्बिर र म्यासेज पठाएको आरोप छ । तीनै युवतीले गुरुङविरुद्ध उजुरी दिएकी थिइन् । गुरुङले युवतीलाई मात्रै नभइ युवतीका अभिभावकलाई समेत धम्क्याएको उजुरीमा छ । उनी केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा गएका थिए ।


गुरुङलाई पक्राउपछि थप अनुसन्धान जारी गरिराखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?