२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रानीपोखरी पुनर्निर्माण : पानी रसाएन, अरू विकल्पबाट भरिँदै

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीमा सके प्राकृतिक स्रोतकै पानी भर्ने तयारी थियो । प्रयास पनि भयो । बर्खा लाग्नु अघिदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रयास विफल भएको छ । अब अन्य विकल्पबाट पानी भर्नुपर्ने बाध्यता आइलागेको छ । 

रानीपोखरी पुनर्निर्माण : पानी रसाएन, अरू विकल्पबाट भरिँदै

प्राधिकरणले बर्खा लाग्नुअघि नै पानीको स्रोतसमेत पत्ता लगाउने गरी पोखरीको काम अघि बढाएको थियो । पोखरीमा परीक्षण गर्दा प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग सकिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । पोखरीको चार कुना र बीचमा समेत गरी ८ ठाउँमा परीक्षण गरिएको समितिको सचिव रोशनकाजी तुलाधरले जानकारी दिए ।


‘प्राकृतिक स्रोतबाट पानी आउने सम्भावना लगभग छैन,’ तुलाधार भन्छन्, ‘पोखरी वरिपरि बनेका घर, सडक पिचजस्ता कारणले जमिन सतहमा पानीको बहाब घटेको छ । त्यही भएर पानी आउने सम्भावना घटेर गएको छ ।’


पोखरीको ८ ठाउँमा परीक्षण गरिएको मध्ये ४ ठाउँमा चाहिँ पानी रसाएको थियो । पानी रसाएको ठाउँबाट पनि पानी आउने सम्भावना नदेखिएको तुलाधरले बताए ।


पोखरीमा पानी भर्न चार वटा विकल्पसहित काम सुरु भएको थियो । पहिलो विकल्प प्राकृतिक स्रोतबाट पानी भर्ने । त्यसबाट नपुगे बाहिरी स्रोतबाट राख्ने योजना प्राधिकरणले बनाएको थियो । बाहिरी स्रोतमा रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने, मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्नेजस्ता विकल्प प्रयोग गरिने प्राधिकरणले जनाएको छ । पोखरी ८ वटा इनारबाट प्राकृतिक रूपमा पोखरी ‘रिचार्ज’ गर्ने व्यवस्था थियो ।


रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि बनेको विज्ञ समितिले पनि पोखरीमा इनारबाट पानी भर्ने र इनारबाटै बढी भएको पानी बाहिर जाने प्रविधि रहेको औंल्याएका थिए । पोखरी यहीं छ भनेर विज्ञले पनि पत्ता लगाउन सकेका थिएनन् ।


रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद भएपछि पुरातत्त्वविद् विष्णुबहादुर कार्कीको संयोजकत्वमा २०७४ पुसमा विज्ञ समिति बनेको थियो । १५ दिन अध्ययन गरेर समितिले प्रतिवेदन बुझाएको थियो । त्यही सुझावअनुसार पोखरी र पोखरीको बीचको मन्दिर प्राचीन शैलीमा बनाउन लागिएको हो । पोखरी निर्माणको काम उपभोक्ता समितिले पाएको छ । मन्दिर, पुललगायत बाहिर निर्माणको काम भने ठेकेदारमार्फत हुने भएको छ । पोखरी निर्माणको लागि उपभोक्ता समितिलाई ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएको तुलाधारले जानकारी दिए ।


तुलाधरका अनुसार पोखरीको १५ प्रतिशत काम सकिएको छ । पोखरी निर्माणका लागि भक्तपुरका कालिगढ र कामदार खटिएका छन् । कामदार सबै महिला छन् । उनीहरूसँग ५० वर्ष सुकेको भक्तपुरको भाजु पुखु प्राचीन प्रविधिबाट बनाएको अनुभव छ । त्यही अनुभवका आधारमा उनीहरूलाई रानीपोखरीको जिम्मा दिइएको थियो ।


काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको पोखरी र मन्दिर पुनर्निर्माणको क्रममा विवाद भएको थियो । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । महानगरले मन्दिर र पोखरी बनाउने क्रममा आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि त्यसको विरोध भएको थियो ।


विरोध भएपछि पुरातत्त्व विभागले काम रोकिदियो । महानगरले प्राचीन प्रविधबाट मन्दिर बनाउने जनशक्ति नभएको बताएपछि मन्दिर बनाउने जिम्मा पुरातत्त्व विभागले लियो । विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले विज्ञले दिएको सुझावअनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउन राजी नभएपछि फेरि विवाद आएको थियो । विवादले काम अघि नबढेपछि गत वर्षको माघमा सरकारले रानीपोखरी र मन्दिर पुर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको थियो ।


कसरी आउँछ इनारबाट पानी ?

उपत्यकाको पानी वितरणको प्राचीन प्रविधि अध्ययन गरेका जोशीका अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालो माटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालो माटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ । कालो माटो थलथले हुन्छ ।


थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोक्छ । ‘पानी भएन भने पटपटी फुट्छ,’ तिवारी भन्छन्, ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’ रानीपाखरीको डिलमा कालोमाटो राखिएको छ । त्यो पानी अड्याउन राखिएको हो । तिवारीका अनुसार पोखरी प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको छ ।


पोखरीमा पानी आउने इशान (उत्तरपूर्व ) र पानी बाहिर जान आग्नेय (दक्षिणपूर्व) दिशामा इनार हुनुपर्ने उनको अनुमान छ । पानी विज्ञ प्रयागराज जोशी पनि धेरैपछिसम्म दक्षिण दिशामा इनार देखिएको बताउँछन् । ‘अहिले महानगरीय प्रहरी महाशाखा भवन भएको ठाउँमा रानीपोखरीको इनार थियो,’ उनी भन्छन्, ‘त्यहाँ तातो पानी आएको देखिन्थ्यो ।’ पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।


रानीपोखरीको कनेक्सन टुँडिखेलसँग थियो । टुँडिखेललाई जलभण्डार थियो । आउटलेटका लागि मिलाइएको पानी इनारको पिँधमा राखिएको बालुवाबाट जलभण्डारतिर पठाइएको हुन्थ्यो । ‘इनारमा पानी भरिन्छ,’ जोशी भन्छन्, ‘अनि तल बालुवाबाट रसाएर पानी जलभण्डारमा जान्छ ।’

टुँडिखेलभित्र पानी बगिरहने जलभण्डार रहेको जोशी बताउँछन् । तर यो भण्डार सुक्दै गयो । ‘टुँडिखेलमा दुई मिटर खन्नासाथ पानी आउँछ,’ जोशी भन्छन्, ‘यहाँ आउने पानीको मुख्य स्रोत रानीपोखरी नै हो ।’


टुँडिखेल, भद्रकालीलगायतको क्षेत्र सिमसार हो । बस्ती बसेपछि यो सिमसार पनि मासिएको छ । टुँडिखेलको जलभण्डार पनि ढल राखेपछि मासिँदै गयो । ‘२०३४ सालतिर यहीबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याइयो,’ जोशी भन्छन्, ‘ढल बिछ्याउँदा जलसतह खनियो । सतहभन्दा तलबाट ढल राखियो । ढल राखेको ठाउँबाट पानी रसाउँदै गयो । जलभण्डार घट्यो,’ उनी भन्छन्, ‘जल भण्डार घट्दै गएपछि सुन्धारालगायत पनि सुक्दै गए ।’ विस्तारै सुक्दै गएको सुन्धारा कर्मचारी सञ्चय कोष भवन बनाउँदा जग गहिरो बनाइयो । सुन्धरामा जाने पानीको बाटो बन्द भयो । सुन्धरा पूरै सुक्यो ।


रानीपोखरीको पानी आपूर्ति कम हुँदै गयो । ‘राजकुलोबाट रेगुलर पानी आउँथ्यो,’ जोशी भन्छन्, ‘अब त्यो सिस्टम छैन । राजकुलो मासियो । लैनचौर पनि सुक्यो । अब वर्षाको पानीमा मात्रै भर परेको थियो रानी पोखरी । सतह निकै घटेको थियो । त्रिचन्द्र क्याम्पसको छतको पानी यहाँ पठाउने व्यवस्था गरिएको थियो ।’


‘तान्त्रिक विधि पूरा गरियोस्’

प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वास्अनुसार रानीपाखरीमा संरचना बनाएका छन् । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार त्यति बेला भूतप्रेतमा विश्वास गरिन्थ्यो । प्रतापको छोरालाई भूतले मारेको विश्वास गरियो । छोरा खाने भूतलाई हात्तीले कुल्चेर मार्‍यो ।


त्यही विश्वासले रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ । पोखरीको पानी पनि तान्त्रिक मन्त्र जपेर देश र विदेशका विभिन्न धार्मिक स्थलबाट ल्याएर भरिएको थियो । ‘यो तान्त्रिक विधि पनि पूरा गर्नुपर्छ,’ संस्कृतिविद् यज्ञमानपति बज्राचार्य भन्छन् ।


मन्दिर, पुल र बगैँचा ठेक्का सम्झौता

रानीपोखरीबीचको मन्दिर, वरिपरिको बगैँचा र मन्दिरसम्म जाने पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा सीए/तुलसी कन्ट्रक्सन जेभीले पाएको छ । यसको निर्माण लागत १४ करोड २७ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउने जानकारी दिए । ‘अब रानीपोखरी द्रुत गतिमा अघि बढ्छ,’ ज्ञवालीले भने ।


५१ तीर्थको जल

दिगो स्रोत त छँदै छ, त्योभन्दा पहिला गर्नै पर्ने केही धार्मिक र सांंस्कृतिक विधि छन् । ती विधि असम्भव छैनन् तर अप्ठयारा छन् । रानीपोखरीसँग संस्कृति जोडिएको छ । त्यो संस्कृति कायम राख्नु अर्काे चुनौती हो । यहाँ विभिन्न ५१ तीर्थ स्थलका पानी ल्याएर पोखरी बनाइएको हो ।


वनारसको वैद्यनाथ, गण्डकी, नीलकण्ठ, कौशिकी, विष्णुमती, वाग्मती, बागेश्वरी, सकुनतीर्थ, मुस्ताङको मुक्तिनाथ, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड नुवाकोटको त्रिशूलीलगायत तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो । प्राधिकरणले यी सबै प्रक्रिया पूरा गर्ने जनाएको छ । ‘हामी यो प्रक्रिया पनि पूरा गर्छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ‘रानीपोखरीको प्राचीनता जस्ताको तस्तै रहने गरी निर्माण गर्छाैं ।’


प्रकाशित : श्रावण १, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?