कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दरखास्त दिएका ६ जनाको योग्यता नपुगेको भन्दै चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुन: दरखास्त माग

सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खुला प्रतिस्पर्धा छान्न मंगलबार पुन: दरखास्त आह्वान गरिएको छ । पहिलोपटकको आह्वानमा आवेदन दिएका ६ जनाको दरखास्त रद्द गर्दै आयोग उपाध्यक्ष छनोट सिफारिस समितिले पुन: सूचना निकालेको हो । 

दरखास्त दिएका ६ जनाको योग्यता नपुगेको भन्दै चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुन: दरखास्त माग

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली संयोजक रहेको सिफारिस समितिले १५ दिनभित्र आयोग उपाध्यक्ष भएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोचपत्र र व्यावसायिक कार्ययोजनासहित दरखास्त दिन भनेको छ । यसअघि आवेदन दिने उम्मेदवार आयोगको ‘नेतृत्व हाँक्न सक्षम र विज्ञ नभएको’ भन्दै चिकित्सा वृत्तमा आलोचना भएको थियो । सोही आधारमा समितिले उनीहरूको निवेदन रद्द गरेको हो ।

यसपटक आवेदन दिनेहरूका लागि दायरासमेत फराकिलो पार्दै विशिष्टीकरण गरिएको छ । दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको चिकित्सा शिक्षामा ख्याति प्राप्त व्यक्तिले आवेदन दिन सक्नेछन् । यसअघि उमेर हद ६४ वर्ष तोकिएको थियो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरी २० वर्षको कार्य अनुभव र चिकित्सा शिक्षासम्बन्धी क्षेत्रमा १० वर्ष काम गरेको व्यक्तिले आवेदन दिन सक्ने समितिले जानकारी दिएको छ ।

शिक्षण संस्थाका बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीका चिकित्सक वा विज्ञका रूपमा ख्याति कमाएको पुस्ट्याइँ पनि माग गरिएको छ । ‘चिकित्सा शिक्षा वा सेवासम्बन्धी कुनै पनि संस्थाको नेतृत्वमा रही उत्कृष्ट व्यावसायिक सीप प्रदान गरेको प्रमाण वा स्वघोषणा हुनुपर्छ,’ सूचनामा भनिएको छ । आयोगसँग कुनै स्वास्थ्य टकराव नभएको र सोसम्बन्धी शिक्षण संस्थामा लगानी नभएको व्यक्तिले मात्र आवेदन दिन पाउने सर्त छ ।

यसअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर्‍याएका डा. नीलमणि उपाध्यायसहित ६ जनाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका हुन् ।

असार ९ गतेको आह्वानपछि उनीहरूले इच्छापत्रसहितको निवेदन दिएका थिए । आवेदन प्राप्त भएकाबाट आयोगको उपाध्यक्ष बन्न तोकिएको योग्यताको प्रमाणपत्र प्राप्त नभएकाले रद्द गरिएको समितिले जनाएको छ । चिकित्सा शिक्षा ऐनको दफा ५ बमोजिम गठन हुने चिकित्सा शिक्षा आयोगमा चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकामध्ये एक जना उपाध्यक्ष हुने प्रावधान छ । उपाध्यक्ष आयोगमा पूर्णकालीन र कार्यकारीका रूपमा रहने व्यवस्था छ ।

उपाध्यक्ष नियुक्ति सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त दिएका योग्यमध्ये ३ जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसबाट एक जना नियुक्त हुनेछन् । वरिष्ठ चिकित्सक दिव्या सिंह र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको समितिले ३ जनाको नाम आयोगका कुलपति तथा प्रधानमन्त्रीसमक्ष पेस नगरी रद्द गरेको हो ।

प्रकाशित : श्रावण १, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?