२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वाग्मतीले लखेट्यो ४ सय परिवार

शिव पुरी

(बडहर्वा, रौतहट) — शुक्रबार राति बाढीले घर डुबाएपछि जसोतसो ज्यान जोगाएकी दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाकी ६५ वर्षीया सरस्वती कोइरीको बायाँ खुट्टा भाँचिएको छ । बाढीबाट जोगिन भाग्ने क्रममा उनको खुट्टा भाँचिएको हो । 

वाग्मतीले लखेट्यो ४ सय परिवार

छोरा उदयशंकरले हतारहतार उठाएर आमालाई बाँधमा पुर्‍याए । अन्नपात, लत्ताकपडा सबै डुब्यो । घटनाको पाँच दिन बिते पनि उनको खुट्टाको उपचार हुन सकेको छैन ।

राति करिब १० बजेको थियो । सबै सुत्ने तयारीमा थिए । पानी जोडले परेपछि कोइरी परिवारलाई शंका लाग्यो । बाहिरको अवस्था बुझ्न छोरा उदय बाहिर निस्केका मात्र थिए, बाढीले घर घेरिसकेको रहेछ । उनी आत्तिएर भित्रका सबैलाई बाहिर निस्कन भने । ‘ज्यानै गयो जस्तो लागेको थियो । छोराले बचायो,’ सरस्वती भन्छिन्, ‘अब सरकारले हामीलाई गाँस होइन, बासको व्यवस्था गरिदेओस् ।’

बडहर्वा गाउँमा झन्डै ४ सय घरधुरी छन् । तीमध्ये ३ सय ३८ घर डुबानमा परेका छन् । केहीलाई बाढीले बगाएर लग्यो । अहिले २ सय घरपरिवार वाग्मतीको बाँधनजिकै त्रिपाल टाँगेर आश्रय लिइरहेका छन् । ४० घर परिवारले माण्डवी नामक संस्थाले बनाइदिएको सेफ हाउसमा आश्रय लिएका छन् । विस्थापितमध्ये अधिकांशको त्रिपाल च्यातिइसकेको छ । रातभर पानी चुहिन्छ । सुत्न नपाएको चार दिन भइसक्यो । अधिकांशले खान पनि पाएका छैनन् । बस्तीनजिकै रहेको बिजुलीको ट्रान्सफर्मर ढलेको छ । बत्ती छैन । शुद्ध खानेपानीको अभाव छ । धेरैजसो पीडित रुघाखोकीबाट ग्रस्त बनेको जशोदादेवी साहले बताइन् । ‘सर्पले टोक्ने हो कि भन्ने डर पनि उत्तिकै छ,’ उनले भनिन्, ‘यसरी कतिन्जेल बस्नु ? त्रासैत्रासमा जीवन सकिने भयो ।’

यसअघि पनि वाग्मतीमा बाढी आयो भने बाँधको आडैमा घर भएकाहरू रातभर जाग्राम बस्थे । बाँध भत्किएर बगाउँछ कि भन्ने त्रासले सधैं पिरोल्थ्यो । तर अहिले त्यही बाँधको भरमा दुई सय विस्थापित त्रिपालमुनि बस्न बाध्य छन् । झाझ नदी नियन्त्रण र हुलाकी पुलको लम्बाइका कारण डुबानको समस्या बढेको वडाध्यक्ष धर्मनाथ चौधरीले बताए ।

‘गाउँ पुग्ने सडकमा १ सय मिटर लामो पुल बनाउनुपर्नेमा १२ मिटर मात्र बनाएपछि थप समस्या भयो,’ उनले भने, ‘डुबान हुनुमा प्रमुख कारण पुल पनि हो । यसको लम्बाइ तत्काल बढाउनुपर्छ ।’

यहाँ बसेका कसैको पनि निजी जमिन छैन । ऐलानी जमिनमा घर बनाएर बसेका सबै विस्थापित परिवारका हुन् । वाग्मतीका कारण केहीको खेती बगर बनेको छ । हिउँदमा उनीहरूले त्यहीँ खेती गर्छन् । थोरै उब्जनी भए पनि चित्त बुझाउँछन् ।

बस्तीमा मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी र सेनाका अधिकारीसहितको टोली राहत लिएर पुगेको छ । विस्थापितका लागि ४ सय थान त्रिपाल र राहत सामग्री लिई आएको प्रजिअ थापाले बताए ।


प्रकाशित : श्रावण १, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?