कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति

विमल खतिवडा

काठमाडौँ — केही दिनयताको अविरल वर्षाका कारण मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । 

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति

सडक विभागका अनुसार बाढीपहिरोका कारण पुल र सडकमा गरी झन्डै २ अर्ब बराबर रुपैयाँको क्षति पुगेको छ । बीपी राजमार्गमा यातायात पूर्ववत् रूपमा सञ्चालन गर्न करिब २० करोड खर्च लाग्ने विभागको अनुमान छ । ‘यो क्षतिको प्रारम्भिक अनुमान हो । सबैतिरको क्षतिको पूर्ण विवरण आइसकेको छैन,’ विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘वर्षात पनि सकिएको छैन ।’


सामान्य खाल्डो पर्नेदेखि सडक नै बगाउनेसम्मको क्षति भएको विभागले जनाएको छ । पानी पर्ने क्रम नरोकिएकाले केही राजमार्गमा पहिरो पन्छाउन समस्या भएको विभागले जनाएको छ । व्यस्त र निर्माणाधीन राजमार्गका पुलसमेत बाढीले बगाएको छ । कतिपय ठाउँमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।


पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोले क्षति गरेको छ । महानिर्देशक शर्माका अनुसार नारायणगढ(मुग्लिन खण्डमा पनि पहिरो गएको छ । ‘हाम्रो ध्यान वर्षात नसकिँदासम्म कसरी बाटो चालु गर्ने भन्नेमै छ,’ उनले भने ।


महानिर्देशक शर्माका अनुसार वर्षातले क्षति गरेपछि सम्बन्धविच्छेद भएको सिद्धिचरण मार्गको हर्कपुर(ओखलढुंगा खण्ड जोडिए पनि खुर्कोट(घुर्मी खण्डमा यातायात चल्न सकेको छैन । ‘शुक्रबारदेखि यो खण्ड बन्द छ, पहिरो पन्छाउन चार/पाँच ठाउँबाट मेसिन प्रयोग गरेका छौं,’ उनले भने, ‘यातायात सञ्चालन हुन अझै दुई दिन लाग्ला जस्तो छ ।’ उनका अनुसार पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको छ । यो खण्डमा खहरे खोला धेरै छन् ।

कान्ति राजपथका ठाउँ(ठाउँमा पहिरो खसेपछि निर्माण कार्य प्रभावित बनेको छ । ‘मध्य पहाडी लोकमार्ग र कान्ति राजपथमा पहिरोको बढी समस्या देखिएको छ,’ शर्माले भने ।


शुक्रबार राति कालीगण्डकी नदीले म्याग्दीको बेनी(जोमसोम सडक खण्डमा क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डको काभ्रे भीरमा चट्टान फोरेर सडक सञ्चालनमा ल्याइएको छ । शर्माले मध्यपहाडी राजमार्गको क्षतिबारे पूर्ण विवरण आइनसकेको बताए ।


४ पुलमा क्षति

बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल शुक्रबार राति बगाएको छ । ३२ मिटर पुल बगेपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । दैनिक करिब २ हजार सवारी साधन ओहोरदोहोर गर्ने यो खण्डमा पुल बगेसँगै सडक विभागले भित्री तथा अस्थायी राजमार्ग प्रयोग गर्न चालकलाई अनुरोध गरेको छ ।


‘खहरे भब्सी खोलामा बाढी आउँदा पुलको आधा भाग बगेको छ,’ सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘यात्रुलाई सहज बनाउन सडक विभागले अस्थायी डाइभर्सन बनाइदिएपछि समस्या छैन ।’ उनले बेलिब्रिज निर्माण कार्य जारी रहेको जानकारी दिए । ‘बेलिब्रिज पाँच दिनभित्रमा सञ्चालनमा आउँछ,’ उनले भने ।


प्रकाशित : असार ३१, २०७६ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?