कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गौतम बुद्ध विमानस्थलमा तेस्रो पटक म्याद थप

भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि मेसिनरी उपकरण जडानको काम गर्न बाँकी छ  
माधव ढुंगाना

(भैरहवा) — यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको तेस्रो पटक म्याद थप गरिएको छ । आगामी डिसेम्बरसम्म आयोजना पूरा गर्ने गरी पछिल्लोपटक म्याद थप गरिएको हो । 

गौतम बुद्ध विमानस्थलमा तेस्रो पटक म्याद थप

नागरिक उड्डयन प्राधिकरण बोर्डले दुई साताअघि म्याद थपको निर्णय गरेको गौतम बुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । आयोजनाअन्तर्गत भौतिक पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न मेसिनरी उपकरण जडानको काम भने बाँकी छ । ‘भौतिक पूर्वाधार निर्माण र उपकरण जडानका काम पूरा भएपछि मात्र विमानस्थल सञ्चालनमा आउने हो,’ अधिकारीले भने, ‘भौतिक निर्माणका काम भइरहेका छन् । आवश्यक उपकरण निर्माणका लागि अर्डर भइसकेको छ ।’ उपकरण जडानका लागि गरिएको दोस्रो चरणको ठेक्काको म्याद डिसेम्बरसम्म छ ।


०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थलको निर्माण २०१७ डिसेम्बरसम्म पूरा हुनुपर्ने थियो । आयोजनाको पहिलो पटक १५ जुन २०१८ र दोस्रो पटक २८ जुन २०१९ सम्मका लागि म्याद थप गरिएको थियो । भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, चिनियाँ मुख्य ठेकेदार कम्पनी र नेपाली सहठेकेदारबीचको विवादले निर्माण ढिलाइ भएको थियो । भौतिक पूर्वाधारका संरचना निर्माण गर्न चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ठेक्का लिएको छ । अहिले ७४ प्रतिशत काम भएको छ । दोस्रो ठेक्का विभिन्न मेसिनरी उपकरण जडानसँग सम्बन्धित छ । यसको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले करिब ५० करोड रुपैयाँमा लिएको छ । एरो थाई कम्पनी थाइल्यान्डको सरकारी कम्पनी हो ।


एरो थाई कम्पनीले विमानस्थलमा जडान गर्नुपर्ने आवश्यक उपकरण युरोप र अमेरिकाका विभिन्न कम्पनीसँग अर्डर गरिसकेको र दसैंअगावै आइपुग्ने जनाएको छ । दसैंलगत्तै जडान सुरु गरिने प्रमुख अधिकारीले बताए । विभिन्न उपकरण जडान गरेर अत्याधुनिक बनाउन दोस्रो ठेक्का लगाइएको हो । आयोजना प्रमुख अधिकारीका अनुसार ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लागतमा सम्झौता भएको यस आयोजनालाई ९.६२ प्रतिशत (करिब ६० करोड) रकम थप स्वीकृत गरी अत्याधुनिक विमानस्थल बनाउन विभिन्न उपकरण जडान गर्न लागिएको छ । जसअनुसार धावनमार्ग र टेक्सी वेमा सेन्टरलाइन लाइटहरू पहिलाको सम्झौतामा थिएन । त्यसले गर्दा भिजिबिलिटी (आँखाले देख्न सकिने दूरी) ५/६ सय मिटर हुँदा मात्र विमानले अवतरण गर्न सक्थ्यो । बीचमा नागरिक उड्डयन प्राधिकरणले धावनमार्गमा रन वे लाइट लगायतका उपकरण थप्ने निर्णय गरेको थियो । ती उपकरणको जडानपश्चात् यस विमानस्थलमा ३ सय मिटरको भिजिबिलिटीमा पनि विमानले उडान र अवतरण गर्न सक्छ । यसका लागि दोस्रो चरणको ठेक्काअन्तर्गत एरो थाई कम्पनीलाई जडानको काम दिइएको हो ।

आयोजनाको म्याद थप भए पनि लागत भने नबढेको र अबको म्यादभित्र आयोजनाको निर्माण कार्य सम्पन्न हुने दाबी राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले गरे । उनका अनुसार आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंकको पनि सहमति छ । आयोजनाको पहिलो ठेक्काअन्तर्गत भौतिक पूर्वाधार निर्माणतर्फ पनि टर्मिनल भवनमा वायरिङ, स्क्यालेटर, लिफ्ट, ब्यागेज बेल्ट, सीसी क्यामेरा, एक्सरे मेसिन लगायतका उपकरण जडानका काम भइरहेका छन् ।

दोस्रो ठेक्काअन्तर्गत भीओआर/डीएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, विमान कति उचाइमा छ, कति दूरीमा छ भन्नेबारेमा पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्ने लगायतका उपकरण जडान गर्नुपर्ने हुन्छ । आयोजनाले राखेको पछिल्लो लक्ष्यअनुरूप आउँदो डिसेम्बरसम्ममा आयोजना सम्पन्न हुने हो भने पनि सम्झौतामा उल्लेख भएको भन्दा ३ वर्षपछि हुनेछ ।

प्रकाशित : असार ३१, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?