बेंसीसहर–चामे सडकमा जताततै पहिरो

आश गुरुङ

लमजुङ — भीषण वर्षापछिको बाढीपहिरोले हिमाली जिल्ला मनाङको यात्रा असहज बनेको छ । मनाङबाट आउँदै गरेका र उता जाँदै गरेका यात्रु अलपत्र पर्ने गरेका छन् ।

बेंसीसहर–चामे सडकमा जताततै पहिरो

सडकमा कतिबेला पहिरो खस्छ भन्ने यकिन नहुँदा डराइ–डराई यात्रा गर्नुपरेको यात्रु बताउँछन् । पहिरोले सडक बगाएको छ । कतिपय ठाउँमा सडक चिरैचिरा परेको छ । मर्स्याङदी गाउँपालिका–३ अर्खलेबेंसीमा पहिरोले सडक थुनिने स्थानीय जितबहादुर गुरुङले बताए । ‘पोहोर गएकै ठाउँमा यसपटक पनि पहिरो गइरहेको छ । यसले सधैं दुःख दिने भयो,’ उनले भने, ‘पोहोर साउनको पहिरोले मेरा माछा पोखरी पुर्‍यो । अहिले घर पुरिनै लागेको छ ।’


पानी पर्न थालेपछि बेंसीसहर–चामे सडक ठाउँठाउँमा अवरुद्ध हुने गरेको मर्स्याङदी–४ का वडाअध्यक्ष सुमन गुरुङले बताए । दुईवटा फडे निर्माण गरिएकोमा एउटा फडके पुर्दा वारपार गर्न नसकिएको मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए ।


नासों–१ धारापानीका सिंहबहादुर गुरुङका अनुसार पुराना पदमार्ग भत्किएका छन् । सवारी साधन चल्न थालेपछि स्थानीय उक्त सडक बाटो नै पैदल हिँड्न थालेको र पदमार्ग बनाउनतर्फ कसैको ध्यान नगएको उनले बताए ।


तालबाट च्याम्चेसम्म पुरानो पैदलमार्ग भए पनि त्यसमाथि र तल पुरानै पदमार्गमा सडक भएकाले समस्या परेको हो । ‘जरुरी काम भएर बेंसीसहर वा चामे जान समस्या छ । तिमाङको छहरामै समस्या छ । काठेपुल, कहिले के हुन्छ, थाहै छैन,’ उनले भने ।


मर्स्याङदी–५ घेर्मुका बृख गुरुङले रामबजार नजिकैका सडक चिरा परेकाले आवतजावत गर्न नसकिएको बताए । स्याँगेदेखि खुदीसम्मका ठाउँ–ठाउँमा पहिरो गएको र सडक चिरिएका कारण जोखिम रहेको उनले बताए ।


बेंसीसहर–चामे सडक खण्डमा पर्ने बेंसीसहर–६ बेलौतिबिसौना नजिकैको खरखरे भीर, मर्स्याङदीको अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शीरचौर, च्याम्चेलगायत ठाउँमा पहिरो चलेपछि मनाङबासी र उत्तरी लमजुङका स्थानीयलाई समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार वर्षापछि केही ठाउँमा पहिरो गएको र खुलाउँदै गरिएको बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?