१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विस्थापित भन्छन्, 'भोकै बस्नुपर्ने भयो’

बाढी प्रभावितमध्ये गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा छन् ।
देवनारायण साह

मोरङ — घरमा बाढी पसेपछि गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । उनीहरू तीन दिनदेखि राम्ररी खान र सुत्न पाएका छैनन् ।

विस्थापित भन्छन्, 'भोकै बस्नुपर्ने भयो’

केसलिया खोलाको बाढी बस्तीमा पसेपछि विराटनगर–१२, सिमराहीकी मनीषा ऋषिदेव तीन दिनदेखि बखरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेकी छन् । उनी सात महिनाकी गर्भवती हुन् । पोषिलो खाना र आरामको आवश्यकता हुने बेला राम्ररी खान र सुत्न नपाएको उनले बताइन् । ‘एकै ठाउँ धेरै जना खाँदिएर बसेका छौं,’ उनले भनिन्, ‘सुत्न र खान पनि समस्या छ ।’

विस्थापितलाई वडा कार्यालयले खाना उपलब्ध गराइरहेको छ । भात, उरिदको दाल, आलु र सोयाबिनको तरकारी बिहान–बेलुका दिइएको छ । अन्जुला ऋषिदेव, कृति ऋषिदेव र राखी ऋषिदेव पनि उनीसँगै बसिरहेका छन् । उनीहरू तीनै जना गर्भवती छन् । विद्यालय बसाइ कष्टकर भएको उनीहरूको गुनासो छ । ‘घरमा भएको अन्नपात सबै बग्यो,’ मनीषाले भनिन्, ‘किनेर खान पैसा छैन, वडाले दिएको खानेकुराले पेट भरिन्न ।’


उक्त विद्यालयमा आश्रय लिएर बसेका १ सय २२ परिवारका ६ सय १० जनामध्ये १ सय ५० भन्दा बढी बालबालिका रहेको प्रहरीले जनाएको छ । बालबालिकालाई वडाले बिहान एक प्याकेट बिस्कुट र दिउँसो खाना उपलब्ध गराउँछ । ‘बिहान बिस्कुट खाएपछि बालबालिका अपराह्न भोकले छटपटिन्छन्,’ अजय ऋषिदेवले भने, ‘भोकै बस्नुपर्ने अवस्था छ ।’ वृद्धवृद्धाको हालत पनि उस्तै छ ।


वडा कार्यालयले दिएको खानाले पेट नभरिएको ६० वर्षीया पारो ऋषिदेवले बताइन् । सिंघिया र केसलिया खोलाको नदीउकास जग्गामा बस्दै आएका उनीहरू बर्सेनि बाढीको चपेटामा पर्छन् । विराटनगर महानगर प्रमुख भीम पराजुलीले नदी किनारका सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्ने भन्दै आए पनि हालसम्म अवस्था ज्युँका त्युँ छ ।

प्रकाशित : असार ३१, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?