घरेलु कामदार घर आउन वञ्चित : पुनः श्रमस्वीकृतिको निर्देशन माग्दै सरकार

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको निर्देशन माग गर्दै आए पनि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो दिएको छैन । 

अघिल्लो संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले २०७२ चैत २० गते दिएको निर्देशनपछि मन्त्रालयले पुनः श्रमस्वीकृति बन्द गर्दा विभिन्न मुलुकमा रहेका नेपाली घरेलु कामदार प्रभवित भएको भन्दै मन्त्रालयले खुलाउने निर्देशन माग गर्दै आएको हो ।

समितिले तीन वर्षअघि ‘सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित कानुन ठोस रूपमा नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म’ खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

श्रम मन्त्रालयकै अनुरोधमा समितिले गत पुस २४ गते घरेलु कामदारको विषयमा बैठक राखेको थियो । बैठकले मन्त्रालयसमक्ष घरेलु कामदारको विषयमा विस्तृत विवरण मागेको थियो । खाडीस्थित नेपाली दूतावासको राय लिई मन्त्रालयले पुस ३० गते नै घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन उपयुक्त हुने लिखित जवाफ पठाएको थियो । त्यसयता समितिले घरेलुकामदारको विषयमा छलफल गर्न बैठक राखेको छैन ।

पुनः श्रमस्वीकृति बन्द भएपछि रोजगार लम्ब्याउन खोज्ने नेपाली घरेलु कामदार घर फिर्न पाएका छैनन् । खाडीलगायतका मुलुकमा करिब १ लाख ३९ हजार नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् । पुरुष र महिलासमेत गरी कतारमा ३० हजार, साउदी अरबमा ३० हजार, कुवेतमा ४० हजार, यूएईमा १५ हजार, ओमानमा १० हजार, बहराइनमा १० हजार र लेबनानमा ४ हजार घरेलु कामदार छन् । कतार र साउदीमा सबैभन्दा बढी ऊँट रेस, मजरा (खेतीकिसानी), हाउस डाइ्रभरका रूपमा घरेलु कामदार कार्यरत छन् । कुवेत, यूएई, ओमान, बहराइन र लेबनानमा कार्यरत घरेलु कामदारमध्ये झन्डै ९० प्रतिशत महिला छन् ।

‘संसदीय समितिले रोकेको हुनाले हामीले श्रमस्वीकृति दिन सकेका छैनौं । हामीले समितिलाई यसलाई खुलाइदिन अनुरोध गर्दै आइरहेका छौं,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘समितिले निर्देशन नदिएसम्म श्रम मन्त्रालयलाई श्रमस्वीकति दिन कठिन छ ।’

समितिका सभापति विमल श्रीवास्तवले पुनः श्रमस्वीकृति खोल्न निर्देशन दिनलाई आफूहरूले आधार खोजिरहेको बताए । ‘अघिल्लो समितिले घरेलु कामदार असुरक्षा भएको भन्दै रोकेको रहेछ । उनीहरू कानुनी अधिकार पाउनसमेत वञ्चित हुनुपरेको छ,’ श्रीवास्तवले कान्तिपुरसँग भने, ‘साउन ३ गते बैठक राखेका थियौं । बाढीपीडितका कारण प्रभावित हुन पुग्यो । यो विषय एक साताभित्र टुंगाउने योजनामा छौं ।’

घरेलु कामदारहरूले दूतावासहरूलाई पुनः श्रमस्वीकृति खुलाउन दबाब दिँदै आएको छ । कुवेत, बहराइन, ओमन र यूएईमा घर फिरेर पुनः पहिलेकै रोजगारदाताको घरमा काम गर्न आउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ‘यहाँ कार्यरत घरेलु कामदारले पुनः श्रमस्वीकृत कहिले खुल्छ भन्दै सोधिरहेका हुन्छन्,’ ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘नयाँको हकमा दुई देशबीच श्रम सम्झौता भएपछि मात्रै खोल्न उपयुक्त हुन्छ । पुरानोको हकमा दूतावासको जिम्मेवारीमा खोलिदिनुपर्छ ।’

खाडीस्थित नेपाली दूतावासहरूले पनि खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले पुनः श्रमस्वीकृति खोल्न ढिला भएको बताए । ‘दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति खोलिदिए हुन्छ,’ उनले भने, ‘स्पोन्सर (मालिक) ले दूतावासमै आएर प्रतिबद्धता जनाएपछि दूतावासले जिम्मा लिन्छौं ।’

पुनः श्रमस्वीकृति वा वैधानिकता दिने कार्य बन्द गर्नुअघि दूतावासमा स्पोन्सरले सुरक्षाका लागि भन्दै बैंक धरौटी राख्ने गरेको थियो । कामदार करार अवधि सकेर स्वदेश फिर्ता भएको प्रमाण पेस गरेपछि धरौटी फिर्ता हुने व्यवस्था थियो ।

घरेलु कामदारहरूले आफ्नो पीडा जिम्मेवार निकायले नबुझेको बताए । कार्यस्थल सुरक्षित भए मात्रै त्यही रोजगारदाताको घरमा फर्केर आउने हुनाले पुनः श्रमस्वीकृति खुला हुनुपर्ने उनीहरूको भनाइ छ । ‘हामी बिदा लिएर घर जान पाएका छैनौं, कमाउनलाई परिवारबाट टाढिनुपरेको छ,’ ओमानमा कार्यरत धरानकी पार्वती श्रेष्ठले भनिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले घरेलु कामदारलाई निर्बाध रूपमा आवतजावत गर्ने अधिकारबाट वञ्चित गर्न नहुने बताए । ‘घरेलु कामदारको समस्यालाई संसदीय समितिले तुरुन्त समाधान गरिदिनुपर्छ,’ उनले भने ।

प्रकाशित : असार ३१, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

लिबियाबाट फर्केकाहरूले भने– 'अध्यागमनकै सेटिङमा उडेका थियौं’

जनकराज सापकोटा

काठमाडौँ — मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । 

सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरे पनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् ।

चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’ दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए । घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए ।

चितवन भण्डाराका नेत्रबहादुर भण्डारीलाई पनि राईले भिजिट भिसामा भारतको नयाँदिल्ली हुँदै दुबई उडाउने भनेका थिए । तर दुई महिना दिल्ली बस्दा पनि उडाउन नसकेपछि नेपाल फर्केका थिए । एक दिन राईले काठमाडौंमै सेटिङ मिलाएको बताए । राहदानीमा एक महिनाको भिजिट भिसा लगाएका भण्डारीले यसअघि कुनै देशको भिसा लगाएका थिएनन् ।

उनले सुनेका थिए, कुनै देश नगएकालाई भिजिट भिसामा दुबई जान त्यति सजिलो छैन । तर विमानस्थलमा उनले सोचेजस्तो भएन । दुबई हिँडेको टोलीमा भण्डारीसहित चितवनकै बाबुराम चौधरीसँगै पाँचजना थिए । भण्डारीले भने, ‘विमानस्थल बाहिर नै लोकमानले भित्र छिरेपछि के गर्ने, अध्यागमन अधिकृतले केही सोधेमा के भन्ने भनेर सबै सिकाएका थिए ।’

भण्डारीको टोली काउन्टरमा पुगेपछि अध्यागमन अधिकृतले रोके । उनले भने, ‘हामी झन्डै ४५ मिनेट जति रोकियौं । त्यसपछि लोकमानलाई फोन गर्‍यौं । उनले अर्को काउन्टरमा जान भने ।’ उक्त काउन्टरमा एक महिला अध्यागमन अधिकृत थिइन् । राहदानी र भिसा हेरेपछि तिनले अलमलमा परेजस्तो गरिन् । उनले अर्को दुब्लो कदको एकजना अध्यागमन अधिकृतसँग केही सोधिन् । ‘ती अधिकृतले के के भने कुन्नि, उनले सजिलै छाप लगाइदिइन्,’ भण्डारीले भने, ‘सेटिङ मिलिसकेकाले होला, उनले हामीलाई केही नसोधी प्रस्थान अनुमतिको छाप हानिदिइन् ।’ उनका अनुसार भिजिट भिसामा दुबई उड्नकै निम्ति लोकमानलाई साढे तीन लाख बुझाएका थिए ।

नेत्र र सञ्जय जस्तै लिबियाबाट फर्केका लमजुङ बेंसीसहरका राजकुमार गुरुङ पनि सेटिङ मिलाएर सजिलै भिजिट भिसामा दुबई उडेका थिए । साढे १० लाख फसाएका उनले काठमाडौंस्थित विमानस्थलबाट सेटिङमाउड्नका निम्ति मात्रै लोकमानलाई २ लाख बुझाएका थिए । गत वर्षको जेठ २० मा राजकुमार एक्लै विमानस्थल पुगे ।

उनलाई लोकमानले विमानस्थल छिरेपछि के–के गर्ने भनेर सिकाएका थिए । उनी सुरुमा २० नम्बर काउन्टरमा गए र बोर्डिङ पास लिए । लोकमानले भनेको काउन्टरमा गए । यसअघि कहिल्यै विदेश नगएका राजकुमारलाई अध्यागमन अधिकृतले केही नसोधी सजिलै प्रस्थान अनुमतिको छाप लगाइदिए ।

कान्तिपुरसँग सम्पर्कमा आएका सबैजसोले बोर्डिङ पास लिने र अध्यागमन काउन्टरमा बस्ने दुवै जनाको एजेन्टसँग सोझो सम्पर्क भएको देखिन्छ । नाम उल्लेख नगर्ने सर्तमा एक पीडितले एजेन्टलाई उद्धृत गर्दै आफूले बुझाएको रकमको आधा हिस्सा अध्यागमन कर्मचारी र विमानस्थलका अन्य कर्मचारीलाई बुझाउनुपर्ने भएकाले रकम चर्को परेको बताएको सुनाए ।

मानव तस्करको चंगुलमा परेर लिबिया पुर्‍याइएकाहरूलाई त्यहाँ आन्तरिक द्वन्द्व चर्कन थालेपछि अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उद्धार गरेको थियो । लिबिया पुर्‍याइएकामध्ये धेरैलाई मानव तस्करले अवैध रूपमा मेडेटेरियन समुद्र हुँदै इटाली पुर्‍याउन खोजेका थिए । तर, जोखिमपूर्ण रूपमा इटाली छिर्न खोजेकाहरूलाई युरोपेली सुरक्षा एजेन्सीहरूले लिबिया नै फकाइदिएपछि नेपालीहरू आन्तरिक द्वन्द्वको चपेटामा परेका थिए । शरणार्थीहरू राखिएकै क्याम्पमा ३ असारमा विद्रोहीहरूले आक्रमण गर्दा लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठसहित ४० जनाभन्दा धेरै मारिएका थिए ।

काठमाडौंबाट पर्यटक भिसामा ‘सेटिङ’ मिलाएर दुबई उडेकाहरू त्यहाँ केही महिना बसेपछि मात्रै लिबिया पुगेका थिए । धेरैजसोले दुबईमा ‘ओभरस्टे’ बसेको र त्यसबापत चर्को जरिवाना बुझाउनुपरेको बताएका छन् । लिबिया पुगेपछि पनि भनेजस्तो काम नपाएपछि उनीहरू अवैध रूपमा इटाली छिर्न खोजेका थिए । लमजुङका राजकुमारले भने, ‘भनेजस्तो काम पाइएन । जेनतेन ज्यान जोगाएर फर्किनु नै ठूलो कुरा भयो ।’

लिबियाबाट फर्केकाहरूले राहदानी नम्बर संकलन गरेर तिनलाई प्रस्थान अनुमति दिने अधिकारी को थिए भन्नेबारे अध्ययन गर्दा स्रोतबाट प्राप्त तथ्यले धेरैजसोलाई दुई जनाले दिएको देखिन्छ । फरकफरक मितिमा दुबईका निम्ति उडेकाहरूलाई निश्चित अध्यागमन अधिकारीले नै प्रस्थान अनुमतिको छाप दिइएबाट पनि ‘सेटिङ’ बुझ्न सकिन्छ । चितवनका नेत्रले भने, ‘बरु एयरपोर्टमै रोकिदिएको भए पनि यस्तो दुर्दशा हुन्थेन ।’

नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरोका डीएसपी राजकुमार सिलवालले मानव तस्करको संगठित गिरोहले इटालीसहित युरोपका विभिन्न देश छिराइदिने भन्दै नेपालीहरूलाई लिबिया लगेका घटना १० महिनायता व्यापक देखिएको बताए । रोजगारीको लोभ देखाएर द्वन्द्वग्रस्त देश लिबिया पुर्‍याउने काममा संलग्न आरोपमा प्रहरीले ३१ जेठमा खाँदबारीका कमल भनिने लोकमान राई र खोटाङको चिसापानीका राहुल गहतराज र राहुल थापालाई पक्राउ गरेको थियो ।

लिबियाबाट उद्धार भई फर्केका १५ जना पीडितको निवेदनका आधारमा उनीहरू पक्राउ परेका थिए । ब्युरोका अनुसार पहिले दक्षिण अफ्रिकामा मानव तस्करीको काम गर्ने राईले पछिल्ला महिनामा लिबियामा काम दिलाइदिने वा लिबिया हुँदै युरोप छिराइदिने भनेर दर्जनौं नेपालीलाई त्यहाँ पुर्‍याएका थिए ।

लिबियाको त्रिपोली र मिश्राता हुँदै इटाली छिराइदिने र आकर्षक जागिर मिलाइदिने भन्दै राईले पीडितहरूसँग प्रतिव्यक्ति ५ देखि ८ लाख रुपैयाँ उठाएका थिए । प्रहरीका अनुसार उनले पीडितहरूलाई भारतको नयाँदिल्ली हुँदै पर्यटक भिसामा दुबई र त्यहाँबाट सेटिङमा ट्युनिसिया हुँदै लिबिया पुर्‍याएका थिए ।

काठमाडौंमा रहेर मान्छे खोज्ने र रकम उठाउने काममा संलग्न राईले दिल्लीस्थित भारतीय र पाकिस्तानी एजेन्टको सहयोगमा मानव तस्करीको सञ्जाल चलाएको देखिएको ब्युरोले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७६ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्