बाढीपहिराे पीडितकाे उद्धार र राहतमा सहभागी हुन देउवाकाे आग्रह

रासस

काठमाडौँ — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले साेमबार एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गरेका छन् । साथै उनले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढङ्गले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले कांग्रेसले गर्नेसमेत जानकारी पनि गराएका छन् ।
केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले दुःख व्यक्त गरेकोछ ।
‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

प्रकाशित : असार ३०, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले पाइप बगाउँदा चार गाउँमा खानेपानी अवरुद्ध

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका ४ खर्सुबासमा पहिराेले खानेपानीको पाइप बगाउँदा वडा नं ४ र ५ मा पर्ने लेखपोखरा, तारुपरे, भित्रिवन, पोखरीका तीन सय परिवार खानेपानीबाट बञ्चित भएका छन् ।

खर्सुवासको बाउनीखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका दुई वडाका चार गाउँका बासिन्दा समस्यामा परेका छन् ।

खर्सुवासको जंगलमा पहिराले दुई सय मिटर पाइप बगाएपछि पानीको जोहो गर्न उनीहरुलाई कठिनाइ भएको छ ।पाइप बगाएपछि खानेपानीको जोहो गर्न समस्या भएको स्थानीय विमला पुनले बताइन् । लगातार दुई दिनसम्म परेको वर्षातले गर्दा पहिरो गएको उनले जानकारी गराइन् । उनका अनुसार कपुरकोट–झ्याम सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएकोहाे ।

पहिरोले बगाएको पाइप मर्मत गर्ने चासो कसैले नदेखाएका कारण दुई दिनदेखि खोलाको धमिलो पानी प्रयोग गर्दै आएको निर्मला नेपालीले बताइन् । गत वर्ष पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षातको समयमा पानीको हाहाकार भएको थियो ।

खानेपानीको पाईप बगाएपछि मर्मतका लागि वडा कार्यालय र गाउँपालिकामा आग्रह गरेको कृष्ण विकले बताए । उनले चार गाउँमा खानेपानीको लागि दशक अघि योजना सम्पन्न गरिएको जानकारी गराए । अनधिकृत रुपमा सडक खन्ने कार्यले खानेपानीमा असर पार्दै आएकाले आउँदा दिनमा सडक खन्दा निस्केको ढुंगामाटो अन्यत्र फाल्न उनले आग्रह गरे ।

प्रकाशित : असार ३०, २०७६ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्