आधा दर्जन गाउँ डुबानमा

प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ मा बाढी र डुबानमा १० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण आएको बाढीमा धनुषा, रौतहट, बारा र पर्सामा २/२ जना र महोत्तरी, सिरहामा १/१ जना गरी १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । डीएसपी ज्ञानकुमार महतोका अनुसार प्रदेशका ८ जिल्लामा १० जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । 

धनुषाको जनकनन्दनी र चारनाथमा दुई पुरुषको शव फेला परेको छ । दुवैको डुबेर मृत्यु भएको अनुमान छ । वीरगन्ज–१३ का १४ वर्षीय अनुप पटेलको शव सबैठा खोलामा फेला परेको छ । पर्साको पर्सागढी–१ का १० वर्षीय निखिल पटेलको सिंग्याही खोलामा बगेर मृत्यु भएको छ । बाराको परवानीपुर–१ का अरविन्द यादवका १८ महिने छोरा विक्कीको घर पछाडि जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बाराको कलैया–१३ मा बाटो बनाउन खनिएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय अजित साहको मृत्यु भएको छ । रौतहटको गौर–३ का ४० वर्षीय शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर मृत्यु भएको छ । गौरकै उमेश राउतको डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी सिरहाको मिर्चैया–४ की १० वर्षीया रागनीकुमारी महतोको खाल्डोमा डुबेर मृत्यु भएको छ । महोतरीको भंगहा–४ रातु खोलामा करिब १५ वर्षीय किशोरको शव फेला परेको छ ।

कमला नदीको पश्चिमी तटबन्ध भत्केर आएको भेलले जनकपुर–जयनगर रेल्वेको नवनिर्मित लिक भत्काएको छ । आधा दर्जन गाउँ डुबानमा छन् । घर डुबेका सयौं परिवारले विद्यालय र मठमन्दिरमा शरण लिएका छन् । नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार खजुरी र इनर्वा रेल्वे स्टेसन बीचमा झन्डै ७० मिटर लिक बाढीले बगाएको छ । कमलाको भेल रेलवे लिक भएकै क्षेत्रबाट बगेको छ ।

जनकनन्दनी–१ मलहनियानजिक शनिबार कमला नदीको पश्चिमी तटबन्ध भत्केको थियो । कमला नदी सरोकार समूहका अध्यक्षसमेत रहेका कांग्रेस जिल्ला सचिव विशेश्वर यादवका अनुसार तटबन्ध भत्किँदा मलहनिया, इनर्वा, फूलबरिया, कठाल, बलहा, पतनुका र ढोलवज्जालगायतका गाउँ डुबानमा परेका छन् । फुसको छानो भएका दर्जनौं घर भत्केका छन् । इनर्वास्थित प्रहरी चौकीमा पानी पसेपछि सुरक्षाकर्मीको पनि बिजोग छ ।

विपद व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसित आइतबार बैठक गरेका छन् । बैठकमा सुरक्षा अधिकारीहरूले प्रदेशमा बाढीबाट भएको क्षतिबारे मुख्यमन्त्री राउतलाई बताएका थिए ।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका लाइफ ज्याकेट, सोलार चार्जर र रबर बोट लगायतका उद्धार सामग्री आवश्यक भएको सुरक्षा प्रमुखहरूको भनाइ थियो । उद्धारपछि राहत वितरणको कामलाई प्रभावकारी बनाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरूका सचिव, सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखको सहभागिता थियो । प्रदेश सरकारले राहत वितरणका लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख, मृतक परिवारलाई ३/३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ ।

माछापोखरीमा धेरै क्षति
बाढी र डुबानले माछा र कुखुरापालन गरेकाहरूलाई करोडौंको नोक्सानी पुर्‍याएको छ । जनकपुरमा आइतबार सरकारी अधिकारीहरूले प्रदेश २ मा माछापालनको क्षेत्र ७० प्रतिशत क्षति पुगेको आँकडा प्रस्तुत गरे । बाढी र डुबानले करिब ११ हजार पोखरीको माछा बगेको जानकारी कार्यक्रममा दिइयो ।

प्रदेशमा १५ हजार ६ सय ६७ पोखरीमा व्यावसायिक माछापालन हुन्छ । माछा पालिएको बाराका २ हजार ४ सय ८१, सप्तरीका १ हजार ८ सय ७९, धनुषाका १ हजार ६ सय ४७, सिरहाका १ हजार ६ सय १५ र महोत्तरीमा १ हजार ९ सय ३५ पोखरीमा बाढीले क्षति पुर्‍याएको छ । सर्लाहीका ९ सय ८७ र रौतहटमा ९ सय ३७ वटा माछापोखरीमा क्षति पुगेको छ ।

प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका अनुसार निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । धनुषाको हंसपुर–२ मा रहेको सिंह माछा तथा कृषि केन्द्रको २ हजार ५० वटा कुखुरामा क्षति पुर्‍याएको छ । केन्द्रका सञ्चालक बिमलेश सिंहका अनुसार बाढी र डुबानले दुईवटा पोखरीको माछा पनि बगाएको छ ।

घर र गोदाम डुबानमा
वीरगन्जको आदर्शनगरमा शनिबार बिहानैदेखि मुख्य सडकमै खोलाजस्तो भेल बग्यो । घर, पसल र गोदाममा पानी पसेपछि यस क्षेत्रका व्यवसायीले करिब २ करोड रुपैयाँको क्षति भएको बताएका छन् ।

बाँके बिहारी इन्टरप्राइजेजका व्यवस्थापक दिगम्बर सिंहले गोदाममा पानी पस्ता करिब १७ लाखका कम्प्युटर उपकरण नष्ट भएको बताए । श्याम इन्टरनेसनल एन्ड सप्लायर्सका व्यवस्थापक सौरभ चौधरीले करिब ७ लाख रुपैयाँका रेडिमेड कपडामा क्षति पुगेको बताए ।

गौरको जनजीवन सामान्यतर्फ
वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा अस्तव्यस्त रौतहटको सदरमुकाम गौरमा जनजीवन सामान्य हुन थालेको छ । पानी घट्न थालेपछि मानिसहरू घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरू खुलेका छन् ।

पसल डुबानमा परेका अधिकांश व्यापारी आइतबार दिनभर पानी बाहिर फाल्न व्यस्त थिए । पानीको सतह झन्डै ७ फिट पुगेपछि सबैका पसल डुबेका थिए । सरकारी कार्यालयहरू धेरैजसो अझै बन्द छन् । भित्र पानी पसेपछि जिल्ला प्रशासन कार्यालयका कागजपत्रमा क्षति पुगेको छ ।

गौरको भन्सार क्षेत्रका विस्थापित परिवार घर फिर्न सकेका छैनन् । उनीहरूलाई प्रदेश सांसद बाबुलाल साहले आइतबार राहत वितरण गरे । भारतीय पक्षले दसगजामा बनाएको बाँधको दुई ढोका खोलेपछि पानीको सतह घटेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘निकास खोलिएपछि झन्डै ८० प्रतिशत पानी घटेको छ, उनले भने ।

प्रकाशित : असार ३०, २०७६ १०:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्नभण्डारमै कम रोपाइँ

प्रदेश २ का ८ जिल्लामा २ लाख ९४ हजार ८ सय ४० हेक्टरमा धान खेती हुने भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा १५ प्रतिशतमा मात्र रोपाइँ भएको छ । सुक्खाले मकै र उखु खेतमै सुकिसके, किसान पानी पर्छ कि भन्दै आकाश ताकिरहेका छन् । 
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ लाई देशकै अन्नभण्डार मानिन्छ । प्रदेश सरकारले नारा दिएको छ, ‘हरेक खेतमा पानी, हरेक हातमा काम ।’ किसानको अवस्था भने फरक छ । पर्याप्त वर्षा नहुँदा यो प्रदेशका ८ जिल्लामा असार तेस्रो सातासम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । ८ जिल्लाको २ लाख ९४ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिए पनि सिँचाइको अभावमा १५ प्रतिशतमा मात्र रोपाइँ भएको हो । 

त्यो पनि किसानले आफैंले सिँचाइको बन्दोबस्त मिलाएर रोपाइँ गरेका हुन् । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पर्याप्त पानी नपरेकाले रोपाइँमा ढिलाइ भएको छ ।

मन्त्रालयका अधिकृत रजनिश मिश्रले रोपाइँको गति सिँचाइ अभावले सुस्त रहेको बताए । ‘पम्पसेट, ट्युबवेलबाट सिँचाइ गरेर कतैकतै धान रोपिएको छ,’ मिश्रले भने, ‘वर्षाको आसमा किसान आकाश ताकिरहेका छन् । प्रदेश २ मा २५ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा उपलब्ध छ । ८ जिल्लामध्ये धनुषामा सबैभन्दा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको ३५ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यहा अहिलेसम्म ५ प्रतिशतमा मात्र रोपाइँ भएको छ । वर्षा नहुँदा साना सिँचाइको सहयोगमा धान खेती भए पनि ठूलो क्षेत्रफलमा धान रोप्न बाँकी रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत मिश्रले बताए । मन्त्रालयका अनुसार पर्सामा १५, रौतहटमा २२, सर्लाहीमा १०, महोत्तरीमा १०, बारामा ३२, सिरहामा १० र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको छ ।

‘रोपाइँ ढिलो हुँदा उत्पादनमा कमी आउँछ,’ मिश्रले भने, ‘गत वर्ष समयमै वर्षा हुँदा साउनको दोस्रो सातासम्म ७८ प्रतिशत रोपाइँ भएको थियो । ढिलो रोपाइँले धानको दाना नलाग्ने खतरा हुन्छ ।’ प्रदेश सरकारले सिँचाइका लागि सानो ट्युबवेल, सोलारपम्प र बोरिङ वितरण गरे पनि सिँचाइका लागि यति नै पर्याप्त नभएको मन्त्रालयका सचिव विजयचन्द्र झाले बताए ।

रोपाइँकै बेला खेत सुक्खा
रौतहटमा वाग्मती सिँचाइ पुगेको क्षेत्रमा मात्र रोपाइँ भइरहेको छ । अन्य क्षेत्रका किसान अझै आकाशेपानीको भरोसामा छन् । मनसुन भित्रिए पनि पर्याप्त पानी नपर्दा किसान निराश छन् । रौतहटमा २२ प्रतिशत क्षेत्रमा धान रोपाइँ भइसकेको छ । यही समयमा गत वर्ष ५० प्रतिशत रोपाइँ भएको थियो । गौरस्थित कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पानी नपरेकाले किसानलाई रोपाइँ गर्न समस्या छ । नहरको पानी र बोरिङबाट खेतमा पानी पटाएर रोपाइँ पनि भएको छ । चर्को घामका कारण धानका बेर्ना खेतमै सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र झाले समयमा वर्षा नहुँदा किसानले धान रोप्न नपाएको बताए । ‘यो समयमा धमाधम रोपाइँ हुनुपर्ने हो,’ उनले भने, ‘एक थोपा पानी परेको छैन । किसान कसरी रोपाइँ गरून् ?’

यहाँका किसानले आकाशेपानी, नहर, बोरिङ, पम्पसेटको मद्दतले रोपाइँ गर्छन् । वाग्मती सिँचाइले छोडेको पानीको भरमा अलिअलि रोपाइँ भएको हो । ज्ञान केन्द्रका अनुसार रौतहटको कुल ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । किसानले पछिल्लो समय मनसुली, कतर्नी, सावित्रीलगायत धानको बीउ रोप्ने गरेका छन् ।

केन्द्रका अनुसार गत वर्ष धानको उत्पादनमा गिरावट आएको थियो । बाढीले खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घटेको छ । ३९ हजार हेक्टर क्षेत्रफलमध्ये ३४ हजारमा मात्र धान लगाउने गरिएको छ । प्रतिहेक्टर ३.३ टन धान उत्पादन हुने गरेकामा गत वर्ष बाढीका कारण २.९ मा झरेको थियो । समयमा धान रोपाइँ सकियो र मौसमले साथ दियो भने उत्पादन बढ्ने कृषि प्रचार अधिकृत हरिशंकर जयसवालले बताए । ‘समयमा पानी पर्‍यो र डुबान भएन भने उत्पादन बढ्छ,’ उनले भने, ‘यहाँको मुख्य समस्या भनेको खेतीयोग्य जमिन डुबानमा पर्नु नै हो ।’

रौतहटका किसान किशोर थापाका अनुसार पानीकै कारण खेतमा धानको बीउ सुकेको छ । ‘पानी पर्छ र रोपाइँ गरौंला भनेर कुरेको पनि दुई साता भयो,’ उनले भने, ‘पानीकै समस्याले रोपाइँ हुन सकेको छैन ।’

निराश किसान
लामो समयदेखि पानी नपर्दा सर्लाहीका किसान खडेरीको चपेटामा परेका छन् । उखु र मकै डढेर सखाप हुन थालेको छ भने धान रोप्न लगाइएको बीउ पनि सुक्न थालेको छ । दिनभरको चर्को घाम र उच्च तापक्रमका कारण किसानले लगाएको उखु तथा मकै बाली भने सुक्दै गएको हो ।

धान रोप्न राखिएको ब्याड पनि सुक्न थालेको किसानले बताए । कामदार लगाएर भर्खरै गोडमेल गरेका उखु तथा मकै खडेरीका कारण धमाधम सुक्न थालेपछि उनीहरू निराश छन् ।

बीउ हुर्कने बेलामा पानी नपरेर सुक्न थालेको पिपरियाका किसान रामजी साहले बताए । ‘लामो समयदेखि पानी पर्न सकेको छैन, वाग्मती सिँचाइ आयोजनाको पानी पनि समयमा आएन, खेतमा लगाएको उखु र मकै सुक्न थालेको छ,’ उनले भने, ‘धानको ब्याड पनि पानीकै कारण राम्रोसँग जम्न सकेन, जमेको बीउ पनि सुक्दै छ ।’

असार १५ गते किसानहरूले धान दिवस मनाएका थिए । साता बितिसक्दा पनि रोपाइँमा जुट्न सकेका छैनन् । ‘हामी पानीको बाटो कुरिरहेका छौं, पानी नपर्दा यो वर्ष विजोग हुनेभो,’ स्थानीय किसान रवीन्द्र रायले भने, ‘यो वर्ष खडेरीकै सामना गर्नुपर्छ कि जस्तो लागेको छ ।’ जिल्लामा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । ‘अन्नको भण्डार मानिएको सर्लाहीमा पानी अभावका कारण रोपाइँ गर्न समस्या भएको छ, आकाशेपानी र वाग्मती सिँचाइ आयोजनाले समयमा पानी छोडेको छैन,’ ज्ञान केन्द्रका प्रमुख राजीव यादवले भने । सर्लाहीमा कुल ६४ हजार ८ सय हेक्टर खेतीयोग्य जग्गामध्ये २३ हजार २ सय हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

(सन्तोष सिंह/धनुषा,शिव पुरी/रौतहट रओमप्रकाश ठाकुर/सर्लाही)

प्रकाशित : असार २४, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×