१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कर्णालीका सांसदलाई १० करोड

चाँदनी कठायत

वीरेन्द्रनगर — आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

कर्णालीका सांसदलाई १० करोड

बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफलमा यही विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकास कोषको ३ अर्बमध्ये १ अर्ब ९२ करोड रकम भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइने जानकारी दिए । बजेट निर्माणको क्रममै सत्तापक्ष र प्रतिपक्षी सांसदले सांसद कोष स्थापना गर्न माग गरेका थिए । नेकपाका सांसदहरूले त संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रममै कोषबारे स्पष्ट उल्लेख हुनुपर्ने माग राखेका थिए ।

कतिपय सांसदले समानुपातिक सांसदलाई समेत समेट्ने गरी ‘सांसद विकास कोष’ निर्माण गर्न माग गरेका थिए भने कतिपयले प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई मात्र हुने गरी ‘निर्वाचन क्षेत्र विकास कोष’ बनाउनुपर्ने भनाइ राखेका थिए । सरकारले भने दुवै माग अस्वीकार गरी चालु आर्थिक वर्षको जनता सडक कार्यक्रमलाई निरन्तरता दिएको थियो ।

सुरुमा सांसद कोषको माग गरेका सांसदहरू जनता सडक कार्यक्रममा बजेट थप्न सरकार सहमत भएपछि बजेट पारित गर्न तयार भएका हुन् । सांसदलाई बजेट दिने सन्दर्भमा प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तापक्ष नेकपाका सांसद संसद्मा एकस्वर देखिएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु बजेट बढी भए पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्ने बताए ।

‘हामीले सुशासन कायम गर्नका लागि आवश्यक संरचना खडा गर्नेछौं,’ उनले भने, ‘नीति तथा कार्यक्रमसँग बजेटको तालमेल नमिले पनि कार्यान्वयनको क्रममा त्यसलाई ध्यान दिइनेछ ।’ नीति तथा कार्यक्रममा एक करोडभन्दा साना योजना नपार्ने भनिए पनि पाँच लाखसम्म झारिएको उनले स्विकारे ।


मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षी दलले दिएका सुझावलाई पनि मनन् गर्दै योजना कार्यान्वयन गरिने बताए । कर्णालीमा प्रदेशसभाका २४ निर्वाचित क्षेत्र छन् । अब ती सबै निर्वाचन क्षेत्रमा १० करोडका दरले बजेट जानेछ । यसरी विनियोजित बजेट सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदको सिफारिसमा कार्यान्वयन हुने कार्यविधिमा उल्लेख छ ।

जनता सडक कार्यक्रमका लागि चालु वर्ष ५ करोडका दरले १ अर्ब २० करोड रुपैयाँ बजेटमा विनियोजित छ तर सांसदहरूको अरुचिका कारण उक्त कार्यक्रमको गति निकै सुस्त छ ।

आर्थिक वर्ष समापनका बेला सडक योजना निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भएको छ । निर्माण सम्पन्न भएका योजनाको संख्या निकै न्यून छ । कार्यक्रम कार्यान्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले योजनाको टेन्डर प्रक्रिया सुरु भए पनि एउटै योजना सम्पन्न नभएको जनाएको छ । ‘क्रमागत योजना भएकाले यो वर्ष सम्पन्न नभए पनि अर्को वर्ष काम त भइहाल्ला नि,’ मन्त्री खडगबहादुर खत्रीले भने, ‘बजेट फ्रिज हुन नदिई प्रक्रिया सुरु गर्नु पनि ठूलो कुरा हो ।’

प्रकाशित : असार ३०, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?