कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मनसुन सक्रिय तर ठूलो वर्षा नहुने

लो प्रेसर हटयो, न्यूनचापीय रेखा नेपालमै
अब्दुल्लाह मियाँ

काठमाडौँ — धेरैको मनमा अहिले एउटै प्रश्न छ, अब फेरि भारी मनसुनी वर्षा अब होला कि नहोला ? जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांग भन्छन्, ‘तत्काल त्यति ठूलो र लगातार वर्षाको संकेत छैन तर मनसुन सक्रिय छ ।’ 

मनसुन सक्रिय तर ठूलो वर्षा नहुने

प्रधानांगका अनुसार मनसुनको न्यूनचापीय रेखा (मनसुन ट्रफ) तराईको भूभागमै छ । गत साता उक्त रेखा भारतबाट नेपालतिर सरेको थियो । न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ ।


‘गत साता न्यूनचापीय रेखासँगै न्यूनचापीय प्रणाली (लो प्रेसर) विकसित भएपछि देशैभरि लगातार भारी वर्षा भएको थियो,’ प्रधानांगले भने, ‘अहिले लो प्रेसर नेपालको भूभागबाट विलिन भइसकेकाले त्यति ठूलो प्रभाव पर्ने देखिँदैन ।’ न्यूनचापीय रेखा मात्र रहेकाले लगातार वर्षाको संकेत नरहेको उनले बताए ।


न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै भारतको बिहार, उत्तरप्रदेश हुँदै नेपालको मध्यभागसम्म लो प्रेसरसमेत विकसित भएपछि झन्डै तीन दिन लगातार वर्षा भएको थियो । तीन दिनमा मुलुकका धेरै स्थानमा एक महिनामा पर्ने औसत वर्षाभन्दा बढी पानी परेको छ ।


एकै पटक धेरै वर्षा भएकाले असरसमेत निम्तिएको छ । लो प्रेसर बंगालको खाडीमै बन्छ र पश्चिम सर्दै आउँछ । प्रधानांगका अनुसार न्यूनचापीय रेखा जहाँ हुन्छ, त्यसैलाई पछ्याउँदै लो प्रेसर आउँछ ।


के हो न्यूनचापीय रेखा ?

न्यूनचापीय रेखाले पानी पार्ने प्रणाली विकास गर्छ । ठूलो क्षेत्रफल बनाएर फैलिने यो रेखा भारतको उत्तराखण्ड हुँदै भुटानसम्मै फैलिएको हुन्छ । यो रेखा सतहमा प्रभाव जमाएर फैलिएको हुन्छ । ‘मनसुनका बेला यो रेखा तलमाथि (उत्तर र दक्षिण) सरिरहन्छ,’ प्रधानांगले आइतबार कान्तिपुरसित भने, ‘ठ्याक्कै यति दिनमा सर्छ भनेर भन्न नसकिए पनि औसतमा एक सातामा तलमाथि गरिरहन्छ ।’


न्यूनचापीय रेखा तलतिर सर्‍यो भने नेपालमा मनसुन कमजोर हुन्छ र वर्षा कम हुन्छ । धेरै समय दक्षिण (भारत) तिर बसिरह्यो भने सुक्खा पनि हुन सक्छ । न्यूनचापीय रेखा माथि (उत्तर) तिर सर्‍यो भने मनसुन सक्रिय हुन्छ र वर्षा धेरै हुन्छ ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन नेपालमा मनसुन सक्रिय हुने देखिन्छ । सरदर हिसाबले जेठ अन्तिममै मनसुन भित्रिनुपर्ने भए पनि नेपालमा १० दिन ढिलो गरी असार ५ गते पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । कमजोर अवस्थामा प्रवेश भएको मनसुन नेपालभरि फैलिन भने करिब एक साता लाग्यो ।


मध्य जुनदेखि सेप्टेम्बरसम्म करिब एक सय ५ दिन नेपालमा मनसुनी वर्षा हुन्छ । तीमध्ये जुलाईमा बढी वर्षा हुन्छ । मनसुनमा वार्षिकको ८० प्रतिशतसम्म (सरदर १४ सय मिलिमिटरभन्दा बढी) वर्षा हुन्छ ।


चौधौं दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को वैशाखमा भएको दक्षिण एसियाली मौसम विज्ञहरूको भेलाले यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ को अधिंकाश भूभागसहित प्रदेश ५ को पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ । अन्य भागमा भने औसत र औसत नजिक वर्षा हुने उनीहरूको अनुमान थियो ।


जल तथा मौसम विज्ञान विभागका महनिर्देशक सरजुकुमार वैद्यले अहिले पूर्वी र मध्य भागमा बढी मनसुनी वर्षा भएको देखिए पनि चार महिनासम्मको अवधिलाई आधार मानेर पूर्वानुमान गरिएको बताए । ‘मनसुनको सुरुवाती चरणमा प्रायःजसो पूर्वी भागमा बढी वर्षा भएको देखिन्छ,’ वैद्यले भने, ‘अझै करिब तीन महिना मनसुन बाँकी भएकाले अहिले नै मनसुनी वर्षाको विश्लेषण गर्नु उपयुक्त हुँदैन ।’


महाशाखाका अनुसार न्यूनचापीय रेखा तराईमै रहेकाले पूर्वदेखि पश्चिमसम्मै वर्षाको संकेत देखिएको छ । सोमबार र मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । देशको पश्चिम तथा मध्यक्षेत्रका थोरै स्थान र पूर्वका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले मनसुन बुलेटिनमा उल्लेख गरेको छ ।

प्रकाशित : असार २९, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?