बाढीपहिराे : कतै पुल बग्यो, कतै सडक

महोत्तरीमा अस्थायी डाइभर्सन बनाएपछि पूर्वपश्चिम राजमार्ग सुचारु
विमल खतिवडा

काठमाडौँ — केही दिनयता परेको अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग पहिरोको चपेटामा परेका छन् । बाढी र पहिरोले कतै राजमार्ग ठप्प छन्, कतै अवरोध खुलाएर यातायात सञ्चालन गरिएको छ । बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भाब्सी खोलाको पुल शुक्रबार राति बगाएको छ ।

३२ मिटर लामो पुल बगेपछि अस्थायी डाइभर्सन बनाएर शनिबार मध्याह्नबाट साना सवारीसाधन सञ्चालन गरिएको छ।

ठूला गाडीलाई भने भित्री तथा अस्थायी सडक प्रयोग गर्न सडक विभागले अनुरोध गरेको छ। विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईले अस्थायी डाइभर्सन बनाएर साना गाडी सञ्चालन खुलाएको बताए। ‘खहरे खोला हो, बाढी आउँदा पुलको आधा भाग बगेको छ,’ उनले भने, ‘यात्रुलाई सहज बनाउन अस्थायी डाइभर्सन बनाइएको छ। वर्षा कम हुनासाथ बेलिब्रिज निर्माणको काम सुरु हुन्छ।’

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको खडक खोलामा पुल ढलानको तयारी गर्दैगर्दा बाढी आएपछि टेको बगाएको छ। बाढीले निर्माण रोकिएको छ। धनुषास्थित औराही खोलामा पनि निर्माणाधीन पुलको टेको बगाएको छ। ‘पुलका कारण कतै पनि यातायात अवरुद्ध भएको छैन,’ उनले भने।

विभिन्न जिल्लाको सडक तथा पुलमा ठूला ढुंगासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। त्यस्ता ठाउँमा तत्काल कर्मचारी र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ। लेदो माटोले गर्दा धेरै ठाउँ सडक अवरुद्ध भएको विभागले जनाएको छ। विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार बीपी राजमार्गको विभिन्न खण्डमा पहिरो खस्दा शुक्रबारदेखि सडक अवरुद्ध छ। नेपालथोकदेखि खुर्कोटसम्म झन्डै आधा दर्जन ठाउँमा लेदो माटो र पहिरो खसेको छ।

‘बीपी राजमार्गको अधिकांश ठाउँको पहिरो पन्छाएर बीच सडकमा रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाइसकेका छौं,’ उनले भने। शुक्रबार राति अवरुद्ध त्रिभुवन राजपथ खुलिसकेको छ। हेटौंडा, भीमफेदी हुँदै काठमाडौं आउने सडक पनि सञ्चालनमा आएको छ।

विभागका अनुसार म्याग्दीको बेनी–जोमसोम सडक खण्डको काभ्रे भीरमा कालीगण्डकी नदीले सडक बगाएको छ। पूर्वी क्षेत्रका सडकमा पहिरोले बढी क्षति पुर्‍याएको छ। पिच गरिएका सडक जलमग्न बनेका छन्। लगातारको वर्षाले गर्दा पिचसमेत उप्किन थालेको छ।

प्रकाशित : असार २९, २०७६ १९:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पीडितलाई राहत एकद्वार प्रणालीबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बाढीपहिरोपीडितलाई राहत एकद्वार प्रणालीबाट वितरण गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार बसेको बैठकले तत्काल प्रदेशसँग समन्वयमा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, पानी, औषधि त्रिपालजस्ता अत्यावश्यक सामग्री वितरण गर्न निर्देशन दिएको छ । 

बैठकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । त्यस्तै प्रभावित र जोखिममा रहेका व्यक्तिको राहत तथा आश्रयस्थल व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिको कार्यालयलाई समन्वय गर्नसमेत सरकारको आग्रह छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपतकालीन सामग्री मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा संघसंस्था र सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहत कार्य अगाडि बढाउन, स्रोतसाधन आवश्यक परे गृह मन्त्रालयलाई आग्रह गर्न र निर्देशनअनुसार उद्धार र राहत कार्य सञ्चालन गर्नसमेत अपिल गरेको छ ।

बैठकले सामग्री र खाद्यान्न आवश्यक पर्दा जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्न निर्देशन दिने, अवरुद्ध भएका सडक, पुल, विद्युत्, टेलिफोन, खानेपानीजस्ता आधारभूत आवश्यकताका पूर्वाधार शीघ्र सञ्चालन गराउन तत्काल सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : असार २९, २०७६ १९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×