पीडितलाई राहत एकद्वार प्रणालीबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बाढीपहिरोपीडितलाई राहत एकद्वार प्रणालीबाट वितरण गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार बसेको बैठकले तत्काल प्रदेशसँग समन्वयमा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, पानी, औषधि त्रिपालजस्ता अत्यावश्यक सामग्री वितरण गर्न निर्देशन दिएको छ । 

बैठकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । त्यस्तै प्रभावित र जोखिममा रहेका व्यक्तिको राहत तथा आश्रयस्थल व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिको कार्यालयलाई समन्वय गर्नसमेत सरकारको आग्रह छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आपतकालीन सामग्री मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा संघसंस्था र सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहत कार्य अगाडि बढाउन, स्रोतसाधन आवश्यक परे गृह मन्त्रालयलाई आग्रह गर्न र निर्देशनअनुसार उद्धार र राहत कार्य सञ्चालन गर्नसमेत अपिल गरेको छ ।

बैठकले सामग्री र खाद्यान्न आवश्यक पर्दा जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्न निर्देशन दिने, अवरुद्ध भएका सडक, पुल, विद्युत्, टेलिफोन, खानेपानीजस्ता आधारभूत आवश्यकताका पूर्वाधार शीघ्र सञ्चालन गराउन तत्काल सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : असार २९, २०७६ १९:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गौतमबुद्ध विमानस्थलको समयावधि थपियो

रासस

काठमाडौँ — निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ (पुस १६)सम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए। निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उहाँले उल्लेख गरे।

'आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ, अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको छ। अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटि’ को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ', उनले भने।

विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ। विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ।

सन् २०१७ को डिसेम्बर महिनामा निर्माण सक्ने लक्ष्यसहित निर्माण शुरु भएको विमानस्थलको यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो। पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो।

उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ। सन् २०१४ को डिसेम्बर ३१ बाट निर्माण शुरु गरिएको गौतमबुद्ध विमानस्थलकोे छ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ।

प्रकाशित : असार २९, २०७६ १९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×