बाढीले दुईको मृत्यु एक वेपत्ता, सदरमुकाम गौर अझै डुबानमा   

शिव पुरी

रौतहट — लगातारको वर्षाका कारण आएको बाढीमा परी गौर ३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ  १ बन्जरहाका हरेन्द्र राय यादवको शनिबार साझ मृत्यु भएको छ । बाढीले बगाएर दुवैको मृत्यु भएको हो । एक बेपत्ता छन् ।

बाढीले दुईको मृत्यु एक वेपत्ता, सदरमुकाम गौर अझै डुबानमा   

घरबाट बाहिर निस्कदै गर्दा बगाएर दुवैको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्गा भगवती गाउपालीका ४ का विरेन्द्र मिश्र बाढीमा परेर बेपत्ता छन् । मिश्रको खोजीकार्य भईरहेको जिल्ला प्रहरीले जनायो । लगातारको वर्षा पछि जिल्लामा सर्पको बिगबिगी बढेको छ । शनिबार रातिसम्म चन्द्रनिगाहपुर क्षेत्रमा १५ जनालाई सर्पले डसेको छ । उनिहरुलाई उपचारका लागी सरकारी अस्पतालमा ल्याईएको छ ।


वर्षाले जमिन डुबानमा परे पछि सर्प घरमा पसेको थियो । स्थानिय प्रशासनले सर्पबाट सचेत रहन आग्रह गरेको छ ।


यता लगातारको वर्षा पछि डुबानमा परेको सदरमुकाम गौरको जनजीवन आईतबार पनि कष्टकर बनेको छ । डुबान केही कम भए पनि मानिसहरु बाहिर निस्कन सक्ने अवस्था छैन् । सुरक्षाकर्मीले एकतल्ला घरमा फसेका झण्डै सय परिवारलाई उद्धार गरेको छ ।


गौर क्षेत्रमा डुबानमा फसेकाहरुलाई नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले डुंगाको मद्धतले उद्धार गरेका थिए । उनिहरु दिनभर डुंगामा यताउता गरिरहे । जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य जारी राखेको बताए ।


‘डुबानमा फसेकाहरुलाई उद्धार गरेका हौं,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनिहरुलाई सुरक्षित स्थानमा लगेका छौं ।’ अपरान्ह सशस्त्र प्रहरीको २ नम्बर प्रदेश प्रमुख डिआईजी राजु अर्यालले थप २ वटा रबर बोट र सशस्त्र प्रहरीको तालीम प्राप्त उद्धार टोल गौर पठाएका थिए । नेपाल प्रहरीको पनि उद्धार टोली खटेको छ ।


वर्षाले राजमार्ग डुबानमा पारे पछि सदरमुकाम गौर चल्ने सबारी बन्द भएको छ । शनिबार बिहान देखी कुनै पनि सवारी गौर जान सकेको छैन् । सदरमुकाम नै डुबानमा परे पछि यातायात बन्द भएको हो ।


जिल्लाभरी डुबान

अविरल वर्षाको कारण ईशनाथ १ बन्जरहास्थीत लालबकैया खोलाको बाँध फुटे पछि पसेको पानीले बन्रहा गाउँ र राजपुर ९ बैरिया गाउँका २४ घर डुबानमा परी क्षती भएको जिल्ला प्रहरीले जनायो । डुबानमा परेकाहरुलाई सुरक्षाकर्मिले सुरक्षित स्थानमा उद्धार गरेको थियो ।


यस्तै दुर्गाभगवती गाउँपालीका ५ बडहर्वा स्थित बागमती नदी र झाझ खोलाको पानी पसेर १९ घर डुबानमा पारेको छ । उक्त घर परिबारलाई सुरक्षित ठाउँमा सारीएको एसपि खत्रीले जनाए ।


गढीमाई ३ लक्ष्मीपुर गाउँमा बागमती नदी बाधको केही भागबाट पानी पसेर ५ वटा घर डुवानमा परेका छ । जिल्लाको हरसाह देखी दक्षिणभेगका अधिकाश गाउँडुबानमा पारेको छ । डुबानबाट भएको क्षति यकिन हुन सकेको छैन् ।


प्रजिअ थापाले क्षतिको बिवरण लिन कठिन भएको बताए । अधिकाश गाउँको दलित बस्ती डुबानमा पारेको छ । उनिहरु नजिकको बिद्यालयमा शरण लिईरहेका छन् ।


प्रकाशित : असार २९, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?