भारतीय बाँधले नेपाली बस्ती डुबानमा

अवधेशकुमार झा, शिव पुरी, शंकर आचार्य, मधु शाही

(सप्तरी), (रौतहट), (पर्सा) र (बाँके) — सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् । 

बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । आफ्ना भूभागको बस्ती जोगाउन भारतीय पक्षले ४ वर्षयता एकतर्फी रूपमा पाइलट च्यानल बनाएको हो ।

दसगजाभित्र एकतर्फी रूपमा भारतले बनाएको बाँधका कारण रौतहट सदरमुकाम गौर जलमग्न भएको छ । शुक्रबार रातिदेखि नै गौर बजार क्षेत्र ५ देखि ७ फिटसम्म डुबानमा परेको छ ।

लालबकैया र वाग्मतीको पानीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको छ । बस्तीमा बाढी पसेपछि करिब एक हजारभन्दा बढी घर भत्केका छन् । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायत विहारका सहर बचाउन रौतहट सीमा क्षेत्रमा २० फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि वर्षायाममा नेपाली भूभाग डुबान पर्दै आएको छ ।

बाढीका बेला भारतले गण्डक नहरको हेड रेगुलेटरको ढोका बन्द गरिदिएपछि पर्सा र बारामा गरी ४ स्थानमा नहरको किनार भत्किएको छ । पर्साको मसिहानी, डकैला बहुअरी तथा बाराको त्रिवेणी र नकटुवामा नहर क्षतिग्रस्त भएको छ । लक्ष्मणपुर बाँध र कलकलवा मार्जिनल तटबन्धले बाँकेको सीमावर्ती क्षेत्रका आधा दर्जन वडा जलमग्न हुने जोखिम बढेको छ । २२ दशमलव ५ किलोमिटर लामो तटबन्ध र बाँधका कारण वर्षामा राप्तीको पानी निकास हुन नसक्दा बस्ती डुबानमा पर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८ किलोमिटर दूरी राख्नुपर्नेमा भारतले सीमामै सडकजस्तो बाँध बनाएको छ । यसले नरैनापुरका झन्डै ५० हजार बासिन्दा प्रभावित छन् । जिल्ला विपद् व्यवस्थापन समितिले डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई उच्च जोखिममा राखेको छ ।

प्रकाशित : असार २९, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

कुवेतमा आगलागी हुँदा ३ नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।

प्रतिकात्मक तस्बिर

त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको थियो। नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन।

उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो। मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन्।

आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन।

प्रकाशित : असार २८, २०७६ २१:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्