१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश २ मा ८० प्रतिशत डुबान

मृतकलाई ३ लाख, प्रत्येक जिल्लामा १० लाख प्रदेश सरकारको सहयोग
अजित तिवारी

जनकपुर — चार दिनदेखि निरन्तर राती ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू-भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला एरियाबाट उद्धार गरेको छ । 
कमला खोलामा आएको बाढीले धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि टापुमा अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।

प्रदेश २ मा ८० प्रतिशत डुबान

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको छ ।

‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ डिआइजी अर्यालले भने, ‘उद्धार र पूर्नस्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ उनका अनुसार धनुषाको कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार विहान सुरक्षित ठाउँमा सारिएको छ ।

नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार निरन्तरको वर्षाले प्रदेश २ को ८० प्रतिसत भू-भागमा पानी जमेको छ । वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुबानमा परेको छ । चन्द्रनगर र गरुडाको प्रहरी चौकी वाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानमा परेको छ ।

पानी अझै परिरहेको छ । प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहका कारण रातीको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्याम समेत भत्काएको छ । कमला खोलाको पुलमा रहेका प्रमुख साहले फोनमा भने,‘कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ । स्थिती भयावह छ ।’


हेलिकोप्टर कुर्दै

प्रदेश २ को सरकारले बाढी र डुबान क्षेत्रको अवलोकन र फसेकाहरुको उद्धारका लागि संघीय सरकारसंग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसित हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेको छ ।

यता, शनिबार विहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले बाढी र डुबानमा मृत्यु भएको परिवारलाई ३ लाख रुपैयाँ र उद्धार, राहत र पूर्नस्थापनाका लागि ८ वटै जिल्लालाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकलगत्तै कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री राउतले लगातारको वर्षाले प्रदेश २ को स्थिती भयावह बनेकोले यसलाई काबूमा ल्याउन सबैको सहयोगको आवश्यकता रहेको बताए ।


‘उद्धार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

प्रकाशित : असार २८, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?