धनकुटामा पहिरोका कारण ७ घर र एक विद्यालयमा क्षति, हिले भोजपुर सडक अवरुद्ध 

रमेशचन्द्र अधिकारी

(धनकुटा) — अविरल वर्षाको कारण धनकुटाको अधिकांस स्थानको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण विभिन्न स्थानमा ७ घर सहित एक विद्यालय र एक प्रहरी चौकिमा समेत क्षति पुगेको छ ।

चार दिनदेखि लगातारको वर्षात्का कारण अरुण नदीमा अत्यधिक पानीको वहाव बढेपछि धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवास्थित दमार क्षेत्रको जोखिमपूर्ण वस्ति । नदी किनार आसपासका वस्तिमा सजक हुन प्रशासनले सचेत गराएको छ । तस्बिरः रमेशचन्द्र अधिकारी/कान्तिपुर

महालक्ष्मी नगरपालिका ५ लेगुवा बजारमा आज बिहान तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । कपडा पसल गर्दै आएका महम्मद अनुवारको कपडा पसल र घर भत्किदा करिब ९ लाख बराबरको क्षति भएको छ । सोहि स्थानका इन्द्रसागर दास, राजकुमार बुढाथोकीको घरमा समेत पहिरोले क्षति पुर्याएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए ।

आसपासका अधिकांस घर उच्च जोखिममा रहेको स्थानीय सन्तबहादुर कुँवरले बताए । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारस्थित प्रहरी चौकी समेत पहिरोले जोखिम पुगेको छ । यस्तै, पाख्रिबास नगरपालिका ५ स्थित घोर्लिखर्कमा तीन घरमा क्षति पुगेको छ ।

अविरलको वर्षात्का कारण पहिरो जाँदा धनकुटाको पाख्रिबास ४ स्थित एक जोखिमपूर्ण घर । तस्बिरः रमेशचन्द्र अधिकारी/कान्तिपुर

स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका ७ चुलिबनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ । सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदा पठनपाठन बन्द गरिएको प्रअ राईले बताए ।

यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले—लेगुवा—भोजपुर सडकमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ छ । मुलघाट–त्रिवेणी सडक, तमोर करिडोर र सिधुवा–लेगुवा सडक समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए। घटनास्थलमा उद्धार र राहतको लागि पहल थालिएको उनले बताए ।

प्रकाशित : असार २८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

कमल पन्थी

(बर्दिया) — कर्णाली नदीस्थित राजापुर र कैलाली जोड्ने पुलमा कर्णाली नदीको बहाव पूर्वतर्फ धकलिएपछि भ्वाङ परेको छ । कैलाली जोड्ने पूर्वी किनार पुलसँग जोडिएको ठाउँमा भ्वाङ परेको हो ।

बर्दियाको पश्चिम कैलाली जोड्ने कर्णाली नदीमा निर्मित पुलमा भ्वाङ परेपछि भेमिन राखेर बचाउने प्रयास गरिएको छ । तस्बिर : कमल पन्थी/कान्तिपुर

गत वर्ष साउनमा आएको बाढीले पुलमा भ्वाङ परेको थियो । यस वर्ष दुई ठाउँमा भ्वाङ परेको छ । सडक दुर्घटना रोक्न पुलसँगै गाडिएको एउटा पिलर समेत ढलेको छ । कर्णालीमा जलस्तर बढ्दै गएका कारण पुल बचाउन बनाइएको तटबन्ध भाँसिदै गएको छ । ठुलो बाढी आउना साथ तटबन्ध भासिएर पुलसँग सडक सम्पर्क विच्छेद हुने राजापुर नगरपालिकाका मेयर शिव प्रसाद चौधरीले बताए ।

‘नदी कटान तिब्र भई रहेको छ,’ ‘उनले भने, ‘यसलाई रोक्ने प्रयास नगरिए बर्दिया र राजापुरसँगको सडक सम्पर्क विच्छेद हुने छ ।’

पुल बाट आउजाउ गर्ने सवारी साधनको गति नियंत्रण गर्न दुबै तर्फ किनारमा गेभिन राखिएको छ । दुई वर्ष अघि पुल निर्माण भएपनि हस्तान्तरण भएको छैन । कालिका–शर्मा रसुवा जेभी निर्माण कम्पनीले ५ सय ३१ मिटर लामो उक्त पुल निर्माण गरेको थियो । निर्माण कम्पनीले करिब ४६ करोडको लागतमा निर्माण गरेको हो । भ्वाङ टालटुले गरी ढुंगा राखेर अस्थायी रुपमा बचाउने प्रयास गरेपनि ठुलो बाढी आए थेग्ने अवस्था छैन ।
हुलाकी सडक आयोजना अन्तर्गत पुल जोगाउन थप पिलर बनाउन करिब दुई करोड बजेट केन्द्रसँग माग गरेको थियो । वर्ष बितिसक्दा पनि बजेट निकासा भएको छैन । थप पिलर नबनाए पुल बग्ने चेतावनी आयोजनाले दिएको छ ।

आयोजना प्रमुख युवराज पोखरेलले थप एक पिलरका लागि बजेट निकासा नभएको बताए । ‘हुलाकी आयोजना निर्देशनालयबाट यस बारे कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘पुल जोगाउन निर्माण गरिएको गेभिन भाँसिदै गएको छ ।’

प्रकाशित : असार २८, २०७६ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्