यार्चा यात्रा- गरिबीले जिन्दगी दाउमा

भीमबहादुर सिंह

(जाजरकोट) — जाजरकोटको बारेकोट गाउँपालिका १ तलीआगरका १८ वर्षीय कृष्ण नेपाली जेठ दोस्रो साता यार्चा खोज्न डोल्पा पुगे । घरपरिवारको जेठो सन्तान कृष्णलाई घरखर्चका साथै आफ्नो पढाइ खर्च जुटाउनुपर्ने बाध्यता थियो ।

यार्चा खोजेर खर्च जुटाउने उद्देश्यले फुलबारी पाटन पुगेका उनले जेठ तेस्रो साता ज्यानै गुमाए । कमाइ गर्नपाटन पुगेको छोराको मृत्युपछि बाबु वीरजित विक्षप्त छन् ।
वीरजित शारिरीक रूपमा अशक्त छन् । विपन्न परिवारका उनले ज्यामी काम गरेर परिवारको लालनपालन तथा छोरा कृष्णको पढाइ खर्च जोहो गर्दै आएका थिए । गत वर्ष खुट्टा भाँच्चिएपछि वीरजित थला परे । १ रोपनी पाखोबारीमा लगाएको अन्नपातले परिवारलाई एक महिना पनि धान्दैन । कृष्ण दैलेख प्राविधिक शिक्षालयमा सबओभरसियर पढ्दै थिए । शिक्षालय बिदा भएको मौका छोपी यार्चा खोजेर कमाइ गर्न हिँडेका कृष्णले लेक लाग्दा पाटनमै ज्यान गुमाए । घरपरिवारको सहारा जेठो छोरा गुम्दा बिचल्ली भएको वीरजितले बताए ।

यार्चा खोज्न गएका बारेकोट ६ धुमाका १८ वर्षीय रमेश चलाउनेको पनि पाटनमै ज्यान गयो । वीरेन्द्र ऐश्वर्य मावि लिम्साबाट ११ कक्षाको परीक्षा दिएका उनी पढाइ खर्च जुटाउन त्यसतर्फ गएका थिए । गरिबीका कारण कमाइ गर्न उच्च हिमाली क्षेत्रमा जानुपर्ने बाध्यताले भाइले ज्यान गुमाउनुपरेको दाजु प्रदीपले बताए । यस्तै नलगाड नगरपालिका १२ तल्लुबगरका १५ वर्षीय भीमबहादुर बस्नेतले यार्चाकै निम्ति डोल्पाको ताप्ती लेकमा ज्यान गुमाएका छन् ।

वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लुमा ८ कक्षामा अध्ययनरत बस्नेत पढाइ खर्चको जोहो गनुपर्ने बाध्यताले पाटनतर्फ उक्लेका थिए । खर्च जुट्ला भनेर छोरालाई पढाइ छाडी पाटनतर्फ पठाएको बाबु ज्वारीलालले बताए । आर्थिक आम्दानीको अन्य उपाय नहुँदा पाटनमा छोराले ज्यान गुमाउनुपरेको उनको दुःखेसो छ । यार्चा खोजेर कमाइ गर्न पाटन उक्लेका नलगाड ६ राताका २६ वर्षीय सविन विक पनि घर फर्कन पाएनन् ।

उनीहरूजस्तै यार्चागुम्बु खोजेर कमाइ गर्न जाँदा पाटनमा ज्यान गुमाउनेको संख्या बर्सेनि
बढ्दो छ । हिमपहिरो, चिसो, लेक लाग्नु, बिरामी पर्नु, भीरबाट लड्नु, डाँकाको आक्रमणमा पर्नुलगायत दुर्घटनाले यार्चा खोज्न गएकाको मृत्यु हुने गरेको छ । कतिपय बिरामी तथा घाइते अपांग भएर ऋणको भार थुपारेर घर फर्कन बाध्य छन् । गरिबी, विपन्नता, बेरोजगारीलगायत बाध्यताका कारण यहाँका बालकदेखि वृद्धसम्म जिन्दगी दाउमा राखेर यार्चा खोज्न जान बाध्य छन् ।

घरव्यवहार चलाउन र बालबालिकाको पढाइ खर्च जुटाउन उच्च जोखिम मोलेर बर्सेनि पाटन जानुपरेको नलगाड–३ करुवाकी देउसरा बुढाले बताइन् । ‘विगतमा एक महिना यार्चा खोजेको कमाइले घरपरिवारको वर्षभरिको खर्च टर्थ्यो,’ उनले भनिन्, ‘यार्चा खोज्ने क्रममा कतिले उतै ज्यान गुमाउँछन्, कति बिरामी परेर घर फर्कन्छन् ।’ यस वर्ष यार्चा फेला नपारी रित्तो हात घर फर्किएको उनले बताइन् । प्रतिकूल मौसमका कारण उल्टो बिरामी परेर मुस्किलले घर फिर्ता भएको उनको भनाइ छ ।

डोल्पाका कागमारा, फुलबारी, धो, ताक्सी, सिसोल, नावरपानीलगायत लेकमा १ महिनासम्म धाएका हजारौं स्थानीय यार्चा फेला नपर्दा उल्टो ऋण लगाएर घर फर्केका छन् । साहुबाट ऋण मागेर कमाइ गर्न हिमाल पुगेका बेरोजगार स्थानीय यतिबेला निराश भई घर फर्केका हुन् ।

विगतमा डोल्पाका उच्च लेकमा खोजेको यार्चा बिक्री गरेर मोटो रकम कमाइ गरेका स्थानीय यस वर्ष ज्यानको बाजी लगाएर खोजे पनि यार्चा नपाइ रित्तो हात घर फर्कनुपरेको हो ।

यार्चा सिजनमा एक महिना विद्यालय बन्द हुने गरेका छन् । विद्यार्थी पढाइ खर्च जुटाउन पाटन उक्लिँदा जिल्लाको उत्तरी भेगका अधिकांश विद्यालय बन्द हुने गरेका हुन् । यार्चाका कारण पढाइमा बाधा भई शैक्षिक गुणस्तर खस्किँदै गएको छ । खेतीयोग्य जमिनको कमी, भएको जमिनमा सिँचाइको अभाव, अन्य पेसा व्यवसाय नहुनु, कुनै पनि आम्दानीका स्रोत नहुनुजस्ता बाध्यताले जाजरकोटका हजारौं स्थानीय वर्षैपिच्छे जोखिम मोलेर यार्चा खोज्न पाटन धाउँछन् ।

यार्चा खोज्न, बिक्री गर्न र त्यसबाट पाएको रकम सुरक्षित गर्न उनीहरूलाई चुनौती हुने गरेको छ । ज्यान दाउमा राखेर यार्चा खोज्न हिमाल चढ्नुपर्ने नलगाड नगरपालिका ८ का कर्णबहादुर नेपालीले बताए । ‘जोखिम मोलेर खोजेको यार्चाको कमाइ बीचमै लुटिने समस्यासमेत छ,’ उनले भने, ‘त्यसैमा पनि विभिन्न वन उपभोक्ता, आरक्ष, विभिन्न युवा क्लबलगायतले प्रवेश शुल्कको निहुँमा ५ हजारका दरले जबर्जस्ती असुल्छन् ।’

कमाइको रग्दा, खगेनकोट, भगवती, रामीडाँडा, नायकबाडा, सक्ला, रोकायगाउँ, पैंक, ढिमे, लहँ, डाँडागाउँ, पुन्मा, भुर, अर्छानी, टालेगाउँ, गर्खाकोट, जगतीपुरलगायत गाउँका हजारौं स्थानीय यार्चा खोज्न डोल्पातर्फ जाने गरेका छन् । कोही यार्चा खोज्न र कोही किन्न त्यसतर्फ हानिने गरेका हुन् । विगतमा यार्चा संकलनबाट प्रतिव्यक्ति ५० हजारदेखि २ लाखसम्म आम्दानी हुने गरेको थियो । ‘कमाउन गएको उल्टै गुमाएर ऋणको भारी बोक्दै आइयो,’ नेपालीले भने, ‘जाँदा लिएको खर्च उपचार गर्न नै पुगेन । मुस्किलले ज्यान जोगाएर आइयो ।’

लेकबाट फर्केका कतिपय स्थानीय अहिले पनि बिरामी अवस्थामै छन् । उनीहरूलाई टाउको, खुट्टा र छाती दुख्ने, ज्वरो आउने, आँखा पाक्ने, खोकी लाग्नेलगायत रोगले सताएको स्वास्थ्यकर्मी बताउँछन् । दुई वर्षमा जिल्लाका १२ जनाले डोल्पाका पाटनमै ज्यान गुमाएका छन् ।

यो वर्ष बढी हिमपात, हावाहुरी र वर्षाका कारण यार्चा उत्पादन कमी आएको संकलकको भनाइ छ । उत्पादन भएको यार्चा पनि कालो हुँदा मूल्य नपाई एउटालाई मुस्किलले ३ सयमा बिक्री गरेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार यस वर्ष अधिकांशले २०/२५ गोटा यार्चामै चित्त बुझाएका छन् ।

प्रकाशित : असार २८, २०७६ १०:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दु:ख गरेर संकलन गरेको यार्चा झोलामै थन्कियो

राजबहादुर शाही

(मुगु) — मुगमकार्मारोङ गाउँपालिकाको मह गाउँका छिरिङछोर्मे तामाङले पाँचसय गोटा यार्चागुम्बु संकलन गरे । ज्यानको बाजी थापेर कष्टले टिपेको यार्चा अहिलेसम्म बिक्री नहुँदा भने उनी समस्यामा छन् । 

मुगु गाउँका पासाङ तामाङले संकलन गरेका ६५ गोटा यार्चा पनि बिकेको छैन । उनीहरू मात्र होइन, मुगु गाउँका करिब डेढ सय परिवारले संकलन गरेको करोडौं मूल्यको यार्चा झोलामै थन्किएको छ । एक महिनासम्म पाटनमा दुःख गरेर टिपेको यार्चाले बजार नपाउँदा संकलक निराश बनेका हुन् ।

मुगमकार्मारोङ गाउँपालिकाका करिब ४ हजार स्थानीय यार्चा संकलन गर्न पाटन पुगेका थिए । विगत वर्षमा व्यापारी यार्चा किन्न पाटनमा जाने गरेको भए पनि यस वर्ष नजाँदा समस्या भएको हो । लुटपाट र चोरीको डरले यो वर्ष यार्चा व्यापारी पाटन पुगेनन् । अघिल्लो वर्ष ७ सयवटा यार्चा टिपेर पाटनमै बिक्री गरेको छिरिङछोर्मेको भनाइ छ । कुहिने र किराले खाने डरले दिनदिनै यार्चा सुकाउनुपरेको उनी बताउँछन् । ‘यार्चा बेचेर कमाएको रकमले ऋण तिर्ने सोचाइ थियो,’ उनले भने, ‘यस वर्ष त यार्चा नै बिकेन ।’

मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्चा बिक्री नहुँदा स्थानीय समस्यामा परेको बताए । तिब्बतका व्यापारीले मूल्य निर्धारण नगर्दा व्यापारीले संकलकबाट यार्चार् किन्ने आँट नगरेको उनी बताउँछन् । ‘सबैको यार्चा झोलामै थन्किएको छ,’ उनले भने, ‘विकासको काम, खेती र पठनपाठन छोडी पाटनमा पुगेका स्थानीय समस्यामा परेका छन् ।’ उनका अनुसार अधिकांश स्थानीय ऋण काडेरै यार्चा टिप्न पाटन पुगेका थिए ।

२० हजार ऋण गरेर यार्चा टिप्न पाटन गए पनि बिक्री नहुँदा सास्ती भएको रिउस गाउँका टाँसी तामाङले बताए । उनले यस वर्ष डेढ सय गोटा यार्चा टिपेका छन् । ३ वर्षयता क्रमिक रूपले यार्चाको मूल्यमा गिरावट आउँदा संकलकले घाटा ब्योहोरेको उनी बताउँछन् । तिब्बतबाट यार्चाको मूल्यसूची पाएपछि व्यापारीले आफूलाई फाइदा हुने गरी यार्चा खरिद गर्ने गरेको उनले जानकारी दिए । पहिल्यै यार्चा खरिद गरेपछि घाटा लाग्ने भएकाले खरिदमा समस्या भएको यार्चा व्यापारी प्रवीण तामाङको भनाइ छ । उनका अनुसार यार्चाको मूल्य वर्षेनि घट्दै गइरहेको छ ।

२०७० सालदेखि यार्चा संकलकको संख्यासमेत घट्दै गएको गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार त्यसअघि पाटनमा ८ हजार बढीले यार्चा संकलन गर्ने गरेका थिए । २०७१ सालयता संकलको संख्या घटेको उनको भनाइ छ । मुगमकार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा उत्पादन हुने मध्यम खालको यार्चा गत वर्ष प्रतिगोटा ३ सयदेखि ५ सय र ठूलो यार्चा प्रतिगोटा ८ सयदेखि १ हजार रुपैयाँमा बिक्री भएको थियो । व्यापारीले जिल्लाको यार्चा प्रतिकिलो ८ लाखदेखि १२ लाख रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

माथिमाथि सर्दै यार्चा
विगतका वर्षमा समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा यार्चा पाइन्थ्यो । केही वर्षयता माथि माथि सर्दै गएको छ । अहिले ५ हजार ५ सयदेखि ५ हजार ६ सय मिटर उचाइमा सरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जलवायु परिर्वतन र संकलन क्षेत्रमा फोहर बढ्दै गएपछि यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । यार्चा हरेक वर्ष माथिल्लो क्षेत्रमा सर्दै गएको किम्री गाउँका गुरुछिरिङ तामाङले बताए । उनका अनुसार केही वर्षअघि मुगु गाउँको वरपर यार्चा संकलन हुन्थ्यो । अहिले सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्चा पाइन्छ । डिभिजन वन कार्यालयका अनुसार पाँच वर्षअघिसम्म करिब ३५ देखि ४० किलो यार्चा पाइने यहाँका पाटनमा उत्पादन पनि घटेको छ ।

कार्यालयका अनुसार अहिले १५ देखि २० किलोसम्म यार्चा संकलन हुने गरेको छ । यस्तै यस वर्ष डिभिजन वन कार्यालयबाट यार्चा खरिद पुर्जी लिने घटेका छन् । यसले सरकारी राजस्वमा समेत गिरावट आएको छ । असार अन्तिम सातासम्म छजनाले मात्र यार्चा खरिद पुर्जी लिएको कार्यालयका सूचना अधिकारी वसन्तकुमारी शाहीले बताइन् । प्रतिखरिद पुर्जी ३० हजारका दरले राजस्व लिइएको उनले जानकारी दिए ।

प्रकाशित : असार २८, २०७६ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×