महोत्तरीको भप्सी पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सन्तोष सिंह

धनुषा — महोत्तरी बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको छ । पुल भत्केपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो । पुलको दुवै छेउमा सवारी साधन अलपत्र छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पुल बाढीले बगाएको पुष्टि गरेका छन् । उनले पनि राजमार्ग अवरुद्ध बनेको र आवत जावतका लागि विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरेको जानकारी दिए ।

नदीमा अत्यधिक बाढी रहेकाले पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्व कोही आउने/जाने गर्न सकेका छैन । पुल भत्केपछि हेर्ने सर्वसधारणको यतिबेला भिड लागेको छ ।

लगातारको अविरल वर्षाले जनजिवन कष्टकर बनेको छ । घर डुवानमा परेको छ । खोलामा बाढीको सतह बढेको छ । सडक जलमग्न भएको छ । महोतरीमा नदीले पुल बगाएपछि पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध भएको छ ।

प्रकाशित : असार २८, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भाषाको दाउ

अमित तामाङ

काठमाडौँ — प्रधानमन्त्रीका सल्लाहकारले केही दिनअघि सामाजिक सञ्जालमा ‘छौंडा’ शब्द प्रयोग गरे । बोक्सीद्वारा तालिम दिइएको पोथी बिरालो भन्ने अर्थ बोकेको यो शब्द प्रयोगले ‘बोक्सी’ को अस्तित्व र मान्यतालाई आत्मसात मात्र गरेन, यसलाई स्थापित गर्न पनि बल प्रदान गर्‍यो ।

यसमा उनको ठूलै आलोचना भयो । यो प्रकरण हुनुभन्दा केही अघिमात्रै एक राष्ट्रिय सङ्गीत सर्जकको सिर्जनालाई लिएर जातीय विभेद जनाउने टिप्पणी भएको थियो । त्यसमाथि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भारी आलोचना रप्रतिकार पनि भयो ।

मानव सभ्यताको इतिहासमा भाषा महत्त्वपूर्ण तत्त्व हो । शासकहरूले भाषालाई आफ्नो प्रभुत्व कायम राख्न राजनीतिक रूपमा प्रयोग गरेका प्रमाणहरू प्रशस्त छन् । सहज शासनका लागि एक भाषालाई प्रबर्द्धन गर्ने क्रममा मातृभाषा र अल्पसंख्यकका भाषा लोप हुनेमात्र होइन, यससँग जोडिएर आउने संस्कार र संस्कृतिहरू पनि विलिन हुने सम्भावना रहन्छ । भाषाले मानिसहरूलाई एकजुट बनाउन सक्छ भने वर्गीकृत गर्ने सामर्थ्य पनि राख्छ । एउटै भाषामा पनि लवज र शब्द चयनका आधारमा सामाजिक वर्ग निर्धारण गर्ने अभ्यास बेलायतमा मात्र होइन, नेपालमा पनि विद्यमान छ ।

भाषाको आलंकारिक प्रयोग हुन्छ । अन्य भाषामा जस्तै नेपालीमा पनि विभिन्न उखान, टुक्का, अलंकार र भनाइ छन् । भाषाका यी पक्षहरू समाज, राजनीति, अर्थतन्त्र र मानिसहरू बीचको अन्तर–सम्बन्धबाट प्रभावित हुन्छन् । भाषाले सामाजिक मानवीय सम्बन्धलाईप्रस्फुटित पनि गर्छ ।

नेपाली समाजमा हामीले जान–अन्जान प्रयोग गर्ने, बोल्ने, सुन्ने, रमाइलो गर्ने, खिसी गर्ने एउटा अभ्यास व्यक्तिको जात वा बसोबास क्षेत्रका आधारमा गरिने टिप्पणी हो । जस्तै– ‘यो त कस्तो, फलानो जात/समुदायको जस्तो, कस्तो फोहोरी’, ‘यो त कस्तो फलानो ठाउँको जस्तो’ । यस्ता अनगिन्ती तुलना र टिप्पणी हाम्रो समाजमा विद्यमान छन् । यस्ता प्रवृत्तिलाई सांस्कृतिक प्रभुत्व कायम गर्न शक्तिशाली वर्ग वा समूहले कमजोरमाथि दोहन गर्ने चरित्रका रूपमा लिन सकिन्छ ।

लैङ्गिक आधारमा होच्याउने उखान–टुक्का र शब्दावलीहरू पनि हाम्रो समाजमा प्रशस्त प्रयोगमा छन् । झैझगडा पर्दा ‘मैले चुरा लगाएको छु र’ भन्दै पुरुषत्व प्रदर्शन गर्ने परिपाटी छ । ‘पोथी बास्यो भने अशुभ हुन्छ’ भन्ने भनाइले महिलाको सहभागिता र सक्रियतालाई बन्धक पार्ने काम गर्छ । यी र यस्ता प्रयोगले लैङ्गिक विभेदलाई निरन्तरता दिएको छ । महिलालाई सार्वजनिक सरोकारका विषयमा मौन रहन तथा ‘एजेन्सी’ नभएका र प्रतिरोध गर्न नसक्ने समूहका रूपमा चित्रण गर्नमात्र उखान–टुक्का प्रचलित गराइएको छैन, यौनिकतालाई लिएर भद्दा र अपाच्य भनाइहरू स्थापित गराइएका छन् । आजकल त ‘वाइफाइ’ र ‘वाइफ’ कोभर हुन्न जस्ता टुक्का बनाएर महिलालाई होच्याउने गरिन्छ । भाषाको नयाँ–नयाँ प्रयोगमा एउटा वर्ग र व्यक्तिले अर्कोलाई अपमान गर्ने दाउहरू खोजेकोस्पष्ट देखिन्छ ।

त्यस्तै ‘बडी सेमिङ’ अर्थात् शारीरिक मोटोपन या दुब्लोपन र सुन्दरतालाई लिएर गरिने नकारात्मक टिप्पणी पनि उत्तिकै छ । यसबारे सामाजिक सञ्जाल र भेटघाटका क्रममा चर्चा भइरन्छ । जस्तै– काठमाडौँको न्युरोडमा दुई साताअघि बाइक पार्क गर्दैगर्दा एक अधबैंसे उमेरका पुरुषले अर्का २० वर्ष जतिका युवकलाई ‘ए मोटे भाइ’ भनी बोलाए । उक्त युवकलाई ‘मोटे’ भनेको मनपरेन । उनले च्याँठिएर भने, ‘भाइ मात्रै भन्दा हुँदैन, मोटे भन्नुपर्ने ?’ उनीहरू एकअर्कासँग परिचित थिए/थिएनन्, थाहा भएन । तर शारीरिक बनोटका आधारमा सम्बोधन गर्ने अभ्यासलाई ठाडै चुनौती दिने अभ्यास सार्वजनिक स्थलमै देखिन थालेको उदाहरण हो । यसलाई पुष्टि गर्ने अर्को दृष्टान्त साना बालबालिका जो अचेल सानैदेखि शारीरिक बनोटका आधारमा सम्बोधन गरिएमा तुरुन्त प्रतिरोध गर्छन् । यस्ता घटना घर, छिमेक, विद्यालयमा प्रशस्त देख्न–सुन्न पाइन्छ ।

अचेल यस्ता विभिन्न ‘ट्याग’ लगाउने परिपाटीलाई धेरजसो ठाउँ र समुदायमा प्रतिरोध हुनथालेको छ । जस्तै– हाल ‘एस्किमो’ लाई अपमानजनक शब्दका रूपमा हेरिन्छ, सट्टामा ‘इन्युएट’ प्रयोग गरिन्छ । मानवशास्त्रमा ‘ट्राइब’ लाई अपमानजनक शब्दका रूपमा लिइन्छ र यसको प्रयोगलाई निरुत्साहित गरिन्छ । शारीरिक अशक्ततासँग सम्बन्धित शब्दावलीहरूमा परिमार्जन हुने क्रम निरन्तर छ । कतिपय सन्दर्भमा सुरुमा अपमानजनक रूपमा प्रयोग गरिएकै शब्दावलीलाई पछि आत्मसात गरेका घटना पनि छन् । उदाहरणका रूपमा समलिंगीलाई बुझाउन प्रयोग गरिने शब्द ‘कोयर’ लाई लिन सकिन्छ ।

नेपालमा पनि केही शब्दले अपमानजनक शब्दलाई प्रतिस्थापन गरेका छन् । विभिन्न आदिवासी र ‘पिछडिएका समुदाय’ लाई बुझाउन प्रयोग गरिएका नयाँ शब्दलाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘पिछडिएका समुदाय’ लाई तल्लो स्तरको देखाउन प्रयोग गरिने शब्दावली र उखान–टुक्काप्रति प्रतिरोध गर्ने क्रम बढ्दो छ । यस्ता पक्षलाई पश्चिमा व्यक्तिवादी दर्शन, अन्तर्राष्ट्रिय मुद्राकोष र राष्ट्र संघ जस्ता सस्थांहरूका प्रभावको नतिजाका रूपमा मात्र हेर्नु गलत हुन्छ । किनकि भाषा प्रयोगको तरिकाले व्यक्तिको आत्मसम्मान, चिनारी, अस्तित्व र समुदायको समष्टिततासँग सरोकार राख्छ । र यस्ता परिपाटीकोविरोध भएको हाम्रै इतिहास छ ।

अपमानजनक शब्द र वाक्यांश प्रयोगले कुनै व्यक्तिको जीवनयापन, मनोविज्ञान र अवसरप्रतिको पहुँचमा नकारात्मक प्रभाव पर्छ । समुदाय बीचको सद्भावलाई खलल पार्छ भने पक्कै पनि यसमा समयानुकूल परिमार्जन हुन आवश्यक छ । व्यक्ति र समुदायबीच सद्भाव, सम्मान र सहकार्यलाई सुदृढ बनाउन जरुरी छ । नेपालमा प्रतिकारका प्रयासहरू हुँदैछन् । तर प्रतिरोधै गर्नु नपर्नेगरी भाषा प्रयोग गरे उत्तम हुन्थ्यो । भाषा विना संस्कार र संकृतिको पुस्तान्तरण कल्पना गर्न नसकिने भएकाले सबै समुदायको सम्मानजनक अस्तित्वका लागि अपमानजनक उखान–टुक्का, भनाइ, शब्दावली र तुलना गर्ने कुपरम्परा अन्त्य गर्नु अपरिहार्य छ ।

यसका लागि रविन्द्रनाथ ठाकुरले भनेझैँ पहिले ‘साँघुरो घरेलु पर्खालहरू’ लाई
तोड्न सक्नुपर्छ ।
लेखक हाल मानवशास्त्रमा एमफिल गर्दैछन् ।

प्रकाशित : असार २८, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT