१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन्त्री-सचिवलाई प्रधानमन्त्रीको निर्देशन- 'कार्यशैली सुधार्नुस्'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा ढिलासुस्ती भएको र समन्वय नभएको भन्दै कार्यशैली सुधार्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । 

मन्त्री-सचिवलाई प्रधानमन्त्रीको निर्देशन- 'कार्यशैली सुधार्नुस्'

बिहीबारबाट सुरु मन्त्रालयहरूको वार्षिक समीक्षा सकिएपछि शुक्रबार उनले यस्तो कार्यशैलीले सरकारको लक्ष्य हासिल हुन समस्या पर्ने भन्दै असन्तुष्टि जनाए । ओलीले केही योजनाको उदाहरणै दिएर सचिवहरूलाई प्रश्न गरे, ‘यत्रो समय भयो मेलाम्चीमा धोका भयो, सिक्टामा किन ढिलाइ भइरहेको छ ? काठमाडौं सफा बनाउने कुरा अहिलेसम्म किन हुन सकेन ?’


उनले मन्त्री र सचिवहरूको समन्वय पनि पर्याप्त नभएको भन्दै आपत्ति जनाए । मन्त्री र सचिवहरूको भनाइ र गराइ बाझिन थालेको इंगित गर्दै प्रधानमन्त्रीले समन्वय बढाई एउटै बोली बनाएर हिँड्न निर्देशन दिए । ‘परस्पर बाझिने धारणा सार्वजनिक हुनुहुँदैन,’ उनले भने, ‘रिपोर्ट सुनेर वास्तविकता के छ पत्ता लगाउनुस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन् हेर्नोस् ।’


पछिल्लो समय मन्त्रालयबीच समन्वयात्मक कमजोरी झनै देखिन थालेको छ । विषादी परीक्षणसम्बन्धी निर्णयका क्रममा मन्त्रालयहरूबीच समन्वय अभाव प्रस्टियो । प्रधानमन्त्री ओलीले नै यससम्बन्धमा आफूलाई जानकारी नदिइएकाले लज्जित हुनुपर्ने अवस्था आएको बताएका थिए । उनले शुक्रबार मुख्य सचिव लोकदर्शन रेग्मीको विशेष ध्यानाकर्षण गराए ।


‘मुख्य सचिवजी, तपाईंलाई म भन्न चाहन्छु, मुख्य प्रशासकको नाताले तपाईंले समन्वय, निर्देशन र काममा सबैलाई कडाइ गर्नुहोस्,’ ओलीले भने ।


प्रधानमन्त्रीले साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन हुने परिपाटी अब नरहने भन्दै यसमा विचार पुर्‍याउन ध्यानाकर्षण गराए । गएको वर्ष शासकीय सुधार, कानुनी राज र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण काम भएर विकास, निर्माणका आधार तयार भएको र आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा बढे पनि कतिपय कमजोरी रहेकाले अब त्यसलाई सुधार्न जरुरी रहेको उनको भनाइ छ ।


‘समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ । आउने वर्ष कुनै ‘तर’ र ‘यदि’ भन्ने कुरा सह्य हुँदैन,’ उनले भने, ‘विकास निर्माण कामको अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा साउन १ देखि पुरानो र सुस्त गति त्यागेर प्रभावकारी रूपमा काम अघि बढाइएको देख्न पाइयोस् ।’


जेठ १५ मा बजेट पारित भई समयमै विनियोजन विधेयक पारित हुँदा पनि अन्तिम समयमा काम गर्ने परिपाटी यस पटक पनि देखिएको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाए ।


‘अवस्थामा खासै अन्तर देखिएन । यसतर्फ सबैले गम्भीर हुनुपर्‍यो,’ उनले भने, ‘काम गरेको तरिका मिलेको छैन ।’


ओलीले जनताको काममा कुनै पनि हालतमा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए । लोकतन्त्रमा तजबिजी अधिकार प्रयोग गरी ढिलासुस्ती गर्ने व्यवस्था नभएको उल्लेख गर्दै कार्यशैली सुधार्न आग्रह गरे । विकास निर्माणका काममा गलत खालको ब्रिफिङ हुन नहुने जनाउँदै उनले उपलब्धि हुने गरी काम गर्न निर्देशन दिए ।


‘उपलब्धि हासिल हुने गरी काम हुनुपर्‍यो । सरकारका सबै सदस्य, उच्च प्रशासकले जिम्मेवारीबोध गर्नुपर्छ । नयाँ कामका लागि अगाडि बढाइएका प्रयासलाई तुहाउने गरी कोही पनि गैरजिम्मेवार बन्नु हुँदैन । सबैले आफ्नो कर्तव्य पालना गर्नुपर्छ,’ प्रधानमन्त्री भने । उनले भ्रष्टाचार र अनुचित काम क्षम्य नहुने बताए ।


‘अख्तियारका पदाधिकारी त कारबाहीमा परेका छन् भने अरूले भ्रष्टाचार गर्ने कुरा नचिताए हुन्छ, कसैलाई छोडिँदैन,’ ओलीले भने, ‘आफू मातहतका कर्मचारीलाई भनिदिनुहोस्, हरेकको अनुगमन भइरहेको छ । सबैमाथि विश्वास गरिन्छ तर हरेकमाथि निगरानी पनि गरिन्छ ।’


प्रधानमन्त्रीले बिहीबार र शुक्रबार गरी २१ वटा मन्त्रालयको वार्षिक विवरणको समीक्षा सुनेका थिए ।


प्रकाशित : असार २८, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?