१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मुग्लिन बजार नजिक माथिबाट खसेको ढुंगाले लागेर ट्रक त्रिशुलीमा खस्यो, सहचालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — गएराति पृथ्वीराजमार्गको मुग्लिन बजार नजिक माथिबाट खसेको ठुलो ढुंगाले लागेर एउटा मालबाहक ट्रक त्रिशुली नदीमा खस्दा सहचालकको ज्यान गएको छ । उक्त घटनामा परी घाइते ट्रक चालकलाई प्रहरीले उद्धार गरेर भरतपुरमा उपचार गराइ रहेको छ । 

मुग्लिन बजार नजिक माथिबाट खसेको ढुंगाले लागेर ट्रक त्रिशुलीमा खस्यो, सहचालकको मृत्यु

उनको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।


डिएसपी कोइरालाका अनुसार दाना बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रकमाथि राति लगभग तीन बजे ठुलो ढुंगा झरेको थियो । ढुंगाले लागेर ट्रक सडकदेखि ७०/८० मिटर तल त्रिशुली नदीमा खसेको छ । नदीमा हराइरहेका सहचालक दाङ घोराइ बस्ने अन्दाजी २५ वर्षका अनिलको शव शनिबार बिहान पख साढे सात बजे तिर फेला परेको डिएसपी कोइरालाले बताए ।


ट्रकका चालक ललितपुरका ४६ वर्षीय माधव थापामगरलाई प्रहरीले उद्धार गरेको थियो । उनको सुरुमा भरतपुरको सरकारी अस्पतालमा र हाल पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रक पुरै त्रिशुली नदीमा डुबेको छ ।


इच्छाकामाना गाउँपालिका–५ मा पर्ने घटनास्थल मुग्लिन बजारदेखि एक किलोमिटर पर काठमाडौं तर्फ रहेको छ ।


यसअघि मुग्लिन नारायणगढ सडक खण्डमा पनि ढुंगाले लागेर ट्रकका सहचालक घाइते भएका थिए । असार २६ गते बिहिबार दिउँसो तीन बजे नारायणघाट मुग्लिन सडकको गाइघाटमा पोखराबाट वीरगञ्ज आउँदै गरेको ट्रकमाथि अचानक ढुंगा खस्दा सहचालक सुमन तमाङको हातमा चोट लागेको थियो ।



प्रकाशित : असार २८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?