कम्तीमा २२ को मृत्यु, ५ जना बेपत्ता, ४३५ परिवार विस्थापित

कान्तिपुर टिम

काठमाडौँ — लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, भोजपुर र धादिङमा २/२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ । 


राजधानी उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ मा पहिरो खस्दा विष्णु राईको घर भत्केर श्रीमती रेखा राई तथा छोराहरू ४ वर्षीय रोमन र ७ महिने रोहन राईको मृत्यु भएको छ । झिसमिसेमै झरेको पहिरोले घरसहित चारैजनालाई बगाएको थियो । विष्णुलाई घाइते अवस्थामा आफन्त र गाउँलेले उद्धार गरेका थिए ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीको बाबाचोकमा अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको छ । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको बलराम खतिवडाको पक्की घरको प्रोटेक्सन वाल भत्किएर पुरेको प्रहरीले जनाएको छ । शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।

शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । घटना हुँदा टहरामा शर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए ।

त्यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ मा पानीको भल पसेर घरको पर्खाल भत्किँदा च्यापिएर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । पिँढीमा सुतिरहेका बेला उनी च्यापिएको प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयु गाउँपालिका–९ मा पहिरोमा परी १४ वर्षीय जनक विकको मृत्यु भएको छ ।

काभ्रेको बनेपा ३, चुनातालमा भूकम्पले चर्किएको घर पहिरोले बगाउँदा २ जनाको ज्यान गएको छ । बारीको पाटो बगेर घर पुर्दा रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा र ७ वर्षीया नातिनी सुहाबीको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनकी बुहारी ३० वर्षीया सुशीला र नातिनी ३ महिनाकी अनुष्का घाइते छन् । उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको गजुरी–४, बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको घर भत्कँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ भने १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार जयरामको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । त्यसैगरी आग्रा खोलाको सहायक थाक्रे–३ स्थित निगाले खोलाले बगाएर स्थानीय गोकुल गिरीको मृत्यु भएको छ ।

४५ वर्षीय गिरी खेत रोपेर अपराह्न ४ बजेतिर घर फर्कंदै थिए । साथी बद्री भुजेलसँगै खोला तर्ने क्रममा गिरीलाई बगाएको हो । भुजेललाई समेत बगाए पनि उनी बाहिर निस्कन सकेको प्रहरीले जनाएको छ । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ । बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा साँझ फेला परेको छ ।

ललितपुरको वाग्मती गाउँपालिका–२, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो । पर्साको सिग्याही खोलाले बगाउँदा पर्सागढी नगरपालिका–१ का मेघराज पटेलका छोरा १० वर्षीय निखिल पटेलको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अनन्तराम शर्माका अनुसार सिग्याही खोलामा बगेर आएको दाउरा छान्ने क्रममा उनलाई खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पतालमा पुर्‍याएकोमा उनलाई मृत घोषित गरिएको थियो ।

बाराको परवानीपुर–१ मा शुक्रबार साँझ नालामा डुबेर स्थानीय अरविन्द यादवका १८ महिने छोरा बिक्कीको मृत्यु भएको छ । बर्खाको पानी भरिएको नालामा डुबेका उनलाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

रुकुम पश्चिमको आठबिसकोट–५ जलिगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर कौशिला बस्नेतको मृत्यु भएको छ । शुक्रबार बिहान घरबाट रिम्का जाँदै गरेकी १६ वर्षीया बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित कामीले जानकारी दिए । उनका अनुसार बस्नेत फारुला भीरमा पहिरोमा परेकी थिइन् । बस्नेत सोही वडाको मिग्रीस्थित सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रामेछापमा अविरल वर्षाले गोठ भत्कँदा रामपुरमा शुक्रबार बिहान ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । ४५ वर्षीया असली सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जनाएका छन् ।

त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा शुक्रबार पहिरोमा परी ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ । गोठमा काम गरिरहँदा पहिरो खसेपछि गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंले जानकारी दिए । पहिरोमा गोठसँगै तीनवटा गाई र केही बाख्रासमेत पुरिएका छन् ।

महोत्तरीको बलवा नगरपालिका–३, बदियाका ७० वर्षीय हमिद मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका उनलाई भेलले बगाएको हो । प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका–४ की सन्तमाया बलामीको खोला तर्ने क्रममा मृत्यु भएको छ भने ओखलढुंगाको सुनकोसी गाउँपालिका–४ का ५५ वर्षीय कुमार राईको खोलाले बगाएर ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका–२ स्थित धरमपुरकी ४५ वर्षीया आनन्दीदेवी दाउरा टिप्ने क्रममा वाग्मती नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । नदी छेउको ढिस्कोमा बसेर दाउरा टिप्ने क्रममा उनी खोलामा झरेकी थिइन् ।

काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ मा खोलाले बगाएर ९ वर्षीय दिवन राई बेपत्ता भएका छन् ।

दाजुसँग विद्यालय जाँदै गर्दा नुवाखोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएका हुन् । मोरङको रंगेलीमा गेउरिया खोलाले बगाएर ३० वर्षीय एक युवक बेपत्ता भएका छन् । झापामा हडिया खोलाले बगाउँदा मेचीनगर नगरपालिका–१४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता छन् । भद्रपुर–९ प्रणामीनगरमा खोला तर्ने क्रममा उनलाई बाढीले बगाएका उनको खोजी भइरहेको डीएसपी महेन्द्र श्रेष्ठले बताए ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा खोलाले बगाएर बिहीबार एकजना बेपत्ता भएका छन् । उदयपुर घर भई स्थानीय एक ग्रील उद्योगमा कार्यरत ३५ वर्षीय सागर थापालार्ई सुकुमारी खोलाले बगाएको हो । स्थानीयका अनुसार खोलामा बाढी बढेपछि उनी माछा मार्न गएका थिए ।

सेना, प्रहरी र सशस्त्र प्रहरीले देशैभरि उद्धार तथा व्यवस्थापनमा केन्द्रित भएका छन् । नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले संघीय प्रहरीअन्तर्गतका सबै इकाई र दंगा नियन्त्रण टोली उद्धार तथा व्यवस्थापनमा परिचालित भएको बताए । राजधानीमा मात्रै करिब १२ हजार सुरक्षाकर्मी परिचालित छन् ।

‘उद्धारका निम्ति केही जिल्लामा हेलिकप्टर स्ट्यान्डबाई राखिएको छ,’ उनले भने, ‘गृह मन्त्रालय, सेना र सशस्त्र प्रहरीसँग मिलेर प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ ।’ सशस्त्र प्रहरीले देशका प्रदेश एक, दई, तीन र चारमा अविरल वर्षाको प्रभाव परेको निष्कर्ष निकाल्दै सबै प्रदेशमा उद्धार र व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालित गरेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरजकुमार श्रेष्ठले उपत्यका बाहिरका अलावा काठमाडौंका सबै युनिटबाट सशस्त्र प्रहरी परिचालित भएको बताए ।

प्रकाशित : असार २८, २०७६ ०७:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हेरेका भरमा विषादी परीक्षण

तरकारी र फलफूलमा १०/१२ किसिमका विषादी हुन्छन् । सबै जाँच्न आवश्यक पर्ने उपकरण भएका प्रयोगशाला सरकारले स्थापना गरेकै छैन । एससी र जीसीएमएस वा एमएस उपकरणसहितका पूर्वाधार राखेर आवश्यक जनशक्तिसहित भन्सार नाकामै प्रयोगशाला आवश्यक 
कान्तिपुर टिम

काठमाडौँ — तरकारी र फलफूलका गाडी विराटनगर भन्सार परिसरमा पस्छन् । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र कार्यालयका कर्मचारी गाडीमै के छ भनेर हेर्छन् र बिनाकुनै परीक्षण जाँचपासका लागि तोक लगाइदिन्छन्  । क्वारेन्टाइन कार्यालयमा उपकरणका नाममा एउटा माइक्रोस्कोप र हेन्ड लेन्स मात्र छ । परीक्षणका लागि आवश्यक उपकरण नभएकाले गाडीमा ‘आँखाले निरीक्षण’ गर्नुको विकल्प नभएको कर्मचारी बताउँछन् ।

‘हामीले विषादी भए, नभएको हेर्नेभन्दा पनि क्वारेन्टाइन मात्र हेर्ने हो । तरकारीमा कीरा लागेको छ कि छैन आँखाले हेर्छौं,’ कार्यालय प्रमुख अरुणकुमार घिमिरेले भने, ‘हाम्रो ल्याबमा धान, चामल र मकैलगायतको परीक्षण हुन्छ, तरकारी र फलफूलको होइन ।’

उनका अनुसार आयात–निर्यात हुँदा कृषिजन्य वस्तु सँगसँगै भित्रिन सक्ने हानिकारक रोग, कीरा र क्वारेन्टाइन पेस्ट प्रवेश र विस्तार रोक्ने काम मात्र जिम्मेवारी हो । निर्यात हुने बिरुवाको स्वस्थताको प्रमाणपत्र पनि कार्यालयले दिन्छ । कृषि खाद्यवस्तुको विषादी परीक्षण गर्न ९४ किमी टाढा झापाको बिर्तामोडस्थित विषादी अवशेष द्रुत विलेश्षण प्रयोगशाला एकाइमा नमुना पठाउनुपर्छ । जहाँ काँकडभिट्टा र विराटनगर भन्सार नाकाबाट भित्रिने तरकारी तथा फलफूलको परीक्षण हुन्छ ।

सरकारले असार २ मा ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर निर्णयबाट पछि हटिसकेको छ । यसको मुख्य कारण नाकामै परीक्षणको व्यवस्था नभएर हो । परीक्षण गर्नुपर्छ भन्ने परिपत्र सरकारले सच्याए पनि नाकामा रोकिएका तरकारी र फलफूल आयात अझै सहज भइसकेको छैन । परिपत्र आइनपुगेका भन्सार कार्यालयले परीक्षण यथावत् राख्दा व्यवसायी आत्तिएका छन् । ‘भन्सार विन्दुमै परीक्षणको व्यवस्था नभएसम्म छिटो छाड्नुपर्ने सड्ने गल्ने चीजबिज जाँच गरिरहनु कि यसो हेरेर जाऊजाऊ भन्नु भन्ने अन्योल छ, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीले भने, ‘अहिलेसम्मको अवस्था गाडीमा के ल्याए भनेर सर्सर्ती हेरेर जाऊ भन्दै जाँचपास गर्दै आएकै हो ।’

नाकाहरूबाट भित्रिने भारतीय कृषि खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्नुमा आन्तरिक तयारी नै नपुगेको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संघीय राजधानी काठमाडौंसहित मुलुकका आठ स्थानमा अखाद्य तत्त्व जाँचका लागि प्रयोगशाला सञ्चालनमा रहेको जनाए पनि चार ठाउँका ल्यावमात्रै सञ्चालनमा छन् । ती पनि पर्याप्त पूर्वाधारयुक्त र पायक पर्ने ठाउँमा छैनन् । न त तिनमा सबै प्रकारका अखाद्य तत्त्व जाँचको व्यवस्था छ ।

आयात–निर्यातका लागि वीरगन्ज, विराटनगर, काँकडभिट्टा, भैरहवा र कञ्चनपुर मुख्य नाका हुन् । अपायक स्थानमा विषादी परीक्षण प्रयोगशाला नहुनुले कृषि वस्तुको जाँचपासमा झन्झट छ । गत शुक्रबार सीमावर्ती रक्सौलबाट पिकअप गाडीमा वीरगन्ज भन्सार आएको आँप आइतबार मात्र जाँचपास भयो । आयातित तरकारी र फलफूलका नमुना परीक्षणका लागि भन्सारले सर्लाहीको नवलपुरस्थित विषादी परीक्षण केन्द्रमा पठाउँछ । जाँचपास हुन योग्यको रिपोर्ट आइपुग्न समय लाग्छ । तरकारी र फलफूल १/२ दिन रोकिँदा कुहिने नेपाल फलफूल व्यवसायी संघ पर्साका सचिव ग्यासु मियाँ देवानले बताए ।

‘भन्सारमै विषादी परीक्षण केन्द्र स्थापना नभएसम्म जाँचपास गाह्रो भयो,’ सचिव देवानले भने, ‘विषादी परीक्षण गर्नुपर्छ तर छिटो सड्ने वस्तुका लागि छिटो परीक्षण हुने व्यवस्था नभएसम्म रोकेर राख्नु हुँदैन ।’ जाँचपासमा हुने ढिलाइका कारण तरकारी तथा फलफूल खुला नाकाको फाइदा उठाएर अवैध रूपले वीरगन्ज भित्रिरहेको उनले बताए । सरकारको पछिल्लो निर्देशनअघिसम्म भन्सार नजिकैको प्लान्ट क्वारेन्टाइनले विषादी परीक्षण गर्दै आएको थियो । ‘सरकारको निर्देशन आएपछि नमुना संकलन गरी सर्लाही पठाउन थालिएको हो,’ देवानले भने, ‘जाँचपासमा ढिलाइ हुँदा केही व्यवसायीले घाटा खाएर भए पनि पारिपट्टि रक्सौलमै बेच्न थालेका छन् ।’

तरकारी र फलफूल बोकेको एउटा ट्रक चार दिनदेखि गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयमा रोकिएको छ । कैलालीको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा उपकरणको खराबीका कारण परीक्षण हुन नसकेपछि उक्त फलफूल र तरकारी भन्सार कार्यालयमै बिग्रिने अवस्थामा छ । सरकारले तत्कालका लागि परीक्षण नगरेरै भित्रिन दिने भने पनि नेकपानिकटकै विद्यार्थीहरूको विरोधका कारण भन्सार कार्यालयले परीक्षणबिना पठाउन सकेन । परीक्षणका लागि नमुना नेपालगन्ज पठाइएको छ । नेपालगन्जको रिपोर्ट आएपछि मात्रै छाड्न सकिने कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालय एकातिर र प्रयोगशाला अर्कोतिर हुँदा समस्या भएको व्यवसायीहरू बताउँछन् । गड्डाचौकी भन्सार कार्यालयमा तरकारी र फलफूल पुगेपछि नमुना संकलन गरेर परीक्षणका लागि ५० किलोमिटर टाढा कैलालीको अत्तरिया पुर्‍याउनुपरेको थियो । भारतबाट आयात हुने तरकारी र फलफूल परीक्षणपछि मात्रै भित्रिन दिने निर्णयपछि गड्डाचौकी नाकाबाट १५ दिनमा १२ ट्रक मात्रै भित्रिएका छन् ।

सरकारले तत्कालका लागि विषादी परीक्षणको प्रावधान हटाएको छ । उक्त निर्णयको विरोध नेकपा निकटकै विद्यार्थीहरूले गरेका छन् । परीक्षणबिना कुनै पनि हालतमा भित्रिन दिन नहुने भन्दै उनीहरूले भन्सारमा ज्ञापनपत्र बुझाएका छन् । ‘स्थानीय समस्याका कारण केही दिन परीक्षण गरेरै पठाऊँ भन्ने हो,’ कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘ल्याब टाढा रहेकाले चाँडै बिग्रिने वस्तु छिटो परीक्षण गरेर पठाउन पनि गाह्रो भयो ।’ उनका अनुसार आइतबार भन्सार विभागबाट परीक्षणबिना तरकारी र फलफूल भित्रिन दिनु भन्ने परिपत्र आएको छ ।

अत्तरियास्थित विषादी अवशेष तथा द्रुत विश्लेषण प्रयोगशालामा गरिएको परीक्षणमा पनि विद्यार्थीहरूले शंका गरेका छन् । गतसाता मात्रै अत्तरियामा गरिएको परीक्षणमा शंका उब्जेपछि पुनः परीक्षणका लागि कालिमाटी पठाइएको थियो । यद्यपि कालिमाटीको प्रयोगशालाको परीक्षण रिपोर्ट पनि अत्तरियाको जस्तै आएको थियो । ‘खानेकुरा परीक्षण गरेर मात्रै भित्रिन दिनु ठीक हो तर त्यसका लागि नाकामै परीक्षणको व्यवस्था गर्नुपर्छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघ अध्यक्ष जंगबहादुर मल्लले भने, ‘यहाँ त परीक्षणमै दुई दिन लाग्न थाल्यो । तरकारी र फलफूल नाकामै बिग्रिने अवस्था आयो ।’ प्लान्ट, पशु र खाद्य क्वारेन्टाइनका क्षेत्रीय कार्यालयहरू गड्डाचौकीमै रहेकाले विषादी परीक्षण प्रयोगशाला पनि यहीँ स्थापना हुनुपर्ने उनले बताए । गड्डाचौकीबाट अत्तरियामा नमुना पठाएर परीक्षण गराउँदा एक दिन पूरै लाग्छ । धेरैपटक ल्याबले एकै दिनमा रिपोर्ट दिँदैन । अत्तरिया प्रयोगशालामा पनि समस्या आएपछि नमुना नेपालगन्ज पठाउनुपरेको छ । नाकामै परीक्षणको व्यवस्था नभएसम्म छिटो सड्ने खानेकुरा जाँचपासमा समय लगाउन नसकिने फलफूल तथा तरकारी व्यवसायी नरेन्द्र साउदले बताए ।

भारतबाट कैलाली र कञ्चनपुरका नाकाबाट करोडौंको तरकारी र फलफूल आयात हुने गरेको छ । निर्यात भने शून्य छ । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रबाट केही वर्षअघिसम्म परबल उल्लेख्य परिमाणमा भारत निर्यात हुन्थ्यो । सीमा क्षेत्रमा भारतले एसएसबीको क्याम्प राखेर विषादी परीक्षणपछि मात्रै निर्यात गर्न पाइने नियम लागू गरेपछि भने परबल पारि पठाउन बन्द छ ।

भारतबाट विराटनगरको गुद्री बजारमा मात्र दैनिक २ सय मेट्रिक टन तरकारी आइपुग्छ । यहाँ आउने तरकारीमध्ये आलु र प्याज सबैभन्दा बढी हुने गरेको छ । हरियो तरकारी सीमानजिक रहेका भारतका कटिहार, पूर्णिया र फारबिसगन्ज लगायतका क्षेत्रबाट आउने गरेका छन् भने आलु उत्तरप्रदेश र प्याज नासिकबाट आउने गरेको गुद्री बजार व्यवस्थापन समितिका सल्लाहकार पशुपति भगतले बताए । ‘पूर्वाधारमा चुस्त व्यवस्थापन नभएसम्म परीक्षण गरेपछि मात्रै भित्रिन दिन्छौं भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘आयातको परिमाण घट्दा वा ढिला हुनासाथ बजार भाउ बढ्छ ।’

अर्थशास्त्री अर्जुन बराल नाकामा रोकेर मात्र समस्या नसुल्झिने बताउँछन् । ‘नाकामा रोक्ने नीतिसँगै सरकारले उत्पादन प्रभावकारी बनाउने कार्यक्रम ल्याउन सक्नुपर्छ,’ उनले भने । नेपाली कृषि वस्तु भारत निकासी हुँदा विषादी परीक्षणका लागि कोलकाताको प्रयोगशालामा पुर्‍याउनुपर्छ । भारतको पनि भन्सारमैप्रयोगशाला छैन ।

विराटनगरमा आयात हुने तरकारी आधाभन्दा बढी प्रदेश १ कै जिल्लाहरूमा खपत भएर पनि काठमाडौं लगायतका अन्य सहरमा पठाइन्छ । भन्सारले विषादी परीक्षणबिना जाँचपासमा रोक लगाएसँगै केही दिन आयातकर्ताले रुट परिवर्तन गरी सुनसरीको भन्टाबारी भन्सार कार्यालयबाट तरकारी र फलफूल झिकाए । भन्टाबारी भन्सारले विषादी परीक्षणबिनै जाँचपास गरेको थियो । खुला सीमाको फाइदा उठाउँदै भारतबाट तरकारी तथा फलफूल आउने क्रम पनि रोकिएको छैन ।

मेची भन्सार कार्यालयका अनुसार आलु, प्याज आदि तरकारी र भुइँकटर, केरा आदि फलफूल भारतबाट आयात भइरहेको छ । बिर्तामोडमा रहेको ल्याबमा नमुना पठाएर परीक्षण रिपोर्ट आएपछि मात्रै नेपाल भित्रिन दिने गरिएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । बिर्तामोडमा प्रदेश १ स्तरीय विषादी मापन केन्द्र छ । ‘केन्द्रले स्वास्थ्यका लागि अयोग्य ठहर्‍याए आयात रोकिन्छ,’उनले भने ।

नाकामा जाँच कडाइका कारण दुई सातायता तरकारी र फलफूलको आयात घटेको छ । भन्सार क्षेत्रको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयमा विषादी जाँच्ने उपकरण छैन । बाहिर हेरेर मात्रै भित्र्याउन दिने गरिएको थियो । प्राविधिक विनयकुमार साहका अनुसार भारतीय तरकारीमा पर्याप्त विषादी पाउन थालेपछि बिर्तामोडको रिपोर्टका आधारमा मात्रै भित्रिन दिने गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ अदुवा, अलैंची, चिया जस्ता नगदेबाली निकासी हुने गरेको छ । नेपाली कृषिजन्य उत्पादनलाई भारतीय पक्षले विभिन्न बहानामा पटक–पटक अवरोध गर्ने गरेका छन् । सीमावर्ती पानीट्यांकी भन्सारमा न कुनै भौतिक पूर्वाधार नै छ न त व्यवस्थित ल्याब नै । व्यवस्थित ल्याब नहुँदा नेपाली उत्पादनको नमुना जाँच गर्न कोलकाता पठाउनुपर्ने बाध्यता यथावत् नै छ । नेपाली व्यवसायी र सरकारी अधिकारीले बारम्बार आग्रह गर्दा पनि पानीट्यांकीमा व्यवस्थित ल्याब राखिएको छैन । एक व्यवसायीका अनुसार कोलकाताबाट रिपोर्ट आउन १५ देखि २० दिन लाग्छ । त्यो समयमा नेपाली सामान धेरैपटक गाडीमै कुहिएर फ्याँक्ने अवस्थामा पुग्छन् ।

आयात अत्यधिक
सुनौली नाकाबाट बर्सेनि अर्बौं रुपैयाँ बराबरको तरकारी र फलफूल नेपाल भित्रिन्छ । यति ठूलो परिमाणको तरकारीमा विषादी जाँच्ने उपकरण र जनशक्ति भने यहाँ छैन ।

केही दिन अवरुद्ध भए पनि तरकारी तथा फलफूल विषादी परीक्षणबिनै भित्रिने क्रम यथावत् भइसकेको छ । भैरहवा भन्सार अधिकृत कलीराम पौडेलले भने, ‘विषादी परीक्षण गर्न थालेपछि आलु र प्याजको आयात सामान्य अवस्थामै रहे पनि ताजा तरकारी निकै घट्यो ।

भारतबाट आयातित ताजा तरकारी स्थानीय बजारमा अनलोड भएपछि स्थानीय व्यापारीले आफ्नो फर्मका नामबाट काठमाडौंलगायत अन्य बजारमा स्वदेशी उत्पादन भन्दै पुर्‍याउँछन् । पहिला आलु र प्याजसहित ताजा तरकारीका सानाठूला गरी दैनिक ६० देखि ७० वटा ट्रक नेपाल भित्रिन्थे, जसमा १०/१५ वटा गाडी ताजा तरकारीका हुन्थे । अहिले परीक्षण गरेको प्रमाणपत्रसहित ताजा तरकारीका गाडी एकाध मात्रै भित्रिएका छन् । आलु र प्याजको आयात पहिलाकै अवस्थामा छ । यसको आयातमा भन्सारमा ५ प्रतिशत कृषि सेवा शुल्क र ५ प्रतिशत अग्रिम आयकर लाग्ने प्रावधान छ ।

सुनौलीसँगको नेपाली सीमावर्ती नाका बेलहियास्थित प्लान्ट क्वारेन्टाइनका प्रमुख विष्णुप्रसाद काफ्लेले आयातीत ताजा तरकारी र फलफूलको विषादी जाँच्ने उपकरण र जनशक्ति कार्यालयमा नभएको बताए । ‘तरकारी, फलफूल र खाद्यान्न आयात हुँदा हामीले नेपालको बालीनालीलाई असर पार्ने भनी सरकारले निर्धारण गरेको सूचीअनुरूपको रोग, झारपात, शत्रुजीव कीरा छ/छैन हेर्ने गर्छौं,’ उनले भने, ‘विषादीबारे भने परीक्षण हुने गरेको छैन ।’

भन्सार विन्दुमै तरकारी तथा फलफूलको विषादी जाँचेर मात्रै पैठारी गर्नुपर्ने व्यवस्थाअनुरूप परीक्षणका लागि काठमाडौंको कालीमाटीस्थित विषादी अवशेष द्रुत परीक्षण प्रविधि केन्द्रमा नमुना पठाइन्थ्यो । त्यहाँ कार्बामेट र अर्गेनो फस्फेट नामक कीटनाशक विषादी परीक्षण गरिन्थ्यो । उक्त परीक्षणअन्तर्गत विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र माथि भए अयोग्य मानिन्छ । यो अवधिमा भैरहवा नाकाबाट परीक्षणका लागि पठाइएको तरकारी तथा फलफूल जाँचमा खान अयोग्य भनेर प्रमाणित गरिएका रिपोर्ट आएका छैनन् ।

यी दुई प्रकारका विषादी जाँच्ने उपकरण बुटवलको तरकारी बजारमा छ । तर त्यहाँ कार्यरत प्राविधिक कर्मचारीको सरुवा भएपछि परीक्षण प्रक्रिया बन्द छ । त्यहाँ पनि बुटवल क्षेत्रमा जाने थोक तरकारीका नमुना जाँच भए पनि अन्यत्र जाने तरकारीको हुँदैनथ्यो । काफ्लेले भने, ‘सबै प्रकारका विषादी जाँच्न एससी र जीसीएमएस वा एमएस उपकरण आवश्यक पर्छ । गुणस्तर विभाग र अन्य क्वारेन्टाइन नाकामा यस्तो सुविधा छैन ।’ सबै किसिमका विषादी जाँच्ने उपकरण एवम् जनशक्ति सीमामै राखेर सञ्चालनमा ल्याइए प्रभावकारी हुने उनको भनाइ छ ।

भारत निर्यात हुने तरकारी तथा फलफूलको परिमाण भने भैरहवा नाकाबाट पनि शून्यबराबर छ । आधिकारिक रूपमा भन्सार हुँदै भारत निकासी भएको तथ्यांक क्वारेन्टाइन कार्यालयमा छैन । नेपालबाट कुन–कुन कृषि उपज तथा जडीबुटी आयात हुन दिने भन्नेबारे भारत सरकारले पठाएको सूचीमा नेपाली उत्पादन निर्भर रहेको क्वारेन्टाइन कार्यालयका प्रमुख जगमोहनले बताए ।

मन्त्रालयमै प्रयोगशाला
प्रदेश १ सरकारले ताजा तरकारी तथा फलफूल परीक्षण गर्न सोमबारे हाटस्थित प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बाली संरक्षण प्रयोगशालामा २५ लाखको लागतमा विषादी अवशेष द्रुत विश्लेषण एकाइ सोमबारदेखि सञ्चालन गरेर परीक्षण अनिवार्य गरिएको हो ।

उक्त प्रयोगशाला विराटनगर भन्सार कार्यालयबाट ६ किमि टाढा भए पनि अब तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षणका लागि नमुना झापाको बिर्तामोड पठाउनु नपर्ने भएको छ । ‘हामी प्रयोगशाला स्थापनाको तयारीमै थियौं,’ मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने, ‘नाकामा समस्या आएको थाहा पाउनासाथ जति सक्दो चाँडो चलाउनुपर्छ भनेर तयार पारेका हौं ।’

प्रकाशित : असार २४, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT