१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कम्तीमा २२ को मृत्यु, ५ जना बेपत्ता, ४३५ परिवार विस्थापित

कान्तिपुर टिम

काठमाडौँ — लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, भोजपुर र धादिङमा २/२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ । 

कम्तीमा २२ को मृत्यु, ५ जना बेपत्ता, ४३५ परिवार विस्थापित

राजधानी उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ मा पहिरो खस्दा विष्णु राईको घर भत्केर श्रीमती रेखा राई तथा छोराहरू ४ वर्षीय रोमन र ७ महिने रोहन राईको मृत्यु भएको छ । झिसमिसेमै झरेको पहिरोले घरसहित चारैजनालाई बगाएको थियो । विष्णुलाई घाइते अवस्थामा आफन्त र गाउँलेले उद्धार गरेका थिए ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीको बाबाचोकमा अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको छ । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको बलराम खतिवडाको पक्की घरको प्रोटेक्सन वाल भत्किएर पुरेको प्रहरीले जनाएको छ । शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।

शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । घटना हुँदा टहरामा शर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए ।

त्यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ मा पानीको भल पसेर घरको पर्खाल भत्किँदा च्यापिएर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । पिँढीमा सुतिरहेका बेला उनी च्यापिएको प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयु गाउँपालिका–९ मा पहिरोमा परी १४ वर्षीय जनक विकको मृत्यु भएको छ ।

काभ्रेको बनेपा ३, चुनातालमा भूकम्पले चर्किएको घर पहिरोले बगाउँदा २ जनाको ज्यान गएको छ । बारीको पाटो बगेर घर पुर्दा रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा र ७ वर्षीया नातिनी सुहाबीको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनकी बुहारी ३० वर्षीया सुशीला र नातिनी ३ महिनाकी अनुष्का घाइते छन् । उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको गजुरी–४, बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको घर भत्कँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ भने १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार जयरामको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । त्यसैगरी आग्रा खोलाको सहायक थाक्रे–३ स्थित निगाले खोलाले बगाएर स्थानीय गोकुल गिरीको मृत्यु भएको छ ।

४५ वर्षीय गिरी खेत रोपेर अपराह्न ४ बजेतिर घर फर्कंदै थिए । साथी बद्री भुजेलसँगै खोला तर्ने क्रममा गिरीलाई बगाएको हो । भुजेललाई समेत बगाए पनि उनी बाहिर निस्कन सकेको प्रहरीले जनाएको छ । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ । बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा साँझ फेला परेको छ ।

ललितपुरको वाग्मती गाउँपालिका–२, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो । पर्साको सिग्याही खोलाले बगाउँदा पर्सागढी नगरपालिका–१ का मेघराज पटेलका छोरा १० वर्षीय निखिल पटेलको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अनन्तराम शर्माका अनुसार सिग्याही खोलामा बगेर आएको दाउरा छान्ने क्रममा उनलाई खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पतालमा पुर्‍याएकोमा उनलाई मृत घोषित गरिएको थियो ।

बाराको परवानीपुर–१ मा शुक्रबार साँझ नालामा डुबेर स्थानीय अरविन्द यादवका १८ महिने छोरा बिक्कीको मृत्यु भएको छ । बर्खाको पानी भरिएको नालामा डुबेका उनलाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

रुकुम पश्चिमको आठबिसकोट–५ जलिगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर कौशिला बस्नेतको मृत्यु भएको छ । शुक्रबार बिहान घरबाट रिम्का जाँदै गरेकी १६ वर्षीया बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित कामीले जानकारी दिए । उनका अनुसार बस्नेत फारुला भीरमा पहिरोमा परेकी थिइन् । बस्नेत सोही वडाको मिग्रीस्थित सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रामेछापमा अविरल वर्षाले गोठ भत्कँदा रामपुरमा शुक्रबार बिहान ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । ४५ वर्षीया असली सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जनाएका छन् ।

त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा शुक्रबार पहिरोमा परी ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ । गोठमा काम गरिरहँदा पहिरो खसेपछि गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंले जानकारी दिए । पहिरोमा गोठसँगै तीनवटा गाई र केही बाख्रासमेत पुरिएका छन् ।

महोत्तरीको बलवा नगरपालिका–३, बदियाका ७० वर्षीय हमिद मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका उनलाई भेलले बगाएको हो । प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका–४ की सन्तमाया बलामीको खोला तर्ने क्रममा मृत्यु भएको छ भने ओखलढुंगाको सुनकोसी गाउँपालिका–४ का ५५ वर्षीय कुमार राईको खोलाले बगाएर ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका–२ स्थित धरमपुरकी ४५ वर्षीया आनन्दीदेवी दाउरा टिप्ने क्रममा वाग्मती नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । नदी छेउको ढिस्कोमा बसेर दाउरा टिप्ने क्रममा उनी खोलामा झरेकी थिइन् ।

काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ मा खोलाले बगाएर ९ वर्षीय दिवन राई बेपत्ता भएका छन् ।

दाजुसँग विद्यालय जाँदै गर्दा नुवाखोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएका हुन् । मोरङको रंगेलीमा गेउरिया खोलाले बगाएर ३० वर्षीय एक युवक बेपत्ता भएका छन् । झापामा हडिया खोलाले बगाउँदा मेचीनगर नगरपालिका–१४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता छन् । भद्रपुर–९ प्रणामीनगरमा खोला तर्ने क्रममा उनलाई बाढीले बगाएका उनको खोजी भइरहेको डीएसपी महेन्द्र श्रेष्ठले बताए ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा खोलाले बगाएर बिहीबार एकजना बेपत्ता भएका छन् । उदयपुर घर भई स्थानीय एक ग्रील उद्योगमा कार्यरत ३५ वर्षीय सागर थापालार्ई सुकुमारी खोलाले बगाएको हो । स्थानीयका अनुसार खोलामा बाढी बढेपछि उनी माछा मार्न गएका थिए ।

सेना, प्रहरी र सशस्त्र प्रहरीले देशैभरि उद्धार तथा व्यवस्थापनमा केन्द्रित भएका छन् । नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले संघीय प्रहरीअन्तर्गतका सबै इकाई र दंगा नियन्त्रण टोली उद्धार तथा व्यवस्थापनमा परिचालित भएको बताए । राजधानीमा मात्रै करिब १२ हजार सुरक्षाकर्मी परिचालित छन् ।

‘उद्धारका निम्ति केही जिल्लामा हेलिकप्टर स्ट्यान्डबाई राखिएको छ,’ उनले भने, ‘गृह मन्त्रालय, सेना र सशस्त्र प्रहरीसँग मिलेर प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ ।’ सशस्त्र प्रहरीले देशका प्रदेश एक, दई, तीन र चारमा अविरल वर्षाको प्रभाव परेको निष्कर्ष निकाल्दै सबै प्रदेशमा उद्धार र व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालित गरेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरजकुमार श्रेष्ठले उपत्यका बाहिरका अलावा काठमाडौंका सबै युनिटबाट सशस्त्र प्रहरी परिचालित भएको बताए ।


प्रकाशित : असार २८, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?