१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपत्यकामा पहिराले ४ जनाको मृत्यु

प्रशान्त माली

काठमाडौँ — लगातार वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् ।

उपत्यकामा पहिराले ४ जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बाबाचोकस्थित अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नीतु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको घरको पर्खाल ढलेर पुरेको प्रहरीले जनाएको छ ।


शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।

शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउँछन् । दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए ।


टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो । ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

पर्खालले टहरो पुरिनासाथ सशस्त्र, नेपाली सेना र प्रहरीको संयुक्त टोली उद्धारका लागि आएको थियो । टोलीले करिव डेढ घण्टा लगाई पिल्लर, डन्डी काटेर तीन जनाको शव निकालेको स्थानीयले जानकारी दिए ।


त्यसैगरी ललितपुरको वाग्मती गाउँपालिका २, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो ।


काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन् ।


डुब्यो पाटन

पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छविकालमा पाटन दरबार क्षेत्र दुपातबाट हखाः खोला बग्दथ्यो । रातो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा मंगलबजार पुगेपछि खोला तार्ने भनी गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखको उपस्थितिमा पूजा गर्ने चलन छ ।


पटो टोल सुधार समितिका अध्यक्ष वदन राजोपाध्याय भन्छन्, ‘बाउबाजेले हखाः खोला पाटन भएर वाग्मतीमा मिसिने गरेको सुनाउँथे । सडकमा पानी बगेको देखेर साँच्चिकै खोलाको अनुभूति भएको छ ।’ अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुँदा अधिकांश ठाउँ डुबेको उनले बताए । उनका अनुसार नगरमा पहिला घोडा दौडाउन मिल्ने जत्रो ढल थियो । ‘नियमित सफासुग्घर गर्न नसकेपछि विस्तारै पुरिँदै गयो, कतिपय भत्किए,’ उनले भने, ‘राणाकालसम्म आइपुग्दा सानो भइसकेको थियो । पछि ह्युमपाइप राख्न थालेपछि समस्या देखिएको हो ।’


नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापालचोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ । महापालचोकमा महालक्ष्मीस्थान, लगनखेल इटी टोल, पाटन अस्पताल, मानभवन, कुमारीपाटी, जावलाखेल र पुल्चोकको ढल आएर मिसिने गरेको छ । सातदोबाटो, लगनखेलस्थित विद्युत् प्राधिकरण, मालपोत, नापी, राजदल गण, वटुकभैरव, थटी टोल, टंगल र हौगल क्षेत्रको ढल मंगलबजारमा आएर मिसिन्छ । चोकको मंगाल सानो छ । बालुवा, रोडा, ग्राभेल, प्लास्टिक, बोरा र कपडाले पानी छेक्दा जाम हुने गरेको छ ।


महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप पनि सानो छ । यसले गर्दा एक/दुई घण्टा पानी परेमा चोकमा पोखरीझैं पानी जम्ने गरेको छ । अग्निशाला, न्याछ्यगल्ली, तःधोका र पूर्णचण्डीदेखि गाःबहाल आउने ढलको समस्या पनि उस्तै छ ।


महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । ‘पहिरोले ललितपुरको गोटीखेलका रामबहादुर थाकेरको गोठ पुरिँदा भैंसी र बाख्रा पुरिएका छन्, कालेश्वरका राजेन्द्रप्रसाद दाहालको दुईतले कच्ची घर र बतासेमा एउटा गोठमा क्षति पुगेको छ,’ उनले भने । महांकाल र वाग्मती गाउँपालिकामा शुक्रबार विद्यालय बन्द गरिएको छ ।

प्रकाशित : असार २७, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?