कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बाढीले झण्डै २ हजार घरपरिवार विस्थापित

विनु तिम्सिना

विराटनगर — लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा १९ सय २० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने शुकुम्बासी घर परिवार रहेका छन् । विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । 

बाढीले झण्डै २ हजार घरपरिवार विस्थापित

केसीका अनुसार बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर १, ८, ६ र १६ प्रभावित बनेको छ । साथै जहदा गाउँपालिका-८, कटहरी गाउँपालिका-४ र धनपालथान गाउँपालिकाको-४ र ५ नम्बर वडाका घरहरु डुबानमा परेका छन् । विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए । प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको पनि जनाएको छ ।


घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । घरमा पानी पसेपछि खान बस्न समस्या भएको कटहरी-४ की सरोदेवी शर्माले गुनासो गरिन् । ‘घरभित्र सबै पानी पसेको छ, खाना पकाउने र बस्न सक्ने अवस्था छैन्,’ उनले भनिन्, ‘दिनभरी त सबैतिर पानी पानी रमिता हेर्दै बित्छ तर राती के गर्ने ?’


कटहरी गाउँपालिका ४ स्थित भगवती टोल, फुलटोल मदुरा र गन्नु टोल बढी प्रभावित भएको जागरुक मिसन युवा क्लब कटहरी ४ का अध्यक्ष विनोद सिंहले बताए । फुलटोल मदुरामा मात्रै १ सय २ घर बाढीले गर्दा विस्थापित बनेको सिंहले बताए ।


कटहरी ४ नम्बर वडामा मात्रै २ सय बढी घर बाढीले प्रभावित बनेको वडा अध्यक्ष मन्टु सेखले बताए । घरभित्र पानी पसेका कारण खाना पकाउन समस्या देखिएपछि चिउरा, भुजा र चाउचाउ राहत वितरण गरिएको उनले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् ।


अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।


प्रमुख जिल्ला अधिकारी केसीले मोरङका बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीया खोलामा पानीको बहाब बढेकाले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरुलाई सचेत गराएको उनले बताए ।


हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन भएको र सबैले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रवन्ध गर्नसक्ने अवस्था सृजना गरेका छन् । सबैसँग सरदर करोडको हाराहारीमा विपद् व्यवस्थापन कोष रहेको प्रजिअ केसीले बताए ।


जिल्लाको विपद् व्यवस्थापनको कामलाई सात क्लष्टरमा विभाजन गरेर सबै क्लष्टरलाई तयारी अवस्थामा राखिएको उनले बताए । समन्वय तथा सूचना खोज उद्धार क्लष्टरको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गर्ने छ । अस्थायी आवास र गैह्र खाद्य क्लष्टरको नेतृत्व भवन डिभिजन कार्यालयले गर्छ भने आपतकालीन शिक्षामा जिल्ला शिक्षा समन्वय इकाइले नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तै स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरुले गर्नेछन् । बन्दोबस्तीको सामान उपलव्ध गराउने काम रेडक्रसलाई दिइएको छ ।


एक सय हेक्टर तरकारी खेती डुबान

लोहन्द्रा खोला र जुडि खोलाका कारण तरकारीको पकेट क्षेत्र कटहरी गाउँपालिकामा लगाइएको तरकारी खेतिसमेत डुबानमा परेको छ । बाढीका कारण प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कटहरीमा लगाइएको एक सय १० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेति डुबानमा परेको किसान कोपिन्द्र सिंहले बताए ।


एक सय ४० जना किसानहरुको सहभागिता रहेको तरकारी ब्लकमा घिरौला, कांक्रा, भिन्डी, बोढी, भन्टा, लौका, करेला लगायतका तरकारी डुबानमा परेको सिंहले बताए । लगभग तिन फिट पानी जमेको बताउँदै उनले घाम लागेपछि तरकारीका बोटको जरा मर्ने भएकाले डुबान भएका लगभग ९० प्रतिशत तरकारी खेती नष्ट हुने बताए । ‘लगभग तीन फिट पानी जमिसकेको छ, घाम लागेपछि सबै बोटको जरा कुहिन्छ,’ उनले भने, ‘लगभग ९० प्रतिशत तरकारी नष्ट यस बाट लगभग हामीलाइ ५ करोड नोक्सान हुन्छ ।’


जहदा गाउँपालिका ४ का नन्दकिसोर मरण्डीको १० कठ्ठामा लगाइएको भन्टा, ६ कठ्ठा कांक्रा, ६ कठ्ठा बोढी र ४ कठ्ठामा लगाइएको घिरौला डुबानमा परेको बताए । लोहन्द्रा र जुडि खोलाको पानी खेतमा पसेको उनले बताए । ‘बरबाद भयो के गर्ने यत्ति मेहनत गरेर लगाएको तरकारी बिक्रिको लागि तयारी भएपछि बाढीले सखाप बनायो,’ उनले गुनासो गरे, ‘बैंकबाट लोन लिएर गरेको खेति बिक्री गर्ने बेलामा नै बाढीले नष्ट गरेपछि कसरी लोन चुक्ता गर्ने ?’

प्रकाशित : असार २७, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?