कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झापा पनि जलमग्न

अर्जुन राजवंशी

बिर्तामोड — अविरल वर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवालगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ ।

झापा पनि जलमग्न

कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका १० को बगर बस्तीमा कटान गरिरहेको छ । कटानका कारण बगर बस्तीका ५५ घर उच्च जोखिममा परेको छ । शुक्रबार मध्यान्हसम्म बगर बस्तीमा करीब २ सय मीटर कटान भएको छ । गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजार पश्चिममा रहेको सन्थाल बस्ती डुबानमा परेको छ ।


डुबानका कारण बस्तीका १२ परिवार आआफ्ना घरका सामानसहित बजार क्षेत्रको सुरक्षित स्थानमा आएर बसेका छन् । गौरीगञ्ज १ कै भन्सारस्थित बालुवाढी बस्तीका ७ परिवार पनि डुबानका कारण सुरक्षित स्थानमा सरेका छन् । उक्त वडाको चौरीस्थित झोडामा बाँध फुट्न लागेको छ । कनकाई नदीमा आएको बाढीले बाँध फुटाउन लागेकोले अहिले आपतकालिन तारजालीसहित बाँध सुरक्षित गर्ने कार्य भइरहेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।


बिर्तामोड नगरपालिका ३ करेलाबारीका ५० भन्दा बढी घर डुबानमा परेका छन् । अन्धुवा खोलामा आएको बाढी बस्तीतर्फ पस्दा घरहरु डुबानमा परेका हुन् । बिर्तामोड बजार क्षेत्रका अधिकांश ढलको निकास अन्धुवा खोलामा मिसाउदा यो बर्ष बाढीले डुबान बनाएको स्थानीय मनोज ठाकुरले बताए । करेलाबारीमा अन्धुवा खोलाले कटान समेत गर्न थालेको छ । डुबान तथा कटान क्षेत्रको अवलोकन गर्दै मेयर ध्रुव सिवाकोटी र वडाध्यक्ष भोजराज सिटौलाले आपतकालीन रोकथामका लागि बाँध बाँध्ने बोरा तयारी अवस्थामा राखेको जानकारी दिए । लगातारको वर्षाले बिर्तामोड–भद्रपुर सडक खण्ड हिलाम्मे बनेको छ । चार लेनको निर्माणाधीन सडकमा खाल्डाखुल्डी तथा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।


झापा गाउँपालिका ५ स्थित राधाबस्तीमा २०, खयरबारीमा २१ र पुरानो शरणामतीमा १२ घर डुबानमा परेका छन् । उक्त गाउँपालिकाको कुमरखोद बजारपश्चिम, नारिवलटोलालगायतका बस्ती पनि डुबानमा परेका छन् । विरिङ र सानोमाई खोलाको बाढीले झापा गाउँपालिकाको १, २, ४ र ५ नम्बर वडाका अधिकांश वडा डुबानमा परेका छन् । डुबान भएपनि विस्थापित तथा मानविय क्षति नभएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । जिल्लामा डुबान तथा कटानको उच्च जोखिमको गाउँपालिका भएकाले रबर बोटसहितको टोली उद्दार तथा राहतका लागि तयारी अवस्थामा राखेको अध्यक्ष साहले बताए । गाउँपालिकाले एक सय बढी लाइफ ज्याकेट र एउटा रबर बोट खरिद गरेको छ ।


बाह्रदशी गाउँपालिकाका केही बस्ती पनि डुबानमा परेका छन् । राजगढ बजार, भानुचोकको सन्थाल बस्ती, घाग्रा खोला पश्चिमको गाउँ डुबानमा परेको ३ नम्बरका वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिए । पानीको निकास नहुँदा दमक नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको छ । बसपार्क, हवल्दार चोक, दीपिनी खोला आसपासका क्षेत्रका घरहरु डुबानमा परेका छन् ।

प्रकाशित : असार २७, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?