पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

रासस

सिन्धुली — सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका-५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए । बिहानको समय भएकाले अहिले थोरै संख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ । आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनको भनाइ छ ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक-पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित : असार २७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सडक भासिँदा धादिङ सदरमुकामका आधा दर्जन घर जोखिममा

हरिहरसिंह राठौर

धादिङ — सदरमुकामको सिरानबजारस्थित मुख्य सडक भासिँदा ६ वटा घर चर्किएका छन् ।  थोपाल खोला बग्ने उक्त स्थानमा विगत ४ वर्ष अगाडि घडेरी बेच्न सडक खनेपछि मूल सडक भास्सिएको हो । 


भास्सिएको मूल सडक मर्मत गर्न सडक विभागले ढिलाइ गर्दा बजार जोखिममा परेको स्थानीयले बताएका छ्न्। शुक्रबार बिहान सडकसँग जोडिएका धनबहादुर गुरुङ लगायतका आधा दर्जन घर चर्किए।
निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना लगायत सुरक्षा निकायले अनुगमन गरी घर खाली गर्न आग्रह गरेका छन्। भरतपुरस्थित सडक डिभिजन कार्यालयलाई थप विवरण संकलन गर्न खबर गरिएको ढुंगानाले बताए।

प्रकाशित : असार २७, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट